• अहिले यस समाजमा धेरै संघ संस्थाहरु खुलेका छन । कतिपय संस्थाहरु काम भन्दा नि नाममा मात्र सिमित रहेका वेला यतिवेला रतुवामाईमा आरम्भ नाट्य डबली नामक संस्थाको उदय भएको छ । सो संस्थाले तिव्र गतिमा समाज रुपान्तरणका निमित्त कार्यहरु अगाडि बढाउदै जनचेतनामुलक कार्यहरु गर्दै समाजमा आफुलाई स्थापित गर्दै आएको छ । रतुवामाई नगरपालिकामै उत्कृष्ट र सबैभन्दा बढी कार्यक्रम दिन सफल यो संस्थाले यतिवेला १ वर्षको अवधिमै पुर्वका विभिन्न क्षेत्रहरुमा समेत गरिव असाय र उत्पिडितका लागि कार्य गरिसकेको हुनाले उक्त संस्थाले पुर्वकै नमुना संस्थाको रुपमा आफ्नो चिनारी बनाईसकेको छ । १३ सदस्यहरुबाट थालनी गरिएको यो संस्था अहिले ६० जना सदस्य प्राप्त गरिसकेको छ । झट्ट सुन्दा नाटक विधासंग सम्बधित जस्तो सुनिएपनि समाजिक क्षेत्रहरुमा पनि यो संस्थाले धेरै कार्यहरु गरिसकेको छ । यो सस्था यो उचाईसम्म आईपुग्न कारण तथा यसका भावि योजना र उदेश्य हरु लगाएत विविध विषयमा आरम्भ नाट्य डबली रतुवामाईका नबनिर्बाचित अध्यक्ष समिर सुवेदी संगको कुराकानी ।

    यो कस्तो संस्था हो कहिले र किन स्थापना गरियो ?

    यो संस्था हामीले २०७४ साउनमा स्थापना गरेका हौ । र संस्थालाई हामीले सबैको साझा चौतारीका रुपमा लिएका छौ र किन स्थापना गरियो भन्ने विषयमा थोरै प्रस्ट पार्न चाहन्छु । हामीले यो संस्था स्थापना गर्नुको मुख्य कारण समाजमा बढ्दै गएको युवा विकृति नियन्त्रण देखि लिएर समाजमा हुने गरेका विविध समस्याहरुलाई नाटकका माध्यमबाट जनचेतना जगाउदै समाज रुपान्तरणमा पनि युवा हरुले केही गरौं र आउने भावी पिडिहरुलाई पनि यसमा समावेश गराउदै सहि मार्गनिर्देशनमा डोर्याउदै लैजान सकौ भन्ने उदेश्य राखेका छौ । केही नयाँ नयाँ चिजको खोजिनिति गर्दै हाम्रो आरम्भ अब गरौं नयाँ शुभारम्भ भन्ने स्लोगन सहित हामीले यो संस्था आदरणिय अग्रज दाई प्रेम भण्डारी, महेन्द्र रेग्मी म लगाएतको एउटा टिमले अब समाजमा हामीले पनि केही गर्नुपर्छ भन्ने हेतुले स्थापना गरिएको हो ।

    संस्था स्थापना त भयो समाजमा स्थापित गराउन त्यति सहज त पक्कै हुदैन पहिलो पाईला हजुरहरुले कहा बाट सुरु गर्नु भयो ?

