• २५ साउन, काठमाडौं । १ भदौदेखि लागु हुने मुलुकी संहिता’मा सहमतिमा गरिने यौन सम्बन्धको उमेरहद फेरबदल भएको छ । नयाँ व्यवस्थाअनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले नै यौनसम्बन्ध राखे पनि बलात्कार  ठहरिनेछ ।

    पुरानो मुलुकी ऐनमा १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नमानिने व्यवस्था थियो । १६ वर्षभन्दा मुनिका किशोरीसँग मात्रै राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्ती करणी ठहरिने प्रावधान थियो ।

    नेपाली समाजमा १६ वर्ष कटेका किशोर किशोरीहरुले राजीखुशीमा यौनसम्बन्ध राख्ने क्रम बढिरहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । तर, नयाँ मुलुकी ऐनले समाजमा देखिएको यौनिक उदारतालाई केही कसिलो बनाउने प्रयास गरेको छ ।

    विवाहको हद २० वर्ष
    नयाँ पारिवारिक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ । तर, ऐनले राजीखुशीको यौनसम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ । यो वीचको ग्यापमा रहेको उमेर समूह (१८–२० वर्ष)ले आपसी सहमतिमा राख्ने यौनसम्बन्ध न बलात्कार ठहरिन्छ, न त त्यसले विवाहका रुपमा बैधानिकता नै पाउँछ ।

    शारिरीक सम्बन्धबाट बच्च जन्मिए विवाह ठहरिने
    नयाँ कानून संहिताले कुनै पुरुष र महिलावीचको शारीरिक सम्बन्धबाट सन्तान जन्मिए उनीहरुवीच विवाह भएको मानिने छ भनेको छ । त्यसैगरी लोग्ने वा श्रीमतीले परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राखेको प्रमाणित भएमा सम्बन्धविच्छेद गर्न पाउने प्रावाधान मुलुकी संहितामा छ ।

    एउटा सम्बन्ध कानुनी रुपमै नतोडी, अर्को विवाह गर्न बर्जित 
    नयाँ मुलुकी संहिताले विवाहसम्बन्धी मान्यता र कानूनमा पनि केही सुधार ल्याउने प्रयास गरेको छ । यसमा महिलाहरुलाई बढी अधिकार र सुरक्षा प्रदान गरिएको छ ।

    नयाँ कानूनले मञ्जुरीविना बिहे गर्न÷गराउन नहुने स्पष्ट पारेको छ । विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ भने उमेर नपुगी बिहे गर्ने र गराउनेलाई ३ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ ।

    २० वर्षभन्दा कम उमेरको विवाह बदर हुने उल्लेख गरिएको छ । यो प्रावधानअनुसार कसैले १८÷१९ वर्षकै उमेरमा प्रेम विवाह गरे भने उनीहरुलाई यो प्रावधानले विवाह बदर गराएर जेल हाल्न सक्छ ।

    पुरुषले कान्छी श्रीमती ल्याएमा त्यस्तो विवाह बदर हुने नयाँ कानूनले स्पष्ट गरेको छ । विगतमा तीन महिनाको हदम्याद कटाउने पुरुषहरु कान्छी श्रीमतीसँगै बस्न पाउँथे । तर, अब त्यसरी गरिएको बिहे बदर हुन्छ । जेठीसँग सम्बन्धविच्छेद नगरी दोस्रो बिहे गर्ने पुरुषले कान्छी श्रीमतीसँग बस्न पाउने छैनन् । महिलाले पनि पुरानो पतिसँग सम्बन्धविच्छेद नगरी नयाँ विहे गर्न पाउने छैनन् ।

    हाडनाता करणीमा के फेरियो ?
    कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग करणी लिनुदिनु हुँदैन ।

    नयाँ ऐनको यो प्रावधानले मामा फुपूका छोराछोरीबीच विहेबारी चल्ने जातीय समुदायलाई स्पष्टसँग छुट प्रदान गरेको छ । तर, पुरानो मुलुकी ऐनमा यसबारे प्रष्टसित उल्लेख गरिएको छैन ।

    अपराध संहितामा बाबुले छोरीलाई करणी गरेमा जन्मकैदको व्यवस्था गरिएको छ । यसअघि यही कसुरमा १० वर्षमात्रै कैद सजायको व्यवस्था थियो ।

    हाडनाता करणीमा नाता हेरेर ३ वर्षदेखि १० वर्ष कैद र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । पुरानो ऐनमा भन्दा केही सजायँ थप गरिएको छ ।

    पशु करणीमा सजाय दोब्बर
    पुरानो मुलुकी ऐनअनुसार पशु करणी गरेमा १ वर्ष कैद र ५ सय जरिवानाको व्यवस्था छ । गाईको करणी गरेमा २ वर्ष कैदको व्यवस्था पुरानो ऐनमा छ । त्यस्तै स्वास्नी मानिसले पशुमार्फत करणी गराएमा १ वर्षसम्म कैद र ५ सय जरिवाना पुरानो ऐनले तोकेको छ ।

    अपराध संहितामा भने गाईको करणी गरेमा २ वर्ष कैद र २० हजार जरिवानाको व्यवस्था गरिएको छ । गाईबाहेक अरु पशुको करणी गरेमा १ वर्ष कैद र १० हजार जरिवानाको व्यवस्था छ ।

    गाईको करणी गर्नेमाथि नयाँ कानूनले २० हजार जरिवाना थपेको छ भने अन्य पशुको करणी गर्नेलाई ९ हजार ५ सय जरिवाना थपिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…