• विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’को सबै हिसाब खाताको परीक्षण सही प्रमाणित भएको छ । सनम शाक्यले राख्दै आएको हिसाब, कारोबारी लगायतलाई दिएको रकम लगायत डायरीमा भेटिएको सबै तथ्य सत्य भएको प्रमाणित भएको हो ।

    मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार मृतक सनम शाक्यले तस्करीको हिसाबकिताब राख्ने गरेको खाताको परीक्षणबाट प्रमाणित भएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले सुन तस्करी र सनम हत्याको अनुसन्धान गर्दै जाँदा फेला परेको डायरी र रजिस्टर परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । न्यायाधिवक्ता पाठकले भने, ‘‘दुवै निकायमा परीक्षण गर्दा शाक्यले नै लेखेको प्रमाणित भएको पाइयो । अनुसन्धान टोलीले अनुसन्धानका क्रममा ६ वटा खाताहरू फेला पारेको थियो । परीक्षणबाट प्राप्त प्रतिवेदन अदालतमा पेश गरेका छौं ।’’

    अदालतले कुनै दस्तावेज प्रमाणित गर्नुपरेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाउने गर्दछ । टोलीले बरामद भएका सबै सामग्री प्रहरीको प्रयोगशालामा पनि पठाएको थियो । गोरेकै पूर्व लेखा सहयोगी सनमले बैंकमा रकम बुझाउन भरेको भौचरमा गरेको हस्ताक्षर, रजिस्टरमा गरिएको हस्ताक्षर, लेखाई र उनले पहिले लेखेका अक्षरहरू परीक्षणका लागि पठाइएको थियो ।

    गत माघ ९ गते यूएईबाट आएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल बाहिरबाट गायब भएपछि गोरेको समूहले नै सुन लुकाएको आशंकामा फागुन १८ गते सनमको हत्या गरेको थियो । जिल्ला न्यायाधिवक्ता पाठकका अनुसार सामन्यतया लिखतको अनुसन्धान गर्दा मानिस जीवित हुँदा नयाँ लेख्न लगाएर अक्षर दाँजिने भए पनि मृत्यु भएको अवस्थामा पुरानो लेखाइकै आधारमा सुक्ष्म अनुसन्धान गरिन्छ । प्रमाणित भएको प्रयोगशालाको रिपोर्टले गोरेको कारोबार पुष्टि भएको पाठकले बताए ।

    मोरङ प्रहरीले वैशाख १९ गते सरकारी वकिलको कार्यालय मोरङमार्फत् जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । सुन तस्करी प्रकरणमा सरकारी वकिलको कार्यालय मोरङले तीन पटक गरी ७४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये पाँच जनामाथि अनुसन्धानका लागि म्याद थप गरी राखिएको छ भने एक जना साधारण तारेख र तीन जना धरौटीमा छुटेका छन् ।

    सुन तस्करी प्रकरणमा पाँच प्रहरी उच्च अधिकृतसहित ३४ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । सुन तस्करीमा संलग्न मोहनकुमार अग्रवाल सहित ३६ जना अझै फरार छन् । ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा गोरेसहित सबैविरुद्ध १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ र नब्बे पैसा बराबरको विगो माग गर्दै मुद्दा दायर गरिएको छ ।बाह्खरीबाट साभार गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…