मातृका लामिछाने
नेपाल जात्रै जात्राको देश हो । कवि भूपी शेरचनले भनेझैं म घृणा चिन्तक होईन न त देश निन्दक नै । हल्लै हल्लाको देश भनेर कविले भनेझैं म पनि भन्दैछु मेरो जात्रैजात्राको देश नेपाल । यो जीवनरुपी रंगमञ्चमा सवैले आ आना ठाउँबाट औकात अनुसारको, इच्छा र अवस्था अनुसारको जात्रा प्रदर्शन गरिरहेकाछौं । जात्रा भन्नाले नाटक, कला, कौशल, अभिनय, क्यारिकेचर, मिमिक्री गरेर दुनियाँलाई चकित पार्दै थाँग्नामा सुताउने, दुरुस्त प्रदर्शन, चटक, तमासा, नौटंकी गरि जथाभावी जात्रा देखाउनु र स्वतन्त्र रुपमा हेरेर आनन्द भई नक्कल पार्नु हाम्रो दैनिकी नै भईसक्यो । लौ अव कुरा कथुरुम नेपाल राज्यमा देखाईने २१ औं सताब्दीका केहि महान र चाख लाग्दा जात्राका अनुपम उदाहरण ।
जात्रा नं. १
खानाखानु अघि अप्सानी लगाउने तागाधारी ब्राह्मण तथा क्षत्रीय परम्परालाई डिजिटलीकरण गर्दै आजकल खानुअघि मन्त्रोच्चारण (क्याप्सन) गर्दै फेसबुक र इन्सटाग्राम नामक देवादिदेव र पितृदेवको नाममा हामी जिउँदा आदमीलाई चढाएर (देखाएर) मात्र भोजन गरिन्छ । यस्तो भो र उस्तो भो भनेर फेसबुक र युट्युबमा सनसनीपूर्ण तस्वीर र भिडियो बाँडेर मान्छे मान्छेको मन, घर परिवार भाँडेर, थरिथरिका जात्रा देखाएर ट्रोलका नाममा टोलटोलमा मान्छेहरु भाईरल भईराख्या छन् । रुघामर्की भन्दा चाँडो सर्ने यस्ता भाईरल जात्राहरु साइबर अपराध नामको ट्याब्लेट नखाई जाती नहुने खालका छन् । तिनै जात्राको अन्धानुकरण गर्दै तिहुन डढेको गन्ध प्राप्त नहुने, ताप्केको दुध पाक्दा पाक्दा थाकेर डढेर कालो तिलक हुँदासम्म पत्तो नहुने गरि एकोहोरो हुने बानी यदि हाम्रा नानीहरुमा हुँदो हो त सवका सव बोर्ड टपर हुन्थे होला । आजकल यी सवै तमासाहरु लाई माथ दिने गरि जात्राहरुको भिडमा अर्को जात्रा चम्किएको छ र हाँडी गाऊँको जात्रा लप हुने क्रममा छ । म्युजिकल्ली नामक उक्त जात्रामञ्चमा मान्छेले अन्तरनीहित प्रतिभालाई सकि नसकि कनि कनि भएनि खुलस्त रुपमा देखाउँदै आएका छन् । देशमा नेता र अभिनेता मात्र कला र गलामा निपूर्ण छैनन् भन्ने कुरा म्युजिकल्लीको जात्रा हेर्दा थाहा हुन्छ । हर बेटी हर बेटा, जात्राकी अभिनेता ।
जात्रा नं. २
यो रेडियो नेपाल हो अव ................ बाट समाचार सुन्नुहोस् । आज असार पन्ध्र, अर्थात् दहि चिउरा खाने दिन । श्री ५ महाराजधिराज तथा बडामहारानी सरकारले सुनको थालमा चाँदीको चम्चाले दहि चिउरा खाईबक्सी रोपाई जात्रा हेर्न जाने कार्यक्रम रहेको छ । रेडियोमा उहिले यीनै समाचार सुन्ने गरेको तर आजकल थरिथरिका तमासा र चटकको हद सुन्दा र हेर्दा उदेक उदेक लाग्छ भन्या । ऊ बेला सपत्नि महाराजधिराजले हिलोमा खुट्टा राख्ने प्रचलन अहिले विस्तारित भएर देशका कुनाकाप्चामा स्वघोषित महाराजाहरुले रोपाई गर्न आँठो गरो खोजि खोजि हिले जात्रा मनाएको देखियो । केहि साल अघि कृषि तथा सहकारी मन्त्रालयका राजाले जात्रा देखाउने क्रममा रोपाहारहरुसंग यसो ठट्टा गरिबक्सेको थियो । यसपाली बिभिन्न राज्यका मूख्यराजा, उपराजा, मिनीराजा, वडाराजा, नगर तथा ग्रामराजा तिनका आसेपासे, बिघ्नहर्ता कार्यकर्ता सवैले लटरम्म धानको वीऊको गलाभरि माला