• काठमाडौं, २९ असार । नेपाली कांग्रेसका नेताहरु दललाई निर्वाचनको पराजयबाट बाहिर निस्कने कोशिस गर्दैछन् । गुट उपगुट क्षतविक्षत बनेको पार्टी संगठन नेतृत्वको जनविपरीत कदमका कारण हालै सम्पन्न निर्वाचनमा नराम्ररी पराजित भएको थियो ।

    सभापति शेरबहादुर देउवाको नेतृत्वशैली तथा केन्द्रीय समितिमा रहेका अरु नेताको समर्पणवादी शैलीका कारण कांग्रेस स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा खतरनाक हार व्यहोर्न बाध्य भएको थिया । तै पनि निर्वाचन हारेको भनी जिम्मेवारी लिँदै दललाई नयाँ ढंगबाट उठाउन प्रण गर्ने बाटो नेतृत्वले रोजेन ।

    यसका कारण दलमा थप अराजकता निम्तियो । एकअर्कालाई उछित्तो काँढेर बस्नमै नेता र तिनका कार्यकर्ता रमाए । फलस्वरुप कांग्रेसको माउ दलमा देखिएको गुट अराजकता अहिले भ्रातृ संस्थाहरुमा सरेको छ । कांग्रेसको नर्सरी भनिने नेविसंघ आपसी फुटमा रमेको छ ।

    अब यो संघ करिब फुटको मुखमा पुगेको देखिँदैन । अर्कातिर तरुण दल केन्द्रीय समिति नै पूर्ण नभई त्यत्तिकै अलपत्र पारिएको छ । नेताहरुको हस्तक्षेपका कारण सीमित सदस्यका भरमा तरुण दल छाडिएको छ । परिणाम कांग्रेसका संगठनहरु मृतप्रायः बन्दै गएका छन् ।

    देशमा दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारको अधिनायकवादी सोच र शैली दिन प्रतिदिन थोपरिँदो छ । यस्तोमा प्रतिपक्षी भनिएको कांग्रेस र उसको भ्रातृ संगठन आफ्नै विवादमा रमाइरहेको हो । कुनै नेता वा संगठनले कांग्रेसलाई पुनर्जीवन दिन सक्ने देखिएको छैन ।

    उमेरले बुढोयौलीमा लागेका नेता एकअर्काको खुट्टा तान्नमै ठीक भएका बेला कांग्रेसलाई जीवन दिन तयार रहनुपर्ने कांग्रेसका युवा भनिएका नेताको ताल पनि उस्तै छ । देशभर एकअर्कामा नेता कार्यकर्ता मेल छैन । केन्द्रदेखि तल्लो तहसम्म गुटगत कुविचार तरंगित भएको छ ।

    बासी विचारमा रमेका कांग्रेसी नेता कार्यकर्ताले दुई तिहाइका मत दिएर सत्तामा रहेको कम्युनिष्ट अधिनायकत्वविरुद्ध लड्ने साहस र आँट पटक्कै राख्न सक्ने देखिँदैन । यसैबीच, कांग्रेस भ्रातृ संस्था नेवि संघको विवाद चुलिएर फुटतर्फ लम्किएको छ ।

    महामन्त्री कुन्दनराज काफ्लेसहित चार उपाध्यक्षले अध्यक्षलाई बाइपास गर्दै १२ औं महाधिवेशनको मिति नै तय गरिदिनु भएको छ । यसले नेवि संघ विवाद चरमोत्कर्षमा पुगेको छ । महामन्त्रीको समूहले आफ्नो पक्षमा दुई तिहाई केन्द्रीय सदस्यको समर्थन रहेको जनाउँदै महाधिवेशनको मिति तय गरेको हो ।

