• अर्जुनधारा, असार २५ । निधन भएको ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा-८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।

    समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार आयोजित भेलाले कान्छी बुहारी अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय लागु हुने निर्णय गरेको छ ।

    कान्छी बुहारी अमितालाई आफ्नै घरमा ससुराको काजकिरिया गर्नबाट वञ्चित गरिएको विषयमा सो वडा र छिमेकी बुद्धशान्ति गाँउपालिका-२ स्थित जयपुरका सिङ्गो वडाबासीहरु आक्रोशित भएका छन् । विगतमा पनि गौतम परिवारबाट बुहारी अमितालाई चरम महिला हिंसा गरिएको जानकारी गराउँदै स्थानीयले सो परिवारलाई काजकिरिया गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

    गौतम परिवारले बुहारी अमिताका लागि सो वातावरण नबनाए आफूहरुले उक्त परिवारलाई कानुनी रुपमा नमिले पनि सामाजिक बहिष्कार गर्दै उनको लागि आवश्यक न्याय दिलाउन लागिपर्ने घटनाका प्रत्यक्षदर्शी एवम् स्थानीय भीम श्रेष्ठले बताए ।

    डेरामा एक्लै काजकिरिया
    ३४ वर्षीया अमिता ससुराको काजकिरिया गर्नबाट वञ्चित भएकी छन् । गत असार २१ गते ससुरा खड्गप्रसाद गौतमको निधन भएको खबर थाहा पाई काजकिरिया गर्न घरमा पुगेकी उनलाई श्रीमान् तिलक गौतमसहित परिवारका सदस्यहरुले गालीगलौज र दबाबसँगै हातपात गर्दै काजकिरिया गर्नबाट वञ्चित गरेको अमिताले बताइन् ।

    श्रीमानसहित परिवारसँगको आन्तरिक समस्याका कारण विगत छ महिनादेखि मेचीनगर-१० स्थित धुलाबारीको डेराघरमा दुई छोरी सात वर्षीया शैली र चार वर्षीया सृष्टिको साथमा बसोबास गर्दै आएकी उनी हाल सोही डेराघरमा कोरामा बसेकी छन् । मलिन अनुहारमा गहभरि आँसु झार्दै उनी भन्छिन्, ‘ससुराको दाहसंस्कार गर्ने दिन असार २२ गते भेला भएको मलामीको अगाडि श्रीमान् तिलक, मामाससुरा विष्णु बाँस्तोला, आमाजू दिदी रोजी नेपाल, दाजु जीवन सुवेदीले मौखिक रुपमा उक्त घरमा आफ्नो अधिकार नभएको भनेको र भाञ्जा विराज सुवेदीले आफूलाई लात्ती प्रहार गरे ।’ दाहसंस्कार स्थल कनकाई नदी तटमा आफ्नो घरपरिवारको साथमा जानबाट वञ्चित भएको उनी आफ्नो भाइ अमर रिजालको साथमा पुगेकी थिइन् ।

    घरेलु हिंसा, माना चामल, छलकपट र अंश लगायतका विषयमा अदालतमा हाल चलिरहेको मुद्दा नै सो घटनाको मुख्य कारण हुनसक्ने पीडित अमिताको अनुमान छ । यसैबीच, यस विषयमा वडा अध्यक्ष गोपीचन्द्र गौतमसँग बुझ्दा उनले पटकपटक घरमै काजकिरिया गर्न लगाउनुभन्दा अमिताको श्रीमान् तिलकले सो विषयमा चासो नदिएको बताए । ‘जहाँ गएर गर्छे गरोस्, मसँग बसेर गर्नुपर्दैन’, श्रीमान् तिलकलाई उद्धृत गर्दै वडा अध्यक्ष गौतमले भने ।

    अमिता किन डेराघरमा ?

    गत पुस ९ गते वडा अध्यक्ष गौतमको सामुन्ने उनलाई ससुरा खड्गप्रसाद, सासू चन्द्रकला र घरेलु कामदारका रुपमा रहेका महिला करुण खुलाल र जमुना खड्काले बिनाकारण कुटपिट गरेका थिए ।

    कुटपिटको तीन दिनपछि बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलको बेडमा पाएको आफूलाई श्रीमान् तिलकले विष खाएको हुँदा हस्पिटल ल्याएको जवाफ दिए । तर, उनी दाबी गर्छिन्, ‘मलाई सो दिन कुटेर बेहोस भएको अवस्थामा विष खुवाइएको थियो ।’

    हस्पिटलमा १८ दिनको बसाइपछि घर जाँदा आफ्नो ज्यानको सुरक्षा नहुने हुँदा उनी आफ्नो माइतीको संरक्षणमा धुलाबारीस्थित डेराघरमा बस्न पुगेकी हुन् । सोही क्रममा उनले श्रीमान् र परिवारविरुद्ध घरेलु हिंसा, माना चामल, छलकपट र अंश लगायतका विषयमा जिल्ला अदालत झापामा मुद्दा दर्ता गराएकी थिइन् ।

    के भन्छन् माइती पक्ष ?
    पीडित अमिताका माइती पक्षका भाइ अमर दिदीलाई घर नपठाउने बताउँछन् । सिङ्गो समाजलाई चुनौती दिँदै गौतम परिवारबाट दिदीमाथि पटकपटक घरेलु हिंसा हुँदा कतैबाट सहयोग नपाएकोमा दिदी घरमा सुरक्षित हुने कुरामा उनी विश्वस्त छैनन् । पूर्वसांसद् एवम् गौतम परिवारका आफन्त मनकुमार गौतमलाई उद्धृत गर्दै उनी भन्छन्, ‘बुहारीलाई अन्त लैजाउ घरमा नराख, म निरीह छु ।’ स्थानीयहरुले पीडित अमितामाथि भान्जा विराज सुवेदीले गरेको कुटपिट र गाउँमा मोटरसाइकलमा युवाहरुको समूह लिई गाउँलेहरुलाई धम्काएको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिइएको स्थानीय युवा विजय राईले जानकारी दिए ।

    विवेचना दैनिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…