• चुनावको मिति नजिकिँदै जाँदा उर्लाबारी उद्योग बाणिज्य संघमा सरगर्मी बढ्दै गएको छ । आगामी भदौ ११ गते हुने चुनावका लागि उम्मेद्वारी घोषणासँगै प्रचार तीब्र बनेको छ । संघको बाणिज्य सचिव पदका उम्मेद्वार युवा व्यवसायी
    नेत्रप्रसाद आपागाईले प्रचारप्रसार तीब्र पार्नुभएको छ । संघको वर्तमान कार्यसमिति सदस्य पदमा उहाँले एक कार्यकाल बिताइसक्नुभएको छ । यसपटक लोकतान्त्रिक गठबन्धनबाट बाणिज्य सचिवमा उम्मेद्वार बन्नु भएका आपागाईँको सँगको जम्काभेट ः

    तपाईको व्यापारिक पृष्ठभूमि बताइदिनुहोस् न ?
    मेरो जन्म नै व्यापारिक पृष्ठभूमिमा भएको हो । म जान्ने बुझ्ने भएदेखि नै व्यापार र व्यापारीका नजिक छु । २०६० सालदेखि आफैँ हाटबजारमा फेन्सी पसल सञ्चालन गरेँ । अहिले उर्लाबारी–७ मा मेरो ‘दीप ज्योति ट्रेडर्स’ पसल सञ्चालनमा छ । अहिले मोरङ खुद्रा व्यापार संघबाट पदेन सदस्यका रुपमा उर्लाबारी उद्योग वाणिज्य संघमा सदस्यको भूमिकामा रहेको छु ।
    बाणिज्य सचिवमा तपाईको उम्मेद्वारी चाहि“ किन ?
    संघको सदस्य भएर काम गर्दा सिक्ने मौका पाइयो । उद्योग वाणिज्य संघ के हो ? चिन्ने मौका पाइयो । अब चाहिँ व्यापारीका हकहितका लागि केही गर्नुपर्छ भनेर यो बाणिज्य सचिव पदमा उम्मेद्वार बन्न लागेको हो । संघको सदस्य रहँदा व्यापारीको मन जितेको छु, अब मत जित्ने छु । अर्को कुरा मैले लामो समयदेखि उर्लाबारीमा व्यापार व्यवसाय सञ्चालन गरेको छु, व्यापारीका पीर, मर्का बुझेको छु र बाणिज्य सचिव पदमा रहेर काम गर्ने क्षमता राख्छु, त्यसैले मैले यो पदमा उम्मेद्वार बनेको हुँ ।

    तपाईका चुनावी एजेण्डाहरू चाहि“ के छन् नि ? 
    यस क्षेत्रका व्यापारी, व्यवसायीका धेरै समस्या छन् । प्रमुख समस्या भनेको चन्दा चिठ्ठा हो । अहिले राजनीतिक दलले चन्दा लिन छोेडेपनि विभिन्न संघसंस्थाले चन्दा उठाउने गरेका छन् । यसको पीडित म आफैँ पनि हो । यो चन्दा उठाउने चलन पूर्ण रुपमा अन्त्य गर्ने हो । यस्तै, घरवाला र व्यापारीबीच घर भाडा लगाउँदा के के नियम बनाउने भन्ने नीति स्थानीय सरकारले बनाउनु पर्छ र त्यसका लागि उद्योग वाणिज्य संघले पहल गर्नुपर्छ । त्यो पहल गर्नका लागि मेरो उम्मेद्वारी हो ।मैले लामो समयदेखि उर्लाबारीमा व्यापार व्यवसाय सञ्चालन गरेको छु, व्यापारीका पीर, मर्का बुझेको छु र बाणिज्य सचिव पदमा रहेर काम गर्ने क्षमता राख्छु,
    यस्तै, यस क्षेत्रमा रहेका खुद्रा व्यापार संघ र व्यापारी उद्योगीहरुलाई संस्थागत गर्न तथा संघमा आवद्ध गराउन पहल गर्ने, उर्लाबारीका विभिन्न स्थानमा सीसी क्यामेरा र सौर्य बत्तीको व्यवस्था गर्ने, एकीकृत कर सेवा केन्द्र ल्याउन पहल गर्ने, संघमा चार्टर एकाउण्टेन्टको व्यवस्था गर्ने लगायतका एजेण्डा छन् । समग्रमा हाम्रो टिमले ७ वटा शीर्षकमा विभिन्न एजेण्डा अघि सारेको छ ।

