• दमक — गायक तथा संगीतकार टंक बुढाथोकीले बाल गायक अशोक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन परेको छ । मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले संगीतकार बुढाथोकीले बाल गायक दर्जीलाई बेपत्ता बनाएको भन्दै निवेदन दिएका हुन् ।




    बाल गायक दर्जी बेथल एजुकेशनल एकाडेमीमा अध्ययनरत छन्। न्यौपानेले मंगलबार दमक नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा बाल गायक दर्जीलाई लाने बुढाथोकीलाई झिकाई पाऊ भन्दै निवेदन दिएका हुन्।

    संगीतकार बुढाथोकीले गत असार २३ गते परीक्षा चलिरहेको अवस्थामा बाल गायक दर्जीलाई लिएर गएको प्रिन्सिपल न्यौपानेले बताए। तर, दर्जीलाई लगेपछि आजसम्म फिर्ता नल्याएकाले ‘सम्बन्धित व्यक्ति झिकाई पाऊ’ शीर्षकको निवेदन वडा कार्यालयमा दर्ता गरेको न्यौपानेले बताए। न्यौपानेले दर्जीलाई भोलिपल्टै ल्याइदिने सर्तमा बुढाथोकीले लिएर गएको बताए।


    न्यौपानेले निवेदनमा भनेका छन्, ‘बाल गायक अशोक दर्जीलाई उर्लाबारीस्थित बेथल बोर्डिङबाट भोलि नै फिर्ता ल्याउँछु भनि २०७५/०३/२३ गते परीक्षाको चौथो दिन लाने व्यक्ति टंक बुढाथोकीले आजको मितिसम्म पनि उपस्थित नगराएको हुँदा बेपत्ता बालक र अपहरण शैलीमा बच्चा लाने व्यक्तिलाई यस कार्यालयमा उपस्थित गराइदिनु हुन अनुरोध छ।’


    ‘टंकजीले परीक्षा चलिरहेको अवस्थामा भोलिपल्टै ल्याइदिन्छु भनेर अशोकलाई मबाट लिएर जानु भएको हो। त्यसपछि आज यतिका दिनसम्म अशोक मलाई फिर्ता ल्याइदिनु भएको छैन' निवेदन दर्ता गरेपछि प्रिन्सिपल न्यौपानेले भने, 'यो अवधिमा अशोकलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिने?’ उनले अशोकलाई बुढाथोकीले काठमाडौंमा आफूसँगै राखेर पढाउने भन्ने सुनेको बताए। ‘यदी त्यस्तो हो भने आवश्यक प्रक्रिया पूरा गरेर अशोकलाई लगियोस्। त्यसमा हाम्रो कुनै आपत्ति छैन। तर, भोलिपल्टै ल्याइदिन्छु भनेर लाने अनि आजसम्म नल्याइदिने कुरा राम्रो भएन’ न्यौपानेले भने। उनले अशोकलाई १२ कक्षासम्म पढाउने भनेर आफूले पनि अशोकका अभिभावकसँग सम्झौता गरेको बताए।


    दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले सम्बन्धित व्यक्तिलाई तत्काल झिकाउने विषयमा प्रक्रिया अघि बढाएको बताए। उनले बुढाथोकीलाई झिकाएर उत्पन्न विवादका विषयमा छलफल गराउने समेत बताए। यस विषयमा बुझ्न खोज्दा संगीतकार टंक बुढाथोकीसंग सम्पर्क हुन सकेन।

    दुई सातायता संगीतकार बुढाथोकी र प्रिन्सिपल न्यौपानेबीच बाल गायक दर्जीलाई कसले राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ।

    kantipurdaily.com bata

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…