• त्रिशूली, नुवाकोट, साउन १३ गते । नेपाली काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको गए राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट निधन भएको छ ।

    काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएकामा उपचारका क्रममा गए राति नै निधन भएको आचार्यका सहकर्मी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिनुभयो ।
    विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिनुभएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा काँग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो । पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय हुनुभएको थियो ।

    उहाँ २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति पदमा पार्टीबाट सभापतिको उम्मेदवार बन्नुभएको थियो । उहाँले विसं २०५६ मा पार्टीको जिल्ला समितिको कावा सभापतिसमेत भएर पार्टी हाँक्नुभएको थियो ।
    नुवाकोटको प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदानलाई भुल्न नसकिने काँग्रेसका पूर्वसभापति अधिकारीले बताउनुभयो । “प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदान अतुलनीय छ । नुवाकोटमा उहाँको योगदानलाई कोहीसँग तुलना नै हुन सक्दैन । उहाँ प्रजातान्त्रिक आन्दोलनका खम्बा हुनुहुन्थ्यो”, अधिकारीले भन्नुभयो, “उहाँले पञ्चायतकालको असहज समयमा पनि जिल्लामा काँग्रेसलाई सशक्त रुपमा हाँक्नुभएको थियो ।’
    प्रजातान्त्रिक आन्दोलनका क्रममा आचार्य पटक पटक कारागारसमेत पर्नुभएको थियो । विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनका क्रममा पनि उहाँ कारागार पर्नुभएको पूर्वसभापति अधिकारीले बताउनुभयो । “उहाँ धेरै पटक जेल पर्नुभयो । पटक पटक गरेर दुई वर्षभन्दा लामो समय जेल पर्नुभयो”, अधिकारीले भन्नुभयो ।

    पछिल्लो समय आचार्य बिपी विचार मञ्चका जिल्ला अध्यक्ष र बिपी. विचार मञ्चका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । स्व आचार्यका श्रीमती, दुई छोरा(एक छोरा अष्ट्रेलिया र एक छोरा दिनेश ‘शेयर कारोवार’ साप्ताहिकका प्रकाशक र सम्पादक) र तीन छोरी हुनुुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…