    हामीले संस्था स्थापना साउनमा गरेका थियौ र अब हामीले समाजमा केही गर्दै जानु पर्छ भन्ने हिसावले पहिलो पाईला भदौ को तिजविशेष कार्यक्रमबाट सुरु गरौ एउटा जनचेतनामुलक नाटक मञ्चन गरौं भन्ने निर्णय गर्यौ । हामीसंग कार्यक्रम गर्नका लागि बजेट थिएन । हामी शुन्य व्यालेन्समा थियौ । म सो संस्थाको नाम खुलाउन चाहन्न हामीले स्थानिय क्षेत्रमै रहेको संस्था संग कार्यक्रम गर्न भनेर समय मागेका थियौ । सुरुमा हामीलाई ४५ मिनेटको समय उपलब्ध गराईएको थियो । त्यसपछि नानि बाबुहरुले नाटकको रियलसोन सुरु गरिसकेका थिए । हामी लेखकको नामलाई लिएर स्थानिय क्षेत्रमै विवादित हुन पुग्यौ । मलाई जहा सम्म लाग्छ त्यहा व्याक्तिगत रिसिवि संस्थामा लगेर जोड्न खोजिएको थियो । हामीले वारम्बर अनुरोध पनि गर्यौ व्याक्तिगत रिसिवि संस्थामा त्यो पनि पवित्र देवस्थलमा लगेर जोड्नु हुदैन । अन्त्यमा हाम्रो टिमलाई समय अभाव देखाउदै त्यहा नाटक मञ्चन गर्न रोक लगाईयो । यो कुराले साना नानिहरु जो नाटक रियलसोनको अन्तिम चरणमा पुगेका थिए उनिहरुको अनुहारमा आएको निराशाको क्षण अझै पनि मेरो मानसपटलमा घुमिरहेका छन । त्यसपछि पनि हामीले हिम्मत हारेनौ केही गर्न भनेर लागिसकेपछि हरेस खानु हुदैन भन्ने सोचले प्रेम जी , म लगाएतको टिमले स्थानीय युवा व्यवसायि एवम् संघसंस्थाहरुसंग सरसल्लाह गर्यौ र उहाहरुले पनि हामीले गरेको कार्यहरुमा आर्थिक देखी लिएर हरेक क्षेत्रमा सहयोग पुर्याईदिनुभयो र केही रकम बजारका पसलहरुबाट संकलन गरेर हामीले सोही स्थानको सोमबारे बजारमा आफ्नै आयोजनामा पहिलो कार्यक्रम उल्लेखनिय दर्शकको उपस्थितिमा सफलतापुर्वक सम्पन्न गर्यौ । मलाई दुःख लाग्छ अझैपनि जहा एउटै स्थानमा हामीले दुईवटा कार्यक्रम गर्नुपर्ने स्थिति बन्यो र बनिरहेको छ ।

    पहिलो पाईला नि संघर्ष पुर्ण तरिकाले चाल्नु भयो अनि त्यसपछि अहिलेसम्म यो संस्थाले के के कार्यहरु गरिसकेको छ ? वृस्तृतमा वताईदिनुहोस न ।

    हामीलाई पहिलो गासमै ढुङ्गा लाग्यो । हामी फलामका चिउरा चपाउदै भएपनि अगाडि बढ्दै गयो । पहिलो कार्यक्रम विभिन्न चुनौतीका साथ संघर्षपुर्ण तरिकाले सम्पन्न गर्यौ । कार्यक्रम सबै दर्शकहरुले मन पराईदिनुभयो । चिया पसल देखी लिएर बजारका चोक चोकमा प्रसंसनिय शब्दहरु सुनिन थाले हामीमा अझ हौसला र जागर बढ्दै गयो । त्यसपश्चात हामीले सामाजिक क्षेत्रमा सार्वजानिक स्थलहरुमा सरसफाई कार्यक्रम गर्यौ, तिहार नजिकिदै आईरहेको थियो हामीले तिहारमा पनि आफ्नो संस्कृतिको जर्गेना गर्नुपर्छ भन्ने हेतुलाई देउसी भैलो कार्यक्रम गर्ने निर्णय गर्यौ र मेरै संयोजकत्वमा देउसी भैलो कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्यौ। हामीले सो कार्यक्रम बाट नगद रु ७०,००० जम्मा गरेका थियौ । र सो रकमले हामीले सार्वजानिक स्थानहरु बजारका मुख्य चोक, वडा कार्यलय , प्रहरी चौकी लगाएत विभिन्न स्थानमा सरसफाई डस्बिन राखेका थियौ साथै सोमबारेका दुई स्थानमा स्वागत धन्यवाद वोर्ड पनि राखेका छौ ।

    समुहले अहिले सम्म अन्य के कस्ता कार्यक्रमहरु गर्नुभयो ?

