• हरि कोइराला
    उर्लाबारी ३० असार । पूर्वी मोरङको उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि ६१ करोड ७४ लाख ५८ हजार ४० रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
    शनिबार उर्लाबारी–५ को सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिको सभा हलमा आयोजित दोस्रो नगर सभामा नगर उप प्रमुख लक्ष्मी देवी भण्डारीले नगरको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नु भएको हो । नगरले आम्दानी तर्फ आव ०७५÷०७६मा आन्तरिक आम्दानी ४ करोड रुपियाँ हुने प्रक्षेपण गरेको छ । यस्तै आव ०७४÷०७५को मौज्दात ३ करोड ४० लाख ३४ हजार ४० रुपियाँ रहेको छ ।सङ्घीय राजश्व बाँडफाँडबाट ८ करोड ५२ लाख ६५ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

    सङ्घीय बित्तीय हस्तान्तरणबाट १४ करोड ८५ लाख रुपियाँ प्राप्त हुनेछ भने प्रदेश सरकारको राजश्व बाँडफाँडबाट १ करोड ७९ लाख रुपियाँ प्राप्त हुनेछ । यसैगरी सामाजिक सुरक्षा भत्ता वापत १० करोड, शसर्त अनुदान १८ करोड ३० लाख रुपियाँ, सडक वोर्डबाट प्राप्त हुने ४० लाख रुपियाँ र एलजीसिडिपी तर्फबाट ७ लाख ५० हजार रुपियाँ गरी कुल ६१ करोड ७४ लाख अनठाउन्न हजार ४० रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।
    यस्तै खर्च तर्फ प्रशासनिक खर्च ८ करोड ७ लाख ९ हजार रुपियाँ चालु कार्यक्रम तर्फ ५ करोड ३३ लाख रुपियाँ ,पूँजी गत खर्च तर्फ १९ करोड ९६ लाख ९९ हजार ४० रुपियाँ खर्च हुने अनुमान गरिएको छ । सशर्त अनुदानका लागि जुन जुन शीर्षकमा बजेट प्राप्त भएको छ । सोही शीर्षकमा खर्च हुनेछ । सडक वोर्ड र एलजीसिडिपी तर्फबाट प्राप्त हुने रकम सोही क्षेत्रमा खर्च हुनेछ ।
    उर्लाबारी नगरपालिकाले विभिन्न २१ वुँदामा नगरको नीति तथा कार्यक्रम ल्याएको छ । स्वास्थ्य, प्राविधिक शिक्षा, पर्यटन प्रवद्र्धन र कृषि ब्यावसायलाई प्रमुख प्राथमिकताको सूचीमा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ ।

    नगर सभाको उद्घाटन गर्दै मोरङ –१ का प्रतिनिधि सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि घनश्याम खतिवडाले उर्लाबारीमा चक्रपथ निर्माणका लागि संघीय संसदमा कुरा उठाउने बताउनु भयो । उहाँले उर्लाबारीको ढल ब्यवस्थापन गर्न जरुरी भएको औल्याउँदै त्यसका लागि आफू सहयोग गर्न तयार भएको उल्लेख गर्नुभयो । पर्यटन प्रवद्र्धनका लागि किसान चौक –टाँडी–रमितेखोला हुँदै मिक्लाजुङ सम्म पर्यटन मार्ग आवश्यक रहेको बताउँदै उहाँले मदन भण्डारी मार्ग र पर्यटन मार्गले उत्तरी मोरङ भाग्य निर्माण गर्ने दाबी गर्नुभयो ।

    मोरङ १ (१)का प्रदेश सभा सदस्य कुलप्रसाद साम्वाले उर्लाबारीको दुखको रुपमा चिनिएका मावा र बक्राहा नदीको कटान नियन्त्रणका लागि दिगो कार्यक्रम आवश्यक भएको बताउनु भयो । उहाँले घर–घरमा बजेट पुगेकाले अब नागरिकका दुखका दिन सकिएको बताउनु भयो । साम्वाले भन्नुभयो–उर्लाबारीमा विकासको मूल फुटेको छ । अब सरकारी स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्ने उल्लेख गर्दै मङ्गलबारे अस्पतालमा ट्रमा सेन्टर निर्माण हुने बताउनु भयो । मदन भण्डारी स्मृति प्रतिष्ठान प्राविधिक शिक्षा लागि मुलुककै भरपर्दो केन्द्र भएको बताउँदै उहाँले सबैका लागि प्राविधिक शिक्षा उपलब्ध हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । आर्थिक समृद्धिको सबैभन्दा ठूलो शत्रु सेण्डिकेट रहेको बताउँदै उहाँले समाजसेवा,शिक्षा, ब्यापार ,यातायात र विकासको सेण्डिकेट हटाएर चुहावटको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।



    नेकपा उर्लाबारीका अध्यक्ष अग्नि भट्टराईले नगरमा भू उपयोग नीतिको आवश्यकता औंल्याउनु भयो । उहाँले भन्नुभयो –सरकारी जमीन ब्यक्तिले हस्तक्षेप गरेर बस्ने परम्पराले समस्या उत्पन्न भएको छ । उहाँले सबै दलको सामूहिक प्रयासबाट मात्र उर्लाबारीको समृद्धि सम्भव भएको बताउनु भयो ।

    नेपाली कांग्रेसका उर्लाबारी सभापति वीरबल थापाले सहमति र सहकार्यका आधारमा मात्र विकास सम्भव रहेको चर्चा गर्दै सिमित स्रोत र साधनबाट नगरका ठूला आयोजना सम्पन्न गर्न कठिन भएकोले प्रदेश र संघीय सांसदहरूले बिकासमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । थापाले नगरको यही नेतृतवले समृद्ध हरियाली शहर निर्माणको सपना चाँडै पुरा गर्ने बताउनु भयो ।

    राप्रपा उर्लाबारीका नगर अध्यक्ष देवी दाहालले उर्लाबारीको ढल निकासलाई विकासको प्राथमिक सूचीमा राख्न ध्यानाकर्षण गराउनु भयो । उहाँले उर्लाबारीमा ब्यावसायिक तरकारी खेतीको सम्भावना राम्रो रहेको बताउँदै सुख्खा डाँडाहरूमा सिंचाईको प्रबन्ध मिलाई उर्लाबारीलाई तरकारीमा आत्म निर्भर बनाउनु पर्ने उल्लेख गर्नुभयो ।

    नयाँशक्ति नेपालका उर्लाबारी अध्यक्ष मनोहरि दाहालले उर्लाबारीलाई पर्यटकीय शहर निर्माण गर्नका लागि ठोस कार्यक्रम नआएको टिप्पणी गर्नुभयो । दाहालले भन्नुभयो –हामी हाम्रा पैसा अन्यत्र लगेर खर्च गरिरहेका छौं । ति पैसा आफ्नै सहरमा खर्च गर्ने ठाउँ बनाउनु पर्ने दाहालको भनाई थियो । उहाँले बेतनी सीमसार लगायतका सीमसारहरूलाई पर्यटकीय केन्द्रका रुपमा बिकसित गर्न सकिनेमा जोड दिनुभयो ।
    नगर सभा नगर प्रमुख प्रमुख खड्गबहादुर फागोको सभापतित्वमा भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…