अर्जुन जम्नेली राई
काठमाडौं । प्रदेश नम्बर १ लाई पहिचानको आधारमा नामकरण गर्न चार किरात संस्था र राजनीतिक संगठननहरू एकजुट भएर अघि बढ्ने भएका छन् । आज(साउन १०) काठमाडौं कोटेश्वर स्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा भएको छलफलमा १ नम्बर प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।
छलफलमा किरात राई यायोक्खा, किरात याक्थुङ् चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा, विभिन्न राजनीतिक दल सम्बद्ध जनवर्गीय मोर्चा संगठन र संघीय तथा प्रदेश सभा सदस्यहरू, नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम सम्बद्ध दलका नेताहरू बैठकमा सहभागी भएका थिए ।
बैठकले १ नम्बर प्रदेशको नाम किरात लिम्बूवान, किरात, किरात कोशी÷सगरमाथा जे राखिएपनि त्यहाँको पहिचान अनिवार्य रहनुपर्ने साझा धारणा बनेको किरात राई यायोक्ख केन्द्रीय कार्यावहक अध्यक्ष दिवस राईले बताए । पहिचानको आधारमा नाम नराखिए संयुक्त रूपमा संघर्ष चर्काइने बैठकद्वारा चेतावनी दिइएको छ । बैठकमा कियचुका अध्यक्ष योगराज लिम्बू, सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार, किरात याक्खा छुम्माका अध्यक्ष लिलरोगु याक्खा, संघीय सांसद सुरेशकुमार राई, जयकुमार राई, प्रमिला राई, सुदन किराती, प्रदेश सांसद रामकुमार राई(पासाङ) लगायतको उपस्थिति रहेको थियो ।
चार किरातको अध्यक्ष महासचिव लगायतका पदाधिकारीहरू, सल्लाहकारहरू, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपाध्यक्ष शरण राई, किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजन किराती(बासु), लिम्बुवान मुक्ति मोर्चाका महासचिव पोकन्दी लिम्बू, लोकतान्त्रिक किरात लिम्बू संघका अध्यक्ष त्रिवेणी चोम्बाङ बैठकमा सहभागि रहेका थिए ।
त्यसैगरी नेकपाका नेताहरू टंक राई, अजम्बर काङ्बाङ, संघीय समाजवादी फोरमका रकम चेम्जोङ, भीम राई लगायत विभिन्न बुद्धिजिवीहरूको उपस्थिति थियो । बैठकले संघीय तथा प्रदेश सभा सदस्यहरू, राजनीतिक दलका नेताहरू, चार किरात(राई, लिम्बू, याक्खा, सुनुवार)हरूको साझा सामाजिक संस्था, पार्टीगत जातीय संस्थाहरू रहेको छुट्टाछुट्टटै तीन प्रकारको दबाब समितिहरू गठन गरेर पहिचानको आधारमा प्रदेशको नामकरणको लागि चर्को दवाव दिने र पहिचान विनाको नाम राखिए संयुक्त रूपमा संघर्ष गर्ने साझा सहमति बनेको यायोक्खा महासचिव जीवन हाताचो राईले बताए ।
