• काठमाडौं, २७ असार ।  एघार दिनदेखि अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।

    चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।

    चिकित्सकले बिहान एक घण्टा कालोपट्टी बाँधेर धर्ना, र्‍याली लगायतका विरोध कार्यक्रम गर्ने भएका छन् । अर्को निर्णय नगर्दासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट एक घण्टा विरोध कार्यक्रम गरिने संघका महासचिव डा. लोचन कार्कीले बताए ।

    चिकित्सक संघको कार्यकारिणी समितिका पदाधिकारी, चिकित्सक संघका पूर्वअध्यक्ष, महासचिव, काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्पतालका निर्देशक, विभिन्न विशेषज्ञ समाजका अध्यक्षका साथै अन्य सरकारी तथा निजी अस्पतालका चिकित्सकसँग छलफल गरी आन्दोलनमा जाने निर्णय गरिएको हो ।

    चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले विरोध कार्यक्रम संचालन गर्दा समेत सरकारले निकासका लागि यथाशीघ्र सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य संस्था बन्द गर्न बाध्य हुने बताए । चिकित्सकले गर्ने विरोध कार्यक्रमबाट उत्पन्न हुने परिणामप्रति सरकार जिम्मेवार हुने संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    संघका देशभरिका शाखा कार्यालयले सम्बन्धित जिल्लामा रहेका शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)सँग समन्वय गरी आन्दोलन गर्ने जनाइएको छ । आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जाहेर गरी डा. केसीको जीवनरक्षा गर्नका लागि विभिन्न संघ, संस्था, शुभेच्छुक, सञ्चारकर्मी, बुद्धिजीवी, सर्वसाधारण नागरिक एवं स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायमा संघले अपिल गरेको छ ।

    डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरिरहेकाले चिकित्सक आन्दोलन गर्न बाध्य भएको संघका महासचिव डा. लोचन कार्कीले बताए । उनले भने, ‘वार्ता टोली गठन गरेर समस्या समाधानका लागि सरकारले पहल गर्न सक्थ्यो तर यसमा समेत बेवास्ता गर्‍यो ।’

    यसअघि संघले प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउँदै ७२ घण्टे अल्टिमेटम दिएको थियो । संघका आजीवन सदस्य समेत रहेका डा. केसीको जीवन रक्षार्थ आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव डा.कार्कीले बताए । ‘हामी मूकदर्शक भई टुलुटुलु हेरेर बस्न सक्दैनौं’, उनले भने, ‘यो आन्दोलनलाई पनि बेवास्ता गरिए आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्छौं ।’ अन्नपूर्ण पोस्ट दैनिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…