• काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताएका छन् ।

    ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताए ।

    'राजाजस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन', अध्यक्ष ‘प्रचण्ड’ले भने, 'निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।'

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा जनता र ट्रेड युनियनको सम्बन्धलाई सुदृढ गर्न नसके क्रान्तिका उपलब्धि उल्टिने बताउँदै क्रान्ति पछिको प्रतिक्रान्ति जब्बर हुने भएकाले सबैले आँखा चनाखो र कान ठाडो पार्नुपर्ने बताए ।

    'लेनिनले भनेजस्तो क्रान्ति भन्दा १० गुना प्रतिक्रान्ति आउँछ,' उनले भने, 'सबैको अधिकार कटौती गरेर राज गर्न नहुने र कर्मचारी भित्रको एकतालाई अझ मजबुद गर्न जरुरी छ ।'

    अध्यक्ष दाहालले ट्रेड युनियनलार्इ केही नगर्ने बताए । 'सरकारले ट्रेड युनियनको अधिकार कटौती गर्यो भने किन कटौती गरेको भन्ने प्रश्न आउन सक्छ, उनले अगाडि भने, 'त्यसैले हामी सत्तामा भइहाल्याँै किन अधिकार चाहियो भनेर भएको अधिकार कटौती गर्दैनौँ ।'

    दुईतिहाइको सरकार भएकाले जनताले अनुभव गर्न खालको काम गर्न ट्रेड युनियन अग्रसर हुनुपर्नेमा जोड दिदैं उनले कर्मचारीतन्त्रले स्वच्छ र पारदर्शी प्रशासन देखाउनुपर्ने बताए ।

    अध्यक्ष दाहालले राज्यले खटाएको जुनसुकै ठाउँमा कर्मचारी जानुपर्ने बताउँदै अहिले एउटा संक्रमणकालको अन्त्य गरिसके पनि संक्रमणकालबाट भने मुक्त हुन नसकेको बताए ।

    निरंकुशतन्त्रको एउटा लडाइँ जितिसकिएको उल्लेख गर्दै उनले अब समृद्धिको लडाइँ बाँकी रहेको बताए । 'मुलुकमा परिवर्तन भए पनि समृद्धि हुन बाँकी रहेको छ', अध्यक्ष दाहालले भने, 'परिवर्तनलाई संस्थागत र संरचनालाई व्यवस्थित गर्न अझ पाँच वर्ष लाग्नेछ ।'

    उनले मुलुक लोकतन्त्र ल्याउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका रहेको भन्दै कर्मचारीको नभई राजनीतिक नेतृत्वको कारण कमीकमजोरी भएको बताए ।

    जनयुद्ध शुरु भएको पाँच वर्षपछि नै नेकपा एमाले र तत्कालीन नेकपा माओवादी एकअर्काका परिपूरक भएर आन्दोलनमा गएको उल्लेख गर्दै उनले दुवै दलका नेताको छलफलले एकअर्कालाई परिपूरकका रुपमा अगाडि बढाएको बताए ।

    अध्यक्ष दाहालले त्यही परिपूरकअनुसार नै १२ बुँदे सहमति, दोस्रो जनआन्दोलन, संविधान सभाको निर्वाचन हुँदै संविधान घोषणा र अहिलेको निर्वाचन भएको पनि बताए । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…