• बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ ।

    रुकुम (पूर्व) र (पश्चिम)का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम पश्चिम को आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ ।

    रुकुम पूर्वको सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई सय रुपैयाँ कर तोकेको छ । दुवै जिल्लाका सबै स्थानीय तहले यो शीर्षकमा धेरथोर कर तोकेका छन् ।

    हो, कुनै नागरिक बेपत्ता भएको छ र जीवित छु भन्दै फर्किएमा प्रमाणित गर्न गाउँपालिकालाई शुल्क बुझाउनुपर्छ,’ सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले नयाँ पत्रिकासँग भनिन् ।




    गरिब भएको प्रमाण लिन पनि कर
    सर्वसाधारणले आफू गरिब भएको प्रमाणित गर्न पनि स्थानीय तहलाई कर बुझाउनुपर्ने भएको छ । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले गरिब प्रमाणित शीर्षकमा २५ रुपैयाँ कर तोकेको छ । त्यस्तै विवाह दर्ता गर्न मात्र होइन, विवाहित र अविवाहित पुष्टि गर्न पनि कर तिर्नुपर्ने व्यवस्था यहाँका स्थानीय तहहरूले गरेका छन् । यो शीर्षकमा आठबिसकोट र चौरजहारी नगरपालिकाले एक हजार तथा सिस्ने गाउँपालिकाले दुई सय शुल्क तोकेका छन् ।

    मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्नेले डेढ सय कर बुझाउनुपर्छ । नगरपालिकाले पशु करलगायत विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ ।

    मेहदी लगाउनेलाई दैनिक १० रुपैयाँ कर
    मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहदी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ ।

    विद्यार्थीलाई मासिक २५ रुपैयाँ फोहोर कर
    बुटवल उपमहानगरपालिकाले घरबेटीसँग मात्रै होइन, भाडामा बस्ने विद्यार्थीसँग पनि फोहोर कर असुल्न थालेको छ । विगतमा एक घरबाट मासिक सय रुपैयाँ उठाउँदै आएकोमा यसपटकदेखि प्रतिभान्सा पचास रुपैयाँ लिन थालेको छ । विद्यार्थीका लागि भने २५ रुपैयाँ तोकिएको छ ।

    घाटा लागेको व्यवसाय बन्द गर्न १० हजार
    मोरङको विराटनगर महानगरपालिकाले व्यवसाय बन्द भएको सिफारिसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ । यस्तै, बिजुली तथा टेलिफोन सिफारिसको पनि ५ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

    फिल्म सुटिङ गर्न दिनको एक हजार
    तनहुँको बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा फिल्म तथा म्युजिक भिडियो सुटिङ गर्नेलाई दिनको एक हजार रुपैयाँ कर तोकेको छ । बजार क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गरे पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ । प्याराग्लाइडिङ उडाएको एक हजार कर तोकेको छ ।

    घरको तलाअनुसार कर
    यसअघि घरजग्गा मूल्यांकनका आधारमा एकीकृत सम्पत्ति कर तिर्दै आएका दाङको घोराही उपमहानगरपालिकाका नागरिकलाई अब घर र घर बनेको जग्गाको छुट्टाछुट्टै कर लागेको छ । प्रतिवर्गफिट डेढदेखि चार रुपैयाँसम्म सम्पत्ति कर कायम गरिएको छ । र, जग्गाको पनि प्रतिवर्गफिट चार रुपैयाँ बेग्लै तिर्नुपर्छ । बजार क्षेत्रमा एक तला घरको करिब आठ हजार रुपैयाँ वार्षिक सम्पत्ति कर पर्न आउँछ ।

    घरको तला थपिए वर्गफिटअनुसार कर थपिँदै जान्छ । तुलसीपुर उपमहानगरपालिकामा पनि घर र जग्गाको छुट्टाछुट्टै कर छ । तर, घरका कोठाअनुसार कर तिर्नुपर्ने नियम बनाइएको छ । घोराही उपमहानगरपालिकाकी उपप्रमुख तथा कर निर्धारण समितिकी संयोजक सीता न्यौपाने भने कर बढाएको नभई करको दायरा बढाएको दाबी गर्छिन् ।



