• काठमाडौं, १६ साउन । देशमा बढ्दो शैक्षिक बेरोजगारीहरुलाई तत्कालै रोजगारी उपलब्ध गराइदिनेभन्दै विज्ञापन गरेर ठगी धन्दा चलाएको पाइएको छ ।

    जागिरको खोजीमा भौँतारिएका युवायुवतीलाई लक्षित गरी उपत्यकाभित्रका चोकचोक र गल्लीहरुमा समेत रोजगारी दिने भन्दै पर्चा छपाइदेखि दैनिक पत्रिकामा विज्ञापन गरी ठगी धन्दा चलाउँदै आएको पीडितहरुले बताएका छन् ।

    ‘तु कर्मचारी आवश्यकता, नो इन्टरभ्यू, शतप्रतिशत रोजगारीको ग्यारेन्टी, पार्टटाइम, फुल टाइम, अफिसभित्र र घरैमा बसेर काम गर्न सकिने, पढे÷नपढेका गृहिणी जो कोहीले पनि काम गर्न मिल्ने ।

    तलब न्यूनतम सातदेखि अधिकतम ५० हजार रुपैयाँसम्म’भन्दै पर्चा वितरण गर्नेदेखि विज्ञापन समेत छपाएर ठगी गरेको आरोप समेत लागेको छ ।

    सहरको चोकैमा बसेर महिला तथा पुरुषहरुले बाटो हिँड्ने बटुवालाई बाँड्ने गरेको पर्चामा लोभलाग्दा आश्वासन लेखेर बेरोजगार युवायुवतीहरुलाई ठगी गर्दै आएको माथि सम्बन्धित निकायले कुनै चासो देखाउनसकेको छैन ।

    पुतलीसडक, सुन्धारा, चाबहिल, कोटेश्वर, बागबजार, ललितपुर, भत्तपुरलगायतका ठाउँमा रोजगारीको अवसर भन्दै पर्चा पम्प्लेट बाँड्दै बेरोजगार युवायुवतीलाई आकर्षण गराउँदै आएका छन् । यस्ता झूटो विज्ञापन सडकमा रहेका बिजुलीका पोल र पर्खालहरुमा अहिले टाँसिएका छन् ।

    एउटै पर्चामा दुईसयभन्दा बढीलाई रोजगारीको अवसर रहेको भन्ने व्यहोराको रहेका छन् । रोजगारीको खोजीमा विभिन्न ठाउँमा भौँतारिँदा जागिर नभेटेका युवायुवतीहरु यही विज्ञापनको पछि लाग्दै पुग्ने गरेका छन् ।

    तोकिएको स्थानमा बल्लतल्ल एउटा कोठामा राखिएको अफिस भेटेपछि र सो अफिसमा पुगेपछि विभिन्न आश्वासन दिँदै एउटा फर्म भर्न लगाउने र सो फर्म पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँ तिरेर भर्नुपर्ने प्रावधान राखिएका छ । सो फर्म भरेपछि पैसा तिरेको कुनै प्रमाण समेत दिने गरेको छैन ।

    डाटा इन्ट्रीदेखि अन्य उच्च तहसम्मको काम गर्नुपर्ने भएकाले सोहीअनुसार फर्म शुल्क बुझाएर फर्म भर्नुपर्ने भन्दै ठगी धन्दा चलाउँदै आएका छन् । न्यूनतम २० हजारदेखि ५० हजार रुपैयाँ र सेवा सुविधासहित पाइने र राम्रो गरेको खण्डमा विदेश जानसमेत पाउने भन्दै आश्वासन दिने गरेको पीडितहरुको गुनासो रहेको छ ।

    विना अनुमति सञ्चालनमा रहेका यस्ता ठगी धन्दा चलाउने कम्पनी या संस्थाहरुले सम्पर्क नम्बरमा फोन नम्बर छोड्नु,पछि हामी ‘कल’ गरेर बोलाउनेछौँ भन्दै फर्म भरेको रकम लिएर महिनौँसम्म पनि कुनै काम नदिने गरेको गुनासो पीडितहरुको रहेको छ ।

    यसरी पर्चा र पोष्टमा उल्लेख गरेको नम्बरमा फोन गर्दै गोप्य राखिएको अफिससम्म बेरोजगार युवायुवती पुग्ने गरेका छन् । यसरी काम सुरु गर्दा सफ्टवेयर किन्नुपर्ने, अन्य अकाण्उट खोल्नुपर्ने भन्दै त्यसका लागि न्यूनतम तीन हजार रुपैयाँ लाग्ने भन्दै विना भर्पाइ असुली हुँदै आएको छ ।

    जागिर पाइएन भन्दै विदेशिनेको संख्या घट्नुको सट्टा हरेक वर्ष बढ्दै गएको छ । काठमाडौं उपत्यकामा भने रोजगारीको सुनौलो अवसर भन्दै कर्मचारी माग्ने संघ/संस्थाले ठगी धन्दा चलाइरहँदा समेत सरकारले कुनै कारबाही प्रक्रिया अगाडि समेत बताएको छैन ।

