काठमाडौं। राजधानीका सार्वजनिक ठाउँहरूमा बिरोध प्रदर्शन गर्न नपाउने गरी ‘निषेधित क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णयविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा प्रतिवाद गर्ने भएको छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले घोषणा गरेका ‘निषेधित क्षेत्र’हरू तोड्ने निर्णय गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले सरकारको उक्त कदम अधिनायकवादी भएको निष्कर्षसहित अवज्ञा गर्ने निर्णय गरेको हो। सरकारले निषेधित क्षेत्र घोषणा गरेमध्येको प्रमुख स्थल माइतीघर मण्डलामै भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको छ।
‘लोकतान्त्रिक मुलुकमा सार्वजनिक ठाउँहरूमा बिरोध गर्न नपाउने नियम लगाउनु आफैंमा अधिनायकवादी कदम हो भन्ने कांग्रेसको निष्कर्ष छ,’ प्रवक्ता शर्माले भने, ‘यस्तो नियमलाई अवज्ञा गर्ने निर्णय गरिएको हो।’
शर्माका अनुसार सरकारका पछिल्ला गतिविधि र पार्टीको संसदीय भूमिका समीक्षा गर्न मंगलबार पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल चलेको थियो। सार्वजनिक स्थानमा बिरोध गर्न नपाउने निर्णयविरूद्ध आक्रामक हुनुपर्ने र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। लगत्तै भोलिपल्ट बसेको संसदीय दलको बैठकबाट कांग्रेस आक्रामक बनेको हो।
चिकित्सा शिक्षा विधेयक संशोधनको बिरोध गर्दै दलको बैठकले जुम्लामा अनसनरत् डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ। शर्माका अनुसार संसदीय दलको बैठकको निर्णयअनुसार अब सार्वजनिक ठाउँहरूमा अवज्ञा आन्दोलन सुरू हुनेछन्।
विशेषगरी सरकारको निर्णय चित्त नबुझेमा दल तथा संघ–संस्थाहरूले माइतीघरमा बिरोध गर्ने गरेका छन्। उक्त ठाउँमा बिरोध प्रदर्शन गर्न नदिने गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ।
त्यसैगरी, बैठकले छोराको हत्यारालाई कारबाही माग गर्दै वीर अस्पतालमा अनसनरत् गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ। ‘शरीरले सलाइनसमेत लिननसक्ने गरी गंगामायाको स्वास्थ्य बिग्रेको छ, उहाँको माग सम्बोधनमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ शर्माले भने।
सरकारको निर्णयअनुसार अब काठमाडौंका छ वटा स्थानमा मात्र बिरोध प्रदर्शन गर्न पाइने छ। ती बाहेक अन्य स्थानमा बिरोधका कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
वैशाख १६ गतेदेखि लागू हुने गरी खुलामञ्च, तीनकुनेको खुला चौर, भगवानपाउको भुइँखेल चौक, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, समाज कल्याण परिषद लैनचौर अगाडिको खुला स्थान र गौशालाको सिफल चौरमा मात्र बिरोध प्रदर्शन गर्न पाइने निर्णय गरिएको छ।
बुधबार नेपाल विद्यार्थी संघले माइतीघरमा प्रहरीसँग मुकाबिला गर्दै प्रदर्शन गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा बुधवार दिउँसो माइतीघर मण्डलामा नेविसंघले प्रदर्शन गरेको हो।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका नेता पौडेलको नेतृत्वमा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोड्ने चेतावनी दिँदै विरोध गरेको हो।
प्रहरी परिचालन हुँदाहुँदै पनि उक्त क्षेत्रमा विरोधसभा गरिएको थियो। सरकारले शान्तिसुरक्षा र अमनचैन कायम गर्ने भनेर राजधानीका माइतीघर मण्डलालगायत स्थानमा आगामी साउन १ गतेदेखि विरोधसभा गर्न नपाउने गरी बन्देज लगाउने तयारी गरेको छ ।
नेता पौडेलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकारको ठाडो उल्लंघन गर्दै निषेधित क्षेत्रहरू तोकेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए। सरकारको ज्यादतीविरुद्ध कांग्रेसले देशव्यापी संघर्ष चर्काउने उनको भनाइ थियो।
नेविसंघ महामन्त्री कुन्दन काफ्लेले युवा विद्यार्थीहरूको सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए। प्रहरी धरपकडमा परी निरञ्जन थापा, अर्वत खड्का लगायतका विद्यार्थी घाइते भएका नेविसंघले जनाएको छ।
चिकित्सा शिक्षा सुधारका लागि जुम्लामा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक गोविन्द केसीले सुरूमा यो माग उठाएका थिए। केसीले सत्याग्रहको मुख्य मागमा यो बुँदा पनि समेटेपछि चारैतिरबाट समर्थन भइरहेको छ।