लगाएर, धान रोपेजस्तो गरेर खुव जात्रा गरे । देशका विभिन्न राज्यमा देखिएको धान रोपाईको जात्रा देख्दा अव उप्रान्त भारतमाता र बंगलादेश ब्रदरबाट धान ल्याउनै नपर्ने गरि उत्पात संगले उत्पादन हुने कुराले मन प्रफुल्लित भाछ । कर्णाली राज्यका जनताले अव भोकै भौतारिनु पर्दैन । पाँच दिनसम्म हिंडेर पाँच किलो चामलको लागि पाँच दिन सम्म लाईन लाग्नु पर्दैन । रोपाईं जात्राले धानको उत्पादनमा अत्यधिक बृद्धि भई खाद्य परनिर्भरता घट्ने चेष्टा असारमै देखिईसक्यो मंसिर कुर्नै पर्दैन । झण्डै एक हेक्टर बराबर जमिनमा राखिएको ब्याडको बीऊ सरकारहरुले माला लगाएर, सिरबन्दी सिउरेर सत्यनास पारेको फेसबुके फोटो पत्रकारहरुले बताएका छन् । रोपाई जात्रामै चटकी तन्नेरी बाउसेहरुले भकुण्डोकपको तमासा देखाएको झन रमाईलो । भकुण्डो, चार कुना मिलाईएको सम्म राम्रो चिटिक्कको स्टेडियममा मात्र होईन दबदबे हिलोमा पनि मस्त संग खेल्न र रमाउन सकिन्छ भन्ने कुरा हाम्रा नक्कली बाउसेहरुको जात्राले प्रमाणित गरिदियो अव गिनिजबुकमा रेर्कड राख्न मात्र बाँकी छ ।
जात्रा नं. ३
हाडखोर मर्मत तथा जोडजाड एवम् ठोकठाक गर्ने गोविन्द बाबाको १५ औं संस्करणको एकादशी ब्रत सुरु भएको छ । आन्दोलन गर्ने, नाराबाजी गर्ने, टायर बाल्ने, ढुंगामुढा गर्ने, सवारी ठप्प पार्ने, आगजनि गर्ने, बन्द गर्ने, अरुलाई दुख दिने भन्दा उत्तम तरिका, जो हडतालको पनि महाबाबु हो भोक हडताल ¤ उद्धेश्य र कारण परिदृश्यमा जे देखिएता पनि निहुँ खोजि खोजि बेलाबखत एकादशी ब्रत झैं यो जात्रा सुरु हुन्छ । सरकारमा हुनेले सकुञ्जेल खप्छ , सडकमा हुनेले आगोमा घिऊ थप्छ । निराहार तपस्यामा बसेका गुरुलाई बाईपास फिडिड्ड गराईन्छ र प्राण थमाईन्छ । दुईचार दिनपछि सम्झौता नामक पेपरमा स्वकीय समर्थकले आंैठाछाप गर्छन् । त्यसपछि बाबालाई हस्पिटलको बिचरो बिमारीले आँपको रेडिमेड रस चुसाउँछ र ब्रत भंग हुन्छ । अनि फेरि अर्को ब्रतको तयारी सुरु हुन्छ । गोबिन्द बाबाको निर्विकल्प तरिका नै भोक हडताल हो ।
जात्रा नं. ४
भोक हड्तालको अलौकिक शक्ति भएकी गंगामातालाई साथ र समर्थन दिने भनि रुख दलका भाइ भारदारले भनेछन् । खै हिजो पार्टीका दुवै सभापति सिंहदरबारमा शेर भएर बस्दा किन माताको याद आएन र आज बृद्धाश्रममा राखेकी आमालाई माताऔंशीमा भेट्न खोजेझैं गर्न खोज्या हुन् जान्न सकिएन । हुन त यिनको ब्यहोरा दैवले त जान्दैनन् म निम्छरो ले के जानुँला र ?
सरखारले निषेधित क्षेत्र तोकेर बिरोध गर्न मनाह गरेका ठाममा बिपक्षी दलका तन्नेरीले उपद्रव गर्न खोजेछन् । हिजो उपद्रवको कखरा आफैंले सिकाउने अनि सन्ततीलाइर्, भाईभारदारलाई त्यसो नगर भन्दा मान्छन् त ? दुईचार दिन चकचक गर्न नपाउँदा बिचराको जीऊ चिलाएर हैरान बनाउँदो हो अनि जात्रा नदेखाएर हरिकिर्तन गर्दै बसुन् त । बिचार गर्न छोडेर बिबाद गर्ने, बहस गर्न छोडेर बिरोध गर्ने, सत्तामा छँदा चकचकी गर्ने सडकमा छँदा चकचक गर्ने लोकतन्त्रको नाममा यस्ता विविध खाले लौकिक जात्राहरु धार्जे भएर टुलुटुलु हेरेर बस्नु कि त धारे हात लाएर सत्तोसराप गर्नु त्यो भन्दा अरु के नै छ र ? यसैमा तपाई हाम्रो कल्याण पनि छ । जय होस् जात्राको ।