    हामीले उर्लाबारी वरडङ्गा सडक खण्डमा धेरै दुर्घटना हुने गरेका समाचारहरु बाहिरिन थाले । त्यसमा पनि हामीले केही जनचेतना जगाउन सक्छौ भन्ने हिसावले सविन भट्टराईको संयोजकत्वमा ट्राफिक प्रहरी दाम्राभिट्टा र प्रहरी चौकी भौडाहा संग समन्वय गर्दै केही विद्यालयहरुमा सडक दुर्घटना न्युनिकरण कार्यक्रम सम्पन्न गर्यौ । त्यसपछि जाडो बाट गरिब असाहय र अनाथहरुले अकालमै मृत्युवरण गर्नुपरेका खबरहरु समाचार मार्फत बाहिरिन थाले । हामीले तत्काल आपतकालिन मिटिङ राख्यौ र यसमा पनि हामीले सक्ने सहयोग गरौ भनेर ठाउठाउबाट, देशविदेशवाट आर्थिक तथा लत्ताकपडा संकलन गर्दै विङ्ग नेपाली लगाएत धेरै संस्था संग समन्वय गर्दै विराटनगरको हनुमानमन्दिर परिसरमा रहेको बस्तीमा १००० घर परिवारलाई लत्ताकपडा वितरण गर्यौ । त्यसपछि हामीले खबर पाएसम्म र देखेसम्म रतुवामाईका विभिन्न गरिब परिवारलाई पनि लत्ताकपडा वितरण गर्यौ । रतुवामाईको रत्नडिक प्रा.वि जहा पिछडिएका वर्गका नानीहरु पढ्ने गर्छन सोही विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई स्थानिय जनप्रतिनिधिको उपस्थितिमा स्वीटर वितरण गर्यौ । हाम्रा समाचारहरु गोरखापत्र जस्ता राष्ट्रिय स्तरका पत्रिकाहरुमा बाहिरिन थाले हामीलाई पनि समाजका लागि केही गरेछौं भन्ने आभास हुन थाल्यो विभिन्न संघ संस्थाहरुले हाम्रो खोजी गर्न थाले , संस्थामा सदस्यता लिने मानिसहरुको भिड लाग्न थाल्यो । केही समय सदस्यता खुल्ला गरेर हामीले सदस्यता वन्द गर्यौ र लगत्तै हामीले नव आगन्तुक सदस्य अन्तरक्रिया कार्यक्रम भनेर अन्तरक्रिया कार्यक्रम पनि राख्यौ । यसरी नै त्यसपछि हामीले हरि नेपालको संयोजकत्वमा कला साहित्यका क्षेत्रमा केही गर्नुपर्छ भन्ने हिसावले सम्पुर्ण निजि तथा सरकारी विद्यालयहरुबीच रतुवामाई भरिका माध्यमिक विद्यालय हरुलाई समेटेर रतुवामाई स्तरिय खुल्ला कविता गोष्टी रतुवामाई नगरपालिकाका मेयर रविन राईको उपस्थितिमा सर्वेश्वर शिवालय मन्दिरको सभाहलमा सम्पन्न गर्यौ । त्यसपछि देविस्थान सांगितिक जमघटमा रतुवामाई १० मा रहेको महेन्द्र मा. वि मा शिवरात्रिको समयमा जनचेतनामुलक नाटक दोष कस्को मञ्चन गर्यौ जहाँ राष्ट्रिय गायक प्रमोद खरेल र वरिष्ट संगितकार तथा रेडियो नेपालका प्रबन्ध निर्देशक टिका भण्डारीको उपस्थिति थियो । त्यसपश्चात चैत्रमा हामीले अवसरहरु आफ्नै गाउँमा भन्ने अभियानका साथ संस्थाका सदस्यहरुमा व्याक्तित्व विकाश होस भन्ने हेतुले चन्द्रसुर्य सिप विकाश संस्था दमक संघ समन्वय गर्दै राष्ट्रनिर्माण बोडिङ स्कुल परिसरमा १५ दिने उद्घोषण तालिम सम्पन्न गर्यौ र तालिममा समावेश हुने सम्पुर्णलाई सि. टि.इ.भि.टि मान्यताप्राप्त सार्टिफिकट पनि दिएका थियौ । लगत्तै धरानमा मञ्चन भईरहेको नाटक इङ्कङ हेर्नका साथै नाटकको तालिमका लागि सदस्यहरुलाई धरानमा लगेर तालिममा समावेश गरायौ । त्यसपश्चत मलद्ववारमा क्यासर भएकी दमककी जानुका परिजुली बचाउ अभियानमा पनि हामि विभिन्न फेसबुक ग्रुपहरुसंग समन्वय गर्दै उहाको उपचारमा केही आर्थिक सहयोग जुटादिएका थियौ । त्यतिमात्र होइन हामीले समाजमा रहेका आखाका रोगीहरु वृदवृदा लगाएतको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै समिन बरालको संयोजकत्वमा गत वैशाखमा मोरङ सुनसरी समाज संग समन्वय गरि रामलाल गोल्छा आखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा १ दिने निशुल्क आखा शिविर तथा औषधी वितरण कार्यक्रम सम्पन्न गर्यौ जहा २७५ जना आखाका रोगीहरुले आखा परिक्षण गरी लाभ लिनुभएको थियो भने २३ जनाको निशुल्क मोतियाविन्दुको शल्यक्रिया रामलाल गोल्छा आखा अस्पतालमा लगेर गरिएको थियो । यस्तै यस्तै कार्य गर्दै हामीले गत साउन १९ गते महेन्द्र मा.वि को सभाहलमा साधरणसभा गरि दोस्रो वर्षमा सफलतापुर्वक प्रवेश गर्न सफल भयौ ।

