• काठमाडौं, २५ साउन । सिमेन्टमा सरकारले तोकेको आईआर (रासायनिक पदार्थ) मापदण्डभन्दा कम रहेको पुष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको लिपनीमालमा रहेको नारायणी सिमेन्ट उद्योग प्रालिको त्रिशक्ति र बज्रशक्ति सिमेन्ट उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

    विभागको बिहीबारको निर्णयअनुसार उक्त सिमेन्ट उद्योगलाई दिइएको गुणस्तर प्रमाण चिह्न (एनएस) को इजाजतपत्र स्थगन गरिएको हो ।

    ‘नारायणी सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको ओपीसी तथा पीपीसी दुवै सिमेन्टले गुणस्तर प्रमाण चिह्नको अनुचित प्रयोग गरेको पुष्टि भएकाले इजाजत पत्र स्थगन गरेका छौं’, विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘नारायणी सिमेन्टले त्रिशक्ति र बज्रशक्ति सिमेन्ट उत्पादन गर्दै आएका छन् ।

    अब उनीहरुले गुणस्तरहीन सिमेन्ट बजारबाट समेत उठाउनुपर्छ ।’ सिमेन्टमा आईआर मात्रा बढी हुँदा घरले लोड धान्न सक्तैन र घर नै भत्किन्छ ।

    गुणस्तरले तोकेभन्दा आईआर बढी देखिएको कारण त्रिशक्ति र बज्रशक्ति सिमेन्ट प्रयोग गरेर बनाइएका घरलगायतका सबै भौतिक संरचना जोखिममा परेका छन् ।

    नेपाल गुणस्तर तथा नापतौल विभागले पटक–पटक बजार अनुगमन गरे पनि सिमेन्ट उद्योगहरुको बदमासी रोकिनसकेको छैन ।

    विभागले कारबाही गरेपछि सिमेन्ट उद्योगहरुले केही समय आफ्ना उत्पादनमा गुणस्तर कायम गरे पनि फेरि गुणस्तरहीन उत्पादन बढाउने भएकाले सधैं अनुगमन गर्नुपर्ने बाध्यता सिर्जना हुँदै गएको छ ।

    कम्प्रेसिभ स्ट्रेन्थ अर्थात् मजबुती तोकिएभन्दा न्यूनतम मानभन्दा कम र आईआर (रासायनिक पदार्थ) तोकिएभन्दा बढी हुँदा घर भत्किने सम्भावना उच्च हुन्छ । सिमेन्ट उत्पादकहरुले सधैं खेलबाड गर्दै आएका छन् । नारायणी सिमेन्ट उद्योगले त्रिशक्ति र बज्रशक्ति नामका दुई ब्राण्डका सिमेन्ट प्रतिदिन २१ हजार बोरा उत्पादन गर्दै आएको छ ।

    सो उद्योगले उत्पादन गरेका सिमेन्टहरु मध्यदेखि पूर्वसम्मको तराईको भागमा बढी खपत हुँदै आएको छ । त्यसो त मध्य क्षेत्रका काठमाडौं उपत्यकालगायतका स्थानमा पनि त्रिशक्ति र बज्रशक्ति सिमेन्टको राम्रै बजार छ । तर, ती सबै सिमेन्ट गुणस्तरहीन देखिएको छ ।

    यद्यपि ती सिमेन्टका मालिकहरुले बदमासी गरेर बोरामा एनएस चिह्न भने प्रयोग गरेरै सिमेन्ट बिक्री गरिरहेका छन् । अहिले बजारमा रहेका त्रिशक्ति र बज्रशक्ति सिमेन्ट पूर्णतया गुणस्तरहीन देखिएको छ । नारायणी सिमेन्ट उद्योगले एघार वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ ।

    सो सिमेन्ट उद्योगको अध्यक्ष बाबुलाल चाचान हुन् भने प्रबन्धसञ्चालक सतिशकुमार चाचान हुन् । बाबुलाल वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।

    विभागको बिहीबारकै निर्णयअनुसार चाचानकै स्वामित्मा सोही ठाउँमा रहेको नारायणी माइक्रो पाइप उद्योग प्रालिको पनि इजाजतपत्र स्थगन गरेको छ । उक्त उद्योगले नेपाल गुणस्तर चिह्नविपरीत एचडीपीई पाइपमा सेतो दाना प्रयोग गरेको कारण इजाजत स्थगन गरिएको हो ।

    विभागले रुपन्देहीमा रहेको नवनेपाल प्लाष्टिक प्रालि नामको उद्योगको पनि नेपाल गुणस्तर चिह्नको इजाजतपत्र स्थगन गरेको छ । उक्त उद्योगले पनि नेपाल गुणस्तर चिह्नविपरीत एचडीपीई पाइपमा सेतो दाना प्रयोग गरेको कारण इजाजत स्थगन गरिएको जनाएको छ ।

    विभागले काठमाडौंमा रहेको ओडट फुड एण्ड बेभरेज प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको छ । त्यसले उत्पादन गर्ने पोटेटो क्र्याकर गुणस्तरहीन पाइएपछि मुद्दा दर्ता गरिएको हो ।

    सगरमाथा सिमेन्ट पनि बन्द :- नेपाल गुणस्तर तथा नापतौल विभागले घोराही सिमेन्ट प्रालि दाङले उत्पादन गर्दै आएको सगरमाथा सिमेन्टको उत्पादन र बिक्री पनि बन्द गरिदिएको छ ।

    उक्त सिमेन्टमा एमजीओ अर्थात् म्याग्नेसियम अक्साइडको मात्रा बढी रहेको पुष्टि भएपछि कारखाना बन्द गरिएको छ । विभागले स्थलगत अनुसन्धानका लागि समेत कर्मचारी पठाएको छ ।

    कुनै पनि सिमेन्टमा एमजीओको मात्रा बढीमा पाँच प्रतिशत हुनुपर्नेमा घोराहीको सगरमाथा सिमेन्टमाा छ दशमलव ६० प्रतिशत देखिएपछि बन्द गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुगमन गर्दा गुणस्तरहीन रहेको आशंका गर्दै नमूना संकलन गरेर विभाग पठाउँदा गुणस्तरहीन पाइएपछि उत्पादन र बिक्री बन्द गरेको हो । म्याग्नेसियम अक्साइड बढी भएमा त्यस्तो सिमेन्टबाट निर्माण गरिने जुनसुकै भौतिक संरचनामा ढल्ने हुन्छ । (आर्थिक दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…