• गाईघाट, उदयपुर, भदौ १ गते । गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ ।

    सात वर्ष अघिसम्म पनि जिल्लाको मध्य पहाडी क्षेत्रको जाँते, लाफागाउँ, बलाम्ता, खाँबु, साउने तथा इनामे भुटारजस्ता गाउँमा लोकप्रिय रहेको जाँतो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसँगै पूर्ण विस्थापित भएको सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा बताउँछन् ।

    इनामेमा आजभन्दा सात वर्षअघिसम्म स्थानीय यारीखोलामा सञ्चालन हुँदै आएको पानीघट्ट अहिले पूर्णरुपमा बन्द हुन पुगेपछि पानीघट्ट लथालिङ अवस्थामा रहेको ताप्ली गाउँपालिका–४ का ७० वर्षीय कृष्णमान तामाङ बताउनुहुन्छ । तामाङ भन्नुहुन्छ, “पहिलापहिला गाउँमा बिजुली नआउँदा र मिल स्थापना नहुँदा यारीखोलाको पानी घट्टमा वल्लोपल्लो गाउँका गाउँले धान कुटाउन कोदो मकै पिसाउनेको ओइरो नै लाग्थ्यो, अब घट्ट भत्किदै गइसक्यो, यो क्षेत्र सुनसान बन्न पुगेको छ, सबै आफ्नै टोलटोलमा नयाँ प्रविधिको मिल सञ्चालन गरेर धान, कोदो र मकै पिस्छन् ।”

    उदयपुर लिमचुङबुङ बराहका ६८ वर्षीय होमप्रसाद बराल हिजोआज गाउँमा ढिकी र जाँतो विस्थापित हुन पुगेकामा निकै चिन्तित बन्न पुगेका छन् । बराल भन्नुहुन्छ, “विगतमा गाउँघरमा ढिकी, जाँतो चल्दा र ढिकी, जातोको आवाज आउँदा पनि गाउँघर रमाइलो हुन्थ्यो, तर अहिले गाउँमा ढिकी घर भत्किसके, जाँतो उखेलिएर फालिसके, अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुँदा गाउँ नै सुनसान हुन पुगेको छ ।”

    गाउँमा दशैँ, तिहारको समयमा र विवाहलगायत विभिन्न कार्य हुँदा ढिकीमा च्यूरा तथा धान कुट्ने कार्यले गाउँ नै रमाइलो हुने गथ्र्यो । आज नयाँ प्रविधिको कारण पुराना प्रविधि विस्थापित भएपछि गाउँघर नै सुनसान हुन पुगेको जाँतेका ६० वर्षीय चन्द्रकला राईको धारणा छ ।

    आजभन्दा सात वर्षअघिसम्म जिल्लाको मध्यपहाडी र पूर्वीपहाडी क्षेत्रमा धेरै स्थानीय बासिन्दा ढिकी र जाँतो नै प्रयोग गरेर धान कुट्ने मकै तथा कोदो पिस्ने गरे पनि अब नयाँ प्रविधिले गर्दा हिजोका ढिकी र जाँतो विस्तारै इतिहास बन्न पुगेको जनता उच्च मावि जाँतेका प्राचार्य पुष्पराज राई बताउनुहुन्छ ।

    साउने खाँबुका डिकबहादुर मगर भन्छन्, “आफूहरुको गाउँमा त १२ वर्षदेखि नै मिलमा धान कुटाउने र मकै तथा कोदो पिस्ने गर्दै आएका छौँ, नयाँ प्रविधिको आगमन र युवतीहरुमा अध्ययन गर्ने क्रम बढेसँगै ढिकी, जाँतो चलाउन छाडिएको छ ।” गाउँगाउँमा बिजुली विस्तार भएको र विद्युत् नपुगेको स्थानमा पनि मिल स्थापना गरेर इन्धनबाट मिल चलाउने प्रविधि आएपछि अब जिल्लाको पहाडी क्षेत्रमा पुराना प्रविधि विस्तारै विस्थापित हुँदै गएको गाउँलेहरु बताउँछन् ।

    कतिपय गाउँलेका घरमा अहिले पनि पुराना जाँतो र ढिकी रहे पनि प्रयोगमा ल्याउन छाडेका कारण अब यसको प्रचलन नै हराउन थालेको आँपटार रौता उच्च माविका प्राचार्य महेन्द्र राउतको भनाइ छ ।

    दश वर्षअघिसम्म जिल्लाको पहाडी क्षेत्रमा घरघर र गाउँगाउँमा सञ्चालन हुने ढिकी, पानीघट्ट र जाँतो अब विस्तारै इतिहास बन्न थालेको यस क्षेत्रका पढे लेखेका विज्ञहरु बताउँछन् । अन्नबाली ढिकी, जाँतो र घट्टमा कुटानी पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि यी परम्परागत प्रविधिको संरक्षण गर्न आवश्यक देखिन्छ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…