    आरम्भ नाट्य डबली रतुवामाई सरसफाई, स्वास्थ्य, दुर्घटना, जनचेतनामुलक कार्यक्रम, कला र साहित्य हरेक क्षेत्रमा अगाडि देखीएको छ यो यस संस्थाले गरेको कामबाट नि प्रष्ट भईसकेको छ । कार्यक्रम गर्न त्यति सहज हुदैननी आर्थिक पाटो कहाबाट जुटाउदै हुनुहुन्छ ?

    हरेक कुराका लागि पहिले आर्थीक नि आवश्यक हुन्छ । हामी सानोतिनो कार्य गर्नुपरेमा सदस्यहरुबाटै रकम संकलन गरेर काम गर्छौ। क्हिले विदेशी साथिहरुले सहयोग गरिदिनुहुन्छ त्यसबाटै कामहरु गर्छौै ।आवश्यक परेको खण्डमा विभिन्न सहयोगीबाट दानविर दाताहरु डोनरहरु खोज्ने गर्छौ । परिस्थिति कस्तो हुन्छ त्यही अनुसार सरसल्लाहबाटै अगाडि बढ्छौ ।

    सरकारी निकाय स्थानिय निकायहरुबाट अहिलेसम्म केही सहयोग प्राप्त गर्नुभयो कि छैन ?

    अहिलेसम्म त तेस्तो केही प्राप्त गरेका छैनौ तर मन्त्रालय, नगरपालिका, वडा कार्यलय देखि लिएर धेरै ठाउँबाट आश्वसन भने दिनुभएको छ आशा छ यस्तै कार्य गर्दै अगाडि जादैगर्दा सरकारी निकाय र स्थानिय निकायले पनि साथ र सहयोग भने पक्कै गर्नेछ हामी आशावादी छौ ।

    एक वर्षको अवधि भित्रै यति ठुलो सफलता प्राप्त गर्नुभयो र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा पनि स्थान पाउनुभएको छ यसको श्रैय कस्लाई दिनु हुन्छ ?