    महाधिवेशनका लागि साउनको २३ देखि २५ सम्मको मिति तोकिएको छ । नेवि संघका सभापति नैनसिंह महरको समूहसँग असन्तुष्टि जनाउँदै आएको महामन्त्रीको समूहले सभापति विधानविपरीत चलेको आरोप लगाउँदै महाधिवेशन नै घोषणा गरेको हो ।

    विधिसम्मत ढंगले महाधिवेशन मिति तोक्न पटक पटक सभापतिसँग आग्रह गरिए पनि नमानेकाले बाध्य भई महाधिवेशन बोलाउनु परेको तर्क काफ्ले पक्षले गरेको छ । महरले भने संघको १२ औं महाधिवेशनका लागि गत वर्ष नै मिति तोकिएको भन्दै काफ्ले समूहको महाधिवेशन आह्वन अमान्य रहने बताउनु भएको छ ।

    ११ औं महाधिवेशनबाट निर्वाचित बहुमत पदाधिकारी र सदस्यले महाधिवेशनको  मितिलाई अनुमोदन गरेको दाबी काफ्ले समूहको छ । नेवि संघ विधिबाट सञ्चालित नभएकाले महाधिवेशनका लागि मति तय गरिएको पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट विद्यार्थी नेता मनोजमणि आचार्यको भनाइ छ ।

    नगरपालिका, गाउँपालिका, प्रदेश, विश्वविद्यालय, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन साउन १८ अघि गरिसक्ने र साउन २३ देखि २५ सम्म काठमाडौंमा महाधिवेशन गर्ने जनाएको छ ।

    विवादले निम्त्यायो महाधिवेशन घोषणा
    आन्तरिक कलहमा मुछिएको नेपाली कांग्रेसका भ्रातृ संगठनभित्रको विवाद चर्किदै गएको छ । दलको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघभित्रको विवाद साम्य हुनुको साटो झन उग्र बन्दै गएको छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलापक्षका विद्यार्थी नेता एकजुट हुँदै संस्थापन पक्षविरुद्ध उत्रिएका छन् ।

    संघका अध्यक्ष नैनसिंह महरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको महामन्त्री कुन्दन काफ्ले समूहका असन्तुष्ट नेताले नेताले एकलौटी रुपमा १२ औं महाधिवेशन घोषणा गरेपछि नेवि संघभित्रको विवाद झन चर्किएको हो ।

    काफ्लेसहितको असन्तुष्ट समूहले बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय भएको जनाएको छ ।

    असन्तुष्ट समूहको बसेको केन्द्रय समिति बैठकले अध्यक्ष महरद्वारा गरिएको मनोनयनसमेत खारेज गरेको घोषणा गरेको छ ।

    विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यको मनोनयन केन्द्रीय पदाधिकारी तथासदस्यको मनोनयन केन्द्रीय समितिको बहुमतबाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको छ ।

    महाधिवेशन सम्पन्न गर्नका लागि नेवि संघले साउन तीनदेखि मतदान नहुँदासम्मको लागि कार्य तालिकासमेत तय गरेको छ । योसँगै लामो समयदेखिको नेवि संघको विवाद झन चर्किएको हो ।

    पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको विषयलाई लिएर मतैक्य हुन थालेको चर्चा सेलाउन नपाउँदै विद्यार्थी संगठनमा भने सभापति देउवा र देउवाविरोधी समूहमा चर्को द्वन्द्व चलिरहेको देखिएको छ ।

    विद्यार्थी संगठनमा नेता कृष्ण सिटौला समूहको पकड पनि बलियो छ । नेवि संघभित्रको विवादका कारण पछिल्लो समयमा सार्वजनिक कार्यक्रमसमेत छुट्टा छुट्टै हुन थालेका थिए,  विमर्शमा उल्लेख छ ।

    महरले विधानविपरीत कार्य गर्दै आएको असन्तुष्ट पक्षको आरोप छ । नेवि संघमा एक सय २९ निर्वाचित र २२ मनोनीत गरी एक सय ५१ सदस्यीय केन्द्रीय कार्य समिति रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…