    नाम चलेकादेखि प्रायः सबै पत्रिकामा ‘अर्जेन्ट’ र ‘आवश्यकता’ भनिएका डिस्प्ले वर्गीकृत विज्ञापनदेखि बाटोमा बाँड्ने पर्चा तथा पोल र पर्खालमा टाँसिएका पम्प्लेटमा अफिस रिसेप्सनिष्ट, कुक वेटर, सेक्युरिटी गार्ड, डाटा इन्ट्रीदेखि सेल्समेन तथा मार्केटिङका नाममा ठगी कार्य हुँदै आएको छ ।

    विज्ञापनको अन्त्यमा राखिएको सम्पर्क नम्बरमा फोन गर्दै दिनमा न्यूनतम ५० जनासम्म जागिर खोज्दै पुग्ने गरेका छन् । अपराध महाशाखाका अनुसार सानो परिमाणमा रहेको रकमको ठगीका उजुरी नपर्ने गरेको जनाएको छ ।

    अहिले प्रायःजसो जापान, कोरिया, अमेरिका, क्यानडालगायतका देशमा पठाइदिने भन्दै विज्ञापन गरेर ठगीमा परेकाहरुले मात्र मुद्दा हाल्ने गरेको प्रहरीको भनाइ छ । यसरी पत्र–पत्रिकामा दिनहुँ यस्ता विज्ञापन छापेर बजारका मुख्य चोक–चोकमा रोजगारीको अवसर भन्दै छापिएका पर्चा पम्प्लेट बाँड्दै बस्नेहरुकोमा पनि पछिल्लो समयमा झनै वृद्धि हुँदै गएको छ ।

    कर्मचारी आवश्यकता भन्दै विज्ञापन गर्ने एउटा कार्यालयमा दैनिक २० जना पुगेभने पनि महिनामा पाँच सयजना एउटा कार्यालयबाट ठगिन पुगेका छन् । यस्तो गिरोहले फारम भरेको दुई सय,पाँच हजार र तालिमको नाममा न्यूनतम तीन हजार रुपैयाँ असुली गर्दै आएका छन् ।

    यसरी काठमाडौं, भक्तपुर, ललितपुरमा लुकीछिपी कार्यालय खोलेर ठगी धन्दा चलाएका छन् । रोजगारीको प्रलोभन दिएपछि जागिरको खोजीमा भौँतारिएकाहरु सहजै ठगीमा पर्ने गरेका छन् । विज्ञापन गरेरै ठगी धन्दा चलाइरहँदा पनि प्रहरी प्रशासन र सम्बन्धित निकायले गम्भीरताका साथ नलिएकै कारण यो अवैध धन्दाले तीव्रता पाएको छ ।

    ठगहरुले कार्यालय खोलेर काम गर्न कानुनी प्रक्रिया पनि पूरा नगर्ने हुनाले उजुरी दिएमा पनि पछि कार्यालय सारेर अन्यत्र बस्ने गरेका कारणपनि कारबाही विज्ञापन गरेर ठगी धन्दा चलाउनेहरू केही छिटफुटबाहेक प्रहरी कारबाहीमा पर्नसकेका छैनन् । उम्किँदै आएका छन् ।

    रोजगारीका अवसरको कमी, कमजोर आर्थिक अवस्था, अज्ञानता र रुढीवादी सोच रहेकै कारण पनि युवायुवती रोजगारीको नाममा ठगिनुपरेको छ । नेपालमा प्रचलित कानुनअनुसार व्यवसायगत अपराधहरूलाई सम्बोधन गर्ने ठगी, जालसाजी, कालोबजारीजस्ता ऐनहरू भए पनि ती अहिलेको समयअनुसार पर्याप्त छैन ।

    यसरी पत्रपत्रिका तथा पर्चा पम्प्लेटमा छापेर बाँडिने भ्रमपूर्ण विज्ञापनबाट सर्वसाधारण ठगिएको भन्दै २०७० चैत २० गते सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । वस्तु वा सेवामा भ्रम सिर्जना गर्ने विज्ञापन निर्बाध प्रकाशित प्रसारित भइरहेकोमा सरोकारवाला निकायले वास्ता नगरेकाले त्यसमा नियन्त्रण गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।

    दुई वर्षपछि २०७२ जेठ २७ गते रिटको सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको इजलासले भ्रमपूर्ण विज्ञापन, प्रचारप्रसार गर्ने कामलाई रोक्न सरकारका नाममा परमादेश जारी गरेको’ थियो ।

    विद्यमान अवस्थामा विज्ञापनको नियमन गर्ने छुट्टै कानुन निर्माण नभएकाले त्यस्तो कानुन नबन्दासम्म भ्रमपूर्ण विज्ञापन प्रकाशन, प्रसारण गर्न रोक लगाउने आदेश गरेको थियो ।

    तर, अदालतको आदेश आएको तीन वर्षभन्दाबढी बितिसक्दासम्म सरकारले कुनै कानुन बनाउनसकेको छैन । न त यस्ता भ्रमपूर्ण विज्ञापन प्रकाशन गर्ने र बाँड्दै हिँड्नेहरुलाई अनुगमन गरेर कारबाही नै गर्नसकेको छ । (आर्थिक दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…