डर
लघुकथा
शिव पौडेल
साँझ पर्न थालेको थियो।नरमाया ट्युसन पढ्दै थिइन् ।पढ्नु के,बारम्बार उनको आँखा हातको घडीको सुइमा पुगिरहेको थियो।सर बोलेको आवाज त सुन्दै थिइन् तर ध्यान घर फर्किने बाटो तिर गइरहेको थियो।एक्कासि बोलिन् -सर आज छिटो जानू छ भोलि पढौं है?एकपटक उनको आत्तिएको अनुहार हेरेर सरले हुन्छ जाउ भन्नू भयो।ट्युसन समय सकिन अझै २० मिनेट बाँकी थियो।
हतार हतार लामो लामो पाइला चाल्दै उनी अगाडि बढीन्।घर देखि वर पर्ने खोल्सो,बाँसघारि र मान्छे भन्दा अग्ला तितेपातिको झाडी कसरी पार गर्ने,यहि कुरा दिल दिमागमा दौडिरहेको थियो। झिसमिसे साँझ पर्न थालेकोले खोल्साको अंध्यारोले तर्साउदै थियो उनलाई।अझै १५ मिनेट हिंड्नुपर्छ घर पुग्न।उनको मन आत्तियो।
त्यसो त उनी रात्रिको अँध्यारोमा कति हिंडेकी पनि थिइन्।भुत प्रेत उनको डरको कारण थिएन।जंगली जनावर गाउँ वरिपरि त्यति आउदैन्थ्यो। तर उनी निकै डराएकि थिइन्।
उनले जति छिटो पाइला चाल्थिन् त्यो भन्दा छिटो बिगतका घटनाक्रम सम्झिन्थिन्। रोपाइँको मौकामा दिउसै अंगालो हालेर थुतुनो दल्ने जिम्मेवार नेता, बलात्कारि पुलिस, समातिएका अपराधी लाई छुटाउन आदेश दिने बडामन्त्री,केस दर्ज गर्न नमान्ने चौकी इन्चार्ज यिनै अनुहारहरु उनको दिमागमा फनफनी घुमिरहे।अकस्मात परबाट एकहुल केटाहरू चुरोट तान्दै उनितिर आइरहेको देखिन्,अनि झल्यास्स उनी अस्तिको कंचनपुरकि बालिका माथी नरपशुबाट भएको बलात्कार र हत्या सम्झिइन। उनको सास घाँटीमै रोकियो।मुटुले थात छोड्यो।दिमाग बन्द भयो आँखा तिर्मिराए।ओठ खुलेको खुल्यै भए।
किनकि उनलाई डर भुत प्रेत दुष्ट आत्मा हिंस्रक जनावर भन्दा पनि नरपशुको थियोे। त्यो नरपशु जो उनको गाउँ टोल छिमेकमा पनि हुन सक्थ्यो। कुनै पनि रूपमा आएर झम्टन सक्थ्यो।नरमायालाइ डर नर(पुरुष)बाट थियो।