• काठमाडौँ – आषाढ शुक्ल एकादशीका दिन अर्थात आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा घरघरमा रोपिन्छ । भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।

    हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

    यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उहाँले जानकारी दिनुभयो । आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ । आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

    पाशुपत क्षेत्रमा तुलसी वितरण गरिने
    यसैबीच पुडासैनी मैत्री समाजले यही साउन ७ गते हरिशयनी एकादशीका दिन पाशुपत क्षेत्रमा १० हजार तुलसी वितरण गर्ने भएको छ । समाजले राम तुलसी र कालो तुलसी गरी १० हजार तुलसीका बिरुवा निःशुल्क रुपमा वितरण गर्ने जनाएको छ । पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा बिहान ७ बजेदेखि साँझसम्म तुलसीका विरुवा उपलब्ध गराइनेछ । धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ ।

    एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ । प्रतिव्यक्ति तीनवटा तुलसीका विरुवा वितरण गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । व्यावहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ । विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…