• भक्तपुर, २८ असार

    अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजाराँै बासिन्दा बिचल्लीमा परेका छन् ।

    राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो ।

    डुबानबाट अथाह क्षति 

    हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ । डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनाका साथै आकस्मिक कक्ष बन्द भएको छ । यहाँका प्राविधिक सामानहरुमा समेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो ।

    त्यसैगरी, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र यन्त्र उपकरणमा क्षति पुगेको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो । भक्तपुरको राम मन्दिर र यहाँ सँगैको शान्ति निकेतन मावि डुबानमा पर्दा यहाँको पढाइ बन्द भएको छ ।

    त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ । जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो ।

    रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । यहाँका बासिन्दाको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ । बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

    सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशल्टार पुलमा बाढीले क्षति पु¥याएको छ भने बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ । बाढीका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति र पशुपक्षीको क्षति भएको तर के कति संख्यामा क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले बताएको छ । मध्यपुर अस्पताल, एसएसकलेज, सिबर्ड कलेज, अक्सफोर्ड स्कूल र ग्लोरी स्कूल डुबानमा परेको छ भने डुबानमा परेका बस्तीका बासिन्दालाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्नाका साथै डुँगा सञ्चालन गरेर सुरक्षित स्थानमा पु¥याएको थियो । यहाँका बासिन्दा दिउँसो अबेरसम्म पनि सहज रुपमा बाहिर निस्कन सकेका छैनन् । बजारसमेत डुबानमा परेकाले सयाँै व्यापारीको खाद्यान्न, विद्युतीय सामान र भाटभाटेनी सुपर मार्केटका सामानहरु क्षति भएका छन् । डुबान क्षेत्रका एक दर्जन विद्यालय बन्द भएको छ ।

    यता मनोहरा सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नु परेको स्थानीयवासीले बताएका छन् ।

    सात घण्टापछि खुल्यो राजमार्ग 

    डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालन भएको छ । बिहान ५ देखि बन्द राजमार्ग मध्याह्न १२ बजेपछि सञ्चालनमा आएको थियो । बन्द अवधिभर राजमार्गमा यातायातका साधन रोकिँदा यात्रुहरु अलपत्र परेका थिए ।

    तीनको मृत्यु, १५ घर भत्किए 

    अविरल वर्षाका कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ । छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ । राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो । मृतक तीन जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ ।

    पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ ।

    त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुखहरु सहितको टोलीले आज बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

    टोलीले चाँगुनारायण नगरपालिकाको कुइँकेल गाउँमा पुगेर मनोहरा नदीले कटान गरी पु¥याएको क्षतिको अनुगमन गर्नुभयो । धार परिवर्तन गरी बस्ती नजिकै आएको मनोहरा नदीको कटानले बस्ती जोखिममा पारेकाले तत्कालै बस्ती सुरक्षित गर्न आवश्यक पहल थाल्न स्थानीयवासीले टोलीसँग माग गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…