• हेमराज गुरुङ उर्लाबारीका व्यापारी, व्यवसायी तथा सर्वसाधारणमा परिचित नाम हो । ताप्लेजुङको दोखुमा जन्मिएका गुरूङ २०४५ सालदेखि उर्लाबारीमा बसोबास गर्दै आउनुभएको छ । २०६६ सालदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आउनुभएका गुरुङ सोही समयदेखि उर्लाबारी उद्योग वाणिज्य संघमा आवद्ध हुनुहुन्छ । संघको वर्तमान कार्यसमिति सदस्य रहनुभएका उहाँ आगामी भदौ ११ गते हुने संघको निर्वाचनमा महासचिवपदको उम्मेद्वार बन्नुभएको छ । नेपाली काँग्रेस नेतृत्वको ४ दल सम्मिलित लोकतान्त्रिक गठबन्धनबाट महासचिव पदको उम्मेद्वार बन्नुभएका जुझारू, उर्जाशील, समाजसेवी युवा व्यवसायी गुरूङसँगको जम्काभेट

    वर्तमान कार्यसमितिमा हुनुहुन्छ, फेरि पनि तपाईको उम्मेद्वारी किन ? 
    आम व्यापारीको हकहितमा काम गर्ने बानी परिसकेकोले यो एउटा व्यापारिक प्लेटफर्म मात्र हो । सामाजिक काम गर्ने बानी परेको र संघमा रहेर आमूल परिवर्तन गर्ने अद्भुत चाहना जागेपछि यसपटक महासचिव पदमा उम्मेद्वार बनेको हुँ । मान्छेलाई सामाजिक प्रतिष्ठाको पनि आवश्यकता पर्दो रहेछ । यो ठाउँमा बसेर काम गर्दा समाजमा केही योगदान गर्न सकिन्छ की भन्ने मेरो अभिलाषा हो ।


    तपाईको व्यापारिक पृष्ठभूमि बताइदिनुहोस् न ? 
    म विगत १० बर्षदेखि व्यापार व्यवसायमा संलग्न छु । प्रारम्भमा उर्लाबारी–७ (तत्कालीन उर्लाबारी–४) मा पहिलो पटक मोवाइल पसल सञ्चालन गरेँ । अहिले उर्लाबारी–९ दुर्गापुरीमा तमु सुनचाँदी पसल सञ्चालन गर्दै आएको छु ।


    व्यापार बाहेक तपाईको संलग्नता केमा छ ? 
    धेरै संघसंस्थामा आवद्ध छु । तीन वर्ष भयो साविक राजघाटमा ‘राजघाट उज्यालो समाज’ संस्था हामीले गठन गरेका छौं । म त्यसको अध्यक्ष छु । संस्थाले सडक बत्ति जोडेर दुर्गापुरीलाई उज्यालो बनाएको छ । धेरै मठ मन्दिर, सहकारीलगायतमा आवद्ध छु । साथै, मैले धेरैतिर सहयोग गरेको÷गर्दै आएको छु । न्यानो अभियान उर्लाबारीलाई वार्षिक २० हजार न्यानो कपडा वितरण गर्न सहयोग गर्दै आएको छु । दुर्गापुरीको दुर्गा मन्दिरलाई सहयोग, समाजका विभिन्न क्षेत्र, रोगबाट पीडित, बाढी पीडित, विपद प्रभावितलाई सहयोग गरेको छु । उर्लाबारी जेसीज लगायतका संस्थामा पनि आवद्ध रहेको छु ।


