• काठमाडौँ, २६ असार  । छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् ।

    हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुनसचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो ।

    ‘तपाईंको मुख्य माग पूरा भइहाल्यो, अब अरू पनि पूरा गर्दै जान्छौँ, अनशन तोडिदिनुपर्‍यो,’ कानुनसचिव राजीव गौतमले आईसीयूमै पसेर गंगामायालाई भनेका थिए, ‘ज्यान रहे मात्रै न्यायको अर्थ रहन्छ, त्यसैले अब खाइदिनुस् ।’ जवाफमा गंगामायाले यसअघि पनि ६ पटक यसैगरी उधारो अश्वासन दिएर अनशन तोडाएको भन्दै अब आफू नझुक्किने बताइन् ।

    ‘अरू अपराधी पनि छन्, तिनलाई समातेर ल्याउनुस्, मेरो बेपत्ता छोरालाई खोजिदिनुस्, मेरो बसोबासको व्यवस्था मिलाइदिनुस्,’ उनले भनिन्, ‘त्यसपछि म तपाईंले नखा भने पनि खान्छु, यसरी फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?’

    उनका किशोर छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ जेठ २४ गते गोली हान्ने मुख्य अभियुक्त रुद्र आचार्य उत्तरी आयरल्यान्डमा बसोबास गर्दै आएका छन् । उनै आचार्यलाई झिकाउनु भन्ने अदालतको आदेश पालना हुनुपर्ने उनको माग छ ।

    ‘प्रहरीले अदालतको आदेशअनुसार आचार्यका विरुद्ध डिफ्युजन नोटिस जारी गरेको धेरै भए पनि त्यो पत्र परराष्ट्र मन्त्रालयबाट अघि बढ्न सकेको छैन भन्ने बुझिन्छ,’ गंगामायाका अधिवक्ता बाबुराम गिरीले भने, ‘सरकारले चाह्यो भने २४ घण्टामा आचार्यलाई झिकाउन सक्छ, यति भयो भने उहाँको जीवनरक्षा हुन्थ्यो ।

    कृष्णप्रसादका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दा गंगामाया, उनका पति नन्दप्रसाद तथा उनका जेठा छोरा नूरप्रसादलाई छविलाल पौडेललगायत गोरखा फुजेलका तत्कालीन माओवादी कार्यकर्ताले घरजग्गा कब्जा गरेर गाउँबाटै निकाला गरिदिएका थिए ।

    त्यसपछि बेघर भएको अधिकारी परिवार न्यायको खोजीमा वर्षौँ यत्रतत्र भौंतारियो । अन्त्यमा सरकारले उपचारार्थ वीर अस्पताल भर्ना गरेको अवस्थामा आमरण अनशन थालेका अधिकारी दम्पतीमध्ये नन्दप्रसादको ज्यान सत्याग्रह थालेको ३ सय ३५ औँ दिनका दिन २०७१ असोजमा गएको थियो ।

    त्यसयता एक्लै सत्याग्रह गर्दै आएकी गंगामायाले अब आफू अस्पतालमा प्रहरी र डाक्टरको निगरानीमा बसिरहन असमर्थ भएको पनि जनाएकी छन् ।

    ‘म अब त्यो फुजेलको भत्किएको घरबारी सम्हाल्न निकै बुढी भइसकें, एक्ली पनि छु,’ उनले भनिन्, ‘त्यसो हुँदा त्यो मेरो जायजेथा जेजस्तो हालतमा छ, त्यही हालतमा संग्रहालयमा परिणत गरियोस् । यसो भयो भने हामीमाथिको अत्याचार भविष्यमा अरूले पनि थाहा पाउनेछन् । त्यसपछि मलाई सरकारले अन्त कतै बसोबासको व्यवस्था गरोस्, यति भए मलाई पुग्छ ।’

    गंगामायाको देब्रे खुट्टाको नसामा रक्त सञ्चालन नहुने रोग लागेको छ । त्यसको उपचार हुनुपर्ने र उनको पुन:स्थापना पनि गरिनुपर्ने अधिकारवादीको धारणा छ । कान्तिपुर दैनिकबाट 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…