    बाणिज्य संघमा राजनीतिक दल हावी भएको जस्तो छ नि ?
    निश्चयनै सबैका आ–आफ्ना राजनीतिक आस्था हुन्छन् । म पनि कुनै दलमा अवश्य नै बाँधिएको छु । तर, उद्योग बाणिज्य संघ जस्तो गरिमामय संस्थामा यो पार्टी र ऊ पार्टी भन्नुभन्दा पनि हामी आफैंमा विशिष्ट क्षमता राखेर मैदानमा उत्रिएको अवस्था हो । यो व्यवसायिक संस्था हो । व्यवसायिक संस्थामा व्यवसायी कै नेतृत्व हुनुपर्छ । म पनि एउटा व्यवसायी भएको नाताले उम्मेद्वार बनेको छु । राजनीति गर्न छुट्टै ठाउँ छ । तरपनि यसलाई कतिपयले राजनीति गर्ने थलो बनाउने गरेका छन् । यसको अन्त्यका लागि सबै मिलेर जानुपर्छ । त्यसैले राजनीतिभन्दा माथि उठेर व्यापारी साथीहरुले संस्थामा कुशल र असल अनि इमान्दार व्यक्ति नै चयन गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।
    तपाई चुनाव जित्ने आधार चाहि“ के नि ? 
    मेरो चुनाव जित्ने पहिलो आधार भनेकै यहाँका व्यवसायीले मलाई गर्नुभएको माया, ममता र स्नेह हो । अर्को कुरा ममा विभिन्न संघ संस्थामा रहेर कार्यसम्पादन गरेको अनुभव छ । संघमा नै एक कार्यकाल सदस्य भइसकेको छु । मोरङ खुद्रा व्यापार संघमा १ कार्यकाल सहसचिव हुँदै दुई कार्यकाल उपाध्यक्ष, उर्लाबारी वचत तथा ऋण सहकारी संस्थामा सहसचिव हुँदै तीन कार्यकाल सचिव, ग्लोबल युवा क्लबको सचिव, जीवन बचाउ उपचार सेवा केन्द्रको आजीवन सदस्य भएर कार्य गरिरहेको अवस्था छ । यी संघसंस्थामा रहँदा मैले संस्थालाई चलायमान बनाउन खेलेको भूमिका सबैले बुझेकै हुनुपर्छ । उर्लाबारीका तमाम उद्योगी, व्यवसायीहरुसँगको लामो समयदेखिको सहकार्यनै मेरो चुनाव जित्ने आधार हो ।
    घर वहालका विषयमा भाडावाला र घरवेटीबीच बेलाबेलामा अन्तद्र्वन्द्व निम्ति“दै आएको छ । यसमा तपाईको भूमिका के रहन्छ ?
    यो अहिलेको मूख्य चुनौती पनि हो । म आफैंले पनि घरवहालमै बसेको व्यापारी हुँ । हामीले घरवालालाई बहाल तिर भन्दा उनीहरुले तिर्ने ठाउँ पाएका छैनन् । अर्को कुरा कर कार्यालयमा व्यापारीले कर तिर्न जाँदा घरवहाल पनि लिने गरिएको छ । अब वहाल कर स्थानीय सरकारको मातहतमा आइसकेको छ । स्थानीय तहसँग बहाल कर लिने अधिकार छ । अब स्थानीय तहसँगै छलफल गरेर वहाल कर घरवालासँगै लिनुपर्छ भनेर छ महिनाभित्रमा नीति बनाउनका लागि पहल गर्ने छौं ।