    तपाईका चुनावी एजेण्डा चाहि“ के छन्, नि ? 
    योजनाहरु धेरै छन् । मेरो मात्र होइन, हाम्रो टिमले नै सामुहिक प्रतिबद्धता सार्वजनिक गरेका छौं । जसमा कोषतर्फ संघको मृतक राहत कोषलाई २५ हजार बनाउने, प्राकृतिक प्रकोप कोषलाई प्रकोपको प्रकृति अनुसार २० हजारदेखि ५० हजारसम्म प्रदान गर्ने, संघमा आवद्ध व्यवसायीहरुले संघको हल प्रयोग गर्दा २५ प्रतिशत छुटको व्यवस्था गर्ने हाम्रो योजना छ ।
    यस्तै, मिस म्याच, लेखा र अन्य कर सम्बन्धी सहयोगका लागि संघको तर्फबाट चार्टर एकाउण्टेन्ट नियुक्त गर्ने, उर्लाबारीमा आन्तरिक राजस्व कार्यालयको सेवा केन्द्र स्थापनाको पहल गर्ने, कृषि, उद्योग तथा व्यापारीलाई लगाइएको स्थानीय कर घटाउन पहल गर्ने, घर भाडालाई वैज्ञानिकरण गरी घर बहाल कर घरधनीले तिर्ने व्यवस्था गर्ने, महिला उद्यमी तथा व्यवसायीलाई सदस्यता शुल्क र नवीकरण शुल्कमा २५ प्रतिशत छुट गर्ने एजेण्डा हामीले लिएका छौं । अर्को कुरा दुर्गापुरीलाई उज्यालो बनाउँदाको अनुभव उर्लाबारीका अन्य क्षेत्रमा पनि ‘सेयर’ गर्न चाहन्छु । उर्लाबारीका विभिन्न स्थानमा सडक बत्ती र सीसी क्यामेरा राख्ने योजना छ । राति १० बजेसम्म बजार खुल्ने वातावरण बनाई चन्दा चिठ्ठालाई निरुत्साहित गर्ने योजना त छँदैछन् । कृषि, पर्यटन, उद्योग, व्यापारलगायतको विकासमा पनि धेरै योजना हाम्रो टिमले अघि सारेको छ ।
    यस्तै, संघको लेखा प्रणालीलाई सफ्टवेयरमा विकास गर्ने, व्यवसायीहरुलाई आवश्यकता अनुसार कर तथा विभिन्न विषयमा विशेषज्ञबाट तालिमको व्यवस्था गर्ने, अव्यवस्थित बजार र पार्किङलाई स्थानीय तहसँग समन्वय गरी व्यवस्थित गर्ने प्रतिबद्धता रहेको छ ।


    संघको चुनावमा मात्र व्यापारीको हकहितमा कुरा उठ्ने गरेको छ तर कार्यान्वयन पक्ष फितलो छ । के भन्नुहुन्छ ? 
    त्यस्तो विल्कुल होइन, स्वार्थका लागि होइन, सेवाका लागि संघमा जाने हो । व्यापारीको हकहितका लागि मैले व्यक्तिगत रुपमा आफ्नै खर्चमा धेरै काम गरेको छु । कतिपय कामहरु भएका छन् । यसपटक भने हामी अधुरा कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउन लागि पर्ने छौं ।
    व्यापारीहरुले तपाईलाई नै किन भोट दिने ?
    त्यो त व्यापारी साथीभाइहरुले नै भन्नु हुने छ । अर्कोकुरा माथि नै भनिसकें कि हामीले यो गर्छौ भनेर प्रतिबद्धता सार्वजनिक गरेका छौं । त्यो पुरा गर्न पनि मलाई मतदान गर्ने हो । यस्तै, जेसीज मार्फत नेतृत्व विकास गरेको तथा एउटा जुझारु युवा भएको नाताले मलाई व्यापारी साथीहरुले पत्याउँदै आउनुभएको छ । केन्द्रका अधिकार स्थानीय तहमा आएपछि उद्योग बाणिज्य संघको अभिभारा समेत बढेको छ । नगरपालिकासँग समन्वय गरेर धेरै कार्य गर्नु छ । यसको मर्यादा र गरिमा बढाउन, उर्लाबारी नगरीको इज्जत बढाउने मेरो मलाई भोट दिनुहुनेछ ।


    उद्योग बाणिज्य संघमा राजनीति हावी भएको हो ?
    मुलुकमा राजनीति नभएको कुनै पनि क्षेत्र छ जस्तो मलाई लाग्दैन । तर, उद्योग वाणिज्य संघ भनेको एउटा मर्यादित र व्यवसायिक संस्था पनि हो । यो ठूलो सञ्जालका रुपमा विकास भइरहेको छ । करिब १९ सय व्यापारी, व्यवसायी तथा उद्योगीहरु संघमा आवद्ध भएको हुँदा सबैले आ–आफ्नो हक र अधिकारका लागि आवाज उठाइरहेकै हुन्छन् । संघ एउटा छाता संगठन पनि भएको कारणले राजनीति बढी हावी भएको जस्तो बाहिर तपाईहरुले देखे पनि भित्र भने त्यस्तो छ जस्तो मलाई लाग्दैन ।

    र, अन्त्यमा ………… ?
    आम उर्लाबारी उद्योग बाणिज्य संघमा आवद्ध व्यापारीहरुलाई मेरो परिचय दिइरहनु आवश्यक छैन । म खुला किताब जस्तो पारदर्शी छु । मेरा सामाजिक कार्यहरु यहाँहरुले देखिसक्नुभएकै छ । यसपटक मलाई महासचिव पदमा सबै उद्योगी, व्यापारीहरुले साथ दिनु नै हुने छ भन्ने विश्वास लिएको छु ।
    प्रस्तुतिः नवराज भट्टराई

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…