    सर्वप्रथम त म आदरणीय दाई प्रेम भण्डारी जो संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । पारिवारिक वाध्यता साथै देशको स्थितिले उहा अहिले यहाँ हुनुहुन्न मलाई कार्यवाहक सुम्पिएर वैदेशिक रोजगारीका क्रममा विदेशमा जानुभएको थियो । उहा लगाएत महेन्द्र रेग्मी , पुजन दास, विनोद श्रेष्ठ भाई नानु पौडेल, अर्पित नेपाल, म आदी लगाएतको एउटा टिमको सल्लाहले स्थापना गरियो र यसलाई अगाडि बढाउन भने संस्थाका सम्पुर्ण सदस्यहरु लगाएत पदाधिकारी, उत्तिकै भुमिका रह्यो । मलाई लाग्छ हामी सवै उत्तिकै जोश र जागरका साथ अगाडि बढेर काम नगरेको भए यो संस्थाले आज यो उचाई लिईने थिएन । त्यसकारण संस्थाका सम्पुर्ण पदाधिकारी देखी लिएर सामाजिक व्याक्तित्व, समाजसेवी महानुभावहरु सवैलाई म उत्तिकै श्रेय दिन चाहन्छु । एक हातले पक्कै तालि बज्दैन र समुन्द्र भनेको थोपा थोपा मिलेर मात्र हुने हो त्यसको लागि हामी सबै उत्तिकै हो जस्तो लाग्छ मलाई ।

    हाल तपाईले पुर्ण र्निविरोध रुपमा अध्यक्ष को जिम्वेवारी पाउनुभएको छ । तपाईको टिमले तपाईलाई विश्वास गरेर अध्यक्ष जस्तो गरिमामपद सुम्पिएको छ । तपाईले आफ्नो कार्यकालमा के के गर्ने योजना बनाउनुभएको छ ?

    सर्वप्रथम मैले भन्दापनि आरम्भ होल टिमले कार्य गर्नुपर्ने हुन्छ र योजना बनाएर अगाडि जानुपर्ने हुन्छ त्यसकारण हामीले तत्काल देखेको अहिलेको युवा शक्ति लागुऔषध दुव्र्यसनि तिर ढल्किदै गएको अवस्थामा हामीले जनचेतनामुलक कार्यक्रम गरेर हुन्छ या सडक नाटकका माध्यमबाट के गरेर उनीहरुलाई चेतना जगाउन सकिन्छ भन्ने कुरातर्फ आरम्भ होल टिमको ध्यान केन्द्रित छ र रतुवामाईको दक्षिणि भेग जहा मधेसी समुदायको वाहुल्यता बढी भएको अवस्था र जनचेतनाको कमी भएको आभास हाम्रो टिमले गरेको छ । रतुवामाई नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसक्दा पनि मानिसहरु अझै बाहिरै सौच गर्ने, चर्पीमा दिशापिसाव नगर्ने कार्यहरु हामीले सुन्दै आएका छौ र यसका लागि पनि हामी चाडै नि उनीहरुलाई के गरेर जनचेतना जगाउन सकिन्छ त्यसको लागि कार्य गर्नेछौ । र यस कार्य नियन्त्रणका लागि हामि चाडै सडक नाटक निर्माण गरेर सोही क्षेत्रहरुमा प्रस्तुत गर्ने योजना पनि बनाईरहेका छौ । यस्तै यस्तै समय सापेक्ष र समाज रुपान्तरणका लागि के गर्न सकिन्छ त्यस्तै कार्यक्रमहरु लिएर अगाडि बढ्नेछौ र हामी यो रतुवामाई नगरपालिकालाई आरम्भका माध्यमबाट चिनाउनेछौ ।

    तत्काल तिजविशेष कार्यक्रम वृहत रुपमा सम्पन्न गर्न लाग्नुभएका खबरहरु समाजिक संजालहरुमा व्यापक रुपमा आईरहेका छन यसको तयारी कसरी अगाडि बढाउदै हुनुहुन्छ ?

