• महेन्द्रनगर ।जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ ।

    सोमबार गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ ।

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रोहवरमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीको तर्फबाट छोटे महन्थ रामरोशन दासले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौताअनुसार मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्वलित गर्नका लागि उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्न सक्ने एलइडी चिमको प्रयोग गरिनेछ । मन्दिरको सौन्दर्यकरणलाई अझ बढी उपयोगी बनाउन सौर्य ऊर्जाको प्रयोग गर्ने योजना रहेको एनआरएनका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

    मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरणको कार्य गरिनेछ । विद्युतीकरणमा लाग्ने तार, उपकरण, बत्ती आदिको जडानको खर्च एनआरएनले व्यहोर्ने छ । यस वर्षको विवाहपञ्चमी महोत्सवअगावै विद्युतीकरणको कार्य सम्पन्न गरी मन्दिरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको अध्यक्ष भट्टले बताउनुभयो ।

    जनकपुरमात्र नभई नेपालकै नाम विश्वस्तरमा चिनाउने एउटा थलो जानकी मन्दिर भएको हुनाले यसको सौन्दर्यकरणका लागि विद्युतीकरणको योजना आउँदा जनकपुरवासी खुशी भएको छोटे महन्थ रामरोशन दासले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्युतीकरणको डिजाइन हेर्दा मन्दिर उज्यालो महल जस्तै देखिने भएको छ ।”

    इसं १९१० मा भारतको टिकमगढकी रानी वृषभाणु कुमारीले जानकी मन्दिरको निर्माण गराएकी थिइन् । उक्त समयमा यस मन्दिरको निर्माणमा रु नौ लाख भारतीय खर्च भएको थियो । सोही कारणले यस मन्दिरलाई नौ लख्खा मन्दिर पनि भन्ने गरिन्छ ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…