    अंग्रेजी सिफारिस शुल्क ५ सय
    तेह्रथुमको म्याङलुङ नगरपालिकाले अंग्रेजी भाषामा दिने सबै प्रकारका सिफारिसमा ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । यस्तै, सम्बन्धविच्छेद मुद्दा दर्ता ५ सय, नागरिकता प्रमाणपत्र सिफारिस १ सय, सर्जिमिन सिफारिस २ सय, प्रतिलिपिका लागि सिफारिस २ सय, अंगीकृत नागरिकता र वैवाहिक अंगीकृत नागरिकताका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । पशु र कृषि बिमा तथा स्वास्थ्य बिमा सिफारिसका लागि १ सय रुपैयाँ र आगलागी राहत माग निवेदनका लागि १ सय रुपैयाँ लिने निर्णय गरेको छ । यस्ता करबाट चालू आर्थिक वर्षमा ६५ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।

    आफ्नै बारीको रुख काट्दा दुई सय कर
    पाँचथरको कुम्मायक गाउँपालिकाले नागरिकलाई आफ्नै बारीको रुख काट्दा प्रतिरुख दुई सयका दरले कर तोकेको छ । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कमल भटराईले रुख काट्न निरुत्साहित गर्न यस्तो नियम राखिएको बताए । यही शीर्षकमा गतवर्ष चार लाख रुपैयाँ संकलन भएको थियो । यस्तै, जाजरकोटको भेरी नगरपालिकाले रुखको हाँगा काट्ने सिफारिसका लागि ५ सय रुपैयाँ कर तोकेको छ ।

    जन्म, मृत्यु र विवाह दर्ता, प्रमाणित कर १२ गुणा वृद्धि
    जाजरकोटको भेरी नगरपालिकाले २५ रुपैयाँमा हुँदै आएको जन्म, मृत्यु र विवाह दर्ता/प्रमाणित करको दर बढाएर तीन सय रुपैयाँ पु-याएको छ । नामथर तथा जन्ममिति संशोधन सिफारिसमा पनि उही दर तोकेको छ ।

    यसैगरी, बसोवास प्रमाणित र घरको चारकिल्ला प्रमाणित गरेको एक–एक हजार तोकिएको छ ।
    तर, जनताको ढाड सेक्ने गरी कर लगाएको नगरपालिकाले गत आर्थिक वर्षमा दैनिक भ्रमण भत्तामा २० लाख र इन्धनमा साढे ६ लाख रुपैयाँ खर्च गरेको छ ।

    डिजेल–पेट्रोलमा कर
    इलाम नगरपालिकाले पेट्रोल र डिजेलमा ५० पैसा प्रतिलिटरका दरले प्रदूषण कर लिन सुरु गरेको छ । नगर सभाबाट डिजेल र पेट्रोलमा एक रुपैयाँ कर लगाउने निर्णय गरेको भए पनि पहिलो वर्ष ५० पैसा मात्रै कर लिइएको नगर प्रमुख महेश बस्नेतले बताए । प्रदूषण करबापत २५ लाख रुपैयाँ उठाउने नगरपालिकाको लक्ष्य छ । नगर क्षेत्रभित्र दुईवटा पेट्रोलपम्प छन् ।

    क्यारेमबोर्ड खेलाउनेलाई वार्षिक हजार
    मोरङका स्थानीय तहले गल्लीका पसल–पसलमा कर तोेकेका छन् । मिक्लाजुङ गाउँपालिकामा क्यारेमबोर्ड खेलाउने पसलले वार्षिक एक हजार कर तिर्नुपर्ने भएको छ । ग्रामथान गाउँपालिले हाटबजारमा खसी र सुँगुर काटेर बेच्नेलाई प्रतिदिन तीन सय र कुखुरा बेच्नेलाई एक सय कर तोकेको छ ।




सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…