    तपाईले चुनाव जित्नु भयो भने प्राथमिकतामा पर्ने काम के हुन् ?
    उर्लाबारीमा व्यवसायी धेरै छन् । तर, व्यवसाय चल्ने आधार छैन । मान्छे उर्लाबारी आएर किन सामान किन्ने, उर्लाबारीमा के का लागि आकर्षण हुने ? त्यसैले उर्लाबारीलाई आकर्षणको केन्द्र बनाउनु पर्छ । त्यसको लागि हामीले यहाँ समय समयमा सडक महोत्सव, फुड फेष्टिबल लगायत कार्यक्रम ल्याउनु पर्छ । साथै, उर्लाबारीमा सीमसार क्षेत्र छ, यसलाई प्रवद्र्धन गरी यहाँ धेरै भन्दा धेरै पर्यटक भित्राउन सक्यौं भने यहाँका हरेक व्यवसाय चल्छ । मेरो पहिलो प्राथमिकता यसैमा रहने छ । अन्य हाम्रो टिमले राखेका प्रतिबद्धता पूरा गराउन मेरो अहम् भूमिका रहने छ ।
    यस्तै, संघमा कम्प्यूटर प्रणालीको विकास गर्नुपर्ने आवश्यकता छ । पुराना दस्तावेजहरु नष्ट भएर जाने अवस्था छ । तीन वर्षदेखि अगाडिका सदस्यहरुको नामावली पाउन मुस्किल भइसकेको छ । अब प्रविधिको जमानामा पुरानै शैलीमा होइन, प्रविधिको विकास गरी सबै डाटाहरु कम्प्यूटर प्रणालीमा राख्नु पर्ने छ । साथै, बेला बेलामा संघका कार्यसमितिका साथीहरुले विभिन्न स्थानमा गएर व्यापारी व्यवसायीका समस्या बुझ्ने कार्य गर्नु पर्छ । संघमा बसेर मात्र व्यापारीका समस्या जानिदैन । यी कुरा पुरा गर्ने मेरो महत्वपूर्ण भूमिका रहन्छ ।
    उर्लाबारी उद्योग वाणिज्य संघमा अझै पनि धेरै व्यापारी आवद्ध हुन सकिरहेका छैनन् नि ? किन होला ? 
    राजनीतिक खिचातानी । उर्लाबारी उद्योग वाणिज्य संघ पूर्ण रुपमा राजनीतिबाट मुक्त हुनुपर्छ । शुद्ध व्यापारीलाई संघमा ल्याउने र गैर व्यापारीलाई पाखा लगाउने काम गर्न जरुरी छ । त्यो हामी गर्छौं । अर्को कुरा हामीले बाणिज्य संघको सदस्य बन्नुको फाइदाका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्न सकेका छैनौं । सबै व्यापारीलाई उद्योग बाणिज्य संघमा ल्याउन आकर्षक कार्यक्रम ल्याउने प्रतिबद्धतामा जाहेर गर्छु ।
    र, अन्त्यमा…………. ?
    विशेष गरी म पनि मोरङ खुद्रा व्यापार संघको उपाध्यक्ष भएको नाताले जति पनि यस्ता संघ संस्थाहरु जस्तै, मोरङ सुनचाँदी व्यवसायी संघ, होटल तथा पेय पदार्थ व्यवसायी संघ, फर्निचर व्यवसायी संघ यिनीहरुलाई उद्योग वाणिज्य संघसँग कसरी समन्वयमा ल्याउन सकिन्छ ? व्यापारीका साझा समस्या कसरी समाधान गर्न सकिन्छ ? भन्ने बारेमा हामीले ध्यान दिन जरुरी छ ।
    अन्त्यमा, आदरणीय उद्योगी, व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरुमा म समग्र व्यापारीको हकहितमा समर्पित रहने प्रतिबद्धता जाहेर गर्दै यहि भदौ ११ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको चुनावी साधारणसभाको निर्वाचन प्रक्रियामा मलाई मत दिई विजयी गराउन अपील गर्दछु ।
    प्रस्तुति : नवराज भट्टराई

    निगरानी दैनिकबाट साभार गरिएको

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…