    हामी भदौ २७ गतेका दिन वृहत रुपमा सोमबारे बजारमा संस्कृतिको जर्गेन गर्ने साथै जनचेतना जगाउने हिसावले तिजविशेष कार्यक्रम तथा नाटक मञ्चन गर्न लागिरहेका छौ । अहिले तिज एउटा वृकृतिको रुपमा समाजमा भित्रिरहेको छ । महिनौ अघिदेखी तिजविशेष कार्यक्रम गर्ने प्रचलन देखिन थालिएको छ । हाम्रो समाज देखावटीपनले गर्दा पछाडी परिरहेको छ । दुई चार पैसा हुनेलाई महिनौ अघिदेखी तिज मनाउन फरक नपर्ला तर एउटा गरिव पनि समाजमा मिल्नकै लागी भएपनि, इज्जतकै लागि भएपनि उ हाउभाउ देखाउन वाध्य छ तेही कारणले यी कुराहरुलाई पनि समावेश गराउदै समाजमा केही जनचेतना जगाउ भन्ने उदेश्यले यो कार्यक्रम संचालन गर्न लागिरहेका छौ । र यसका लागि आदरणिय समाजसेवी दाई सुन्दर श्रेष्ठ ज्युले म कार्यक्रम सफल बनाउन सक्ने सहयोग गर्छु भनेर प्रतिवद्धता दिनुभएको छ त्यस्तै आदरणीय कृष्ण कार्की दाई जो अहिले जापानमा हुनुहुन्छ उहाले पनि हामीलाई १०,००० सहयोग गरिसक्नुभएको छ । रतुवामाई नगरपालिकाले विशेष सहयोगीको रुपमा आर्थिक सहयोग गने प्रतिवद्धता जनाईसकेको छ । बुलेट गाईज क्लबले सर्पोटेट बाईमा सहयोग गर्ने वचन दिईसक्नुभएको छ । हामीसंग १५ वटा अनलाईन तथा रेडियो मिडिया पार्टनरको रुपमा समचार सम्प्रेष्ण गरिराख्नुभएको छ त्यस्तै अन्य अन्य थुप्रै सहयोगीहरुले कार्यक्रम वृहत रुपमा संचालन गर्न सहयोग पुर्याउने वचन दिइसक्नुभएको छ त्यसकारणले यो वर्ष गत वर्षहरुभन्दा वृहत तरिकाबाट कार्यक्रम अगाडि बढाईरहेका छौ ।

    अन्त्यमा आफ्ना केही कुराहरु भन्न चाहानुहुन्छ ?

    खासै भन्नु पर्ने त केही छैन सुरुवाती दिनमा आफ्नै क्षेत्रमा एउटा स्टेज नपाएको आरम्भले आज सवैको साथ र सहयोग पाएको छ । विभिन्न क्षेत्रहरुका कार्यक्रममा आरम्भलाई तपाईहरुको नाटक ल्याईदिनुहोस भन्नुहुन्छ यो नि आरम्भ परिवारको लागी गौरवको कुरा हो र आगामी दिनमा पनि आरम्भ टिमले यस्तै कार्यहरुलाई निरन्तरता दिने छ । धेरै संघ संस्थाहरु नामका पछाडी दौडिरहेका हुन्छन तर आरम्भ ले नामका लागि भन्दा समाजका लागि काम गर्ने छ । यति कार्य गरिसक्दा नि आरम्भ को नाममा न त कुनै भौतिक सामाग्री नि छन न त एउटा साउण्ड सिस्टम नि । त्यसैले सवैलाई विश्वास दिलाउन चाहन्छु यदि कोही महानुभावहरु हाम्रो संस्थामा रुची राख्नुहुन्छ , सामाजिक क्षेत्रमा काम गर्ने ईच्छा छ , नाट्य विधामा राम्रो अभिनय गर्न सक्नुहुन्छ भने संस्थाले निर्धारण गरेको नियम र कार्यक्षेत्रभित्र रहेको हामीसंग हातेमालो गर्दै संस्थाले सदस्यता खुल्ला गरेको समयमा सदस्य वनेर कार्य गर्न सक्ने कुरा पनि जानकारी गराउदछु र अन्त्यमा यदि कोही सहयोग हातहरु सहयोग गर्न चाहनुहुन्छ भने पनि हामी तपाईहरुको हिसावकिताव पारदर्शी तरिकाले देखाउदै तपाईहरुको सहयोगलाई सामाजिक क्षेत्रमा नि लगानी गर्ने कुरा जानकारी गरादछु ।

    पथरी अनलाईनबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…