उर्लाबारी, १ भदौ ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जनताबाट संकलन गरिएको करलाई जनताकै हितमा प्रयोग गरिने बताउनुभएको छ । जनताबाट संकलन गरिएको करमाथि कहिल्यै भ्रष्टचार हुन नदिने उहाँले बताउनुभयो ।
उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा आज आयोजित मोरङ खुद्रा व्यापार संघको १३ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै फागोले सो कुरा बताउनुभएको हो । नगरपालिकाले समूचित तरिकाले कर निर्धारण गरेको उल्लेख गर्दै फागोले त्यसलाई नगरको विकास र नगरवासीको हितमा सदुपयोग गरिने बताउनुभयो । नगरपालिकाले तय गरेको करलाई आवश्यक परे छलफल गरेर संशोधन गरिने र नगर क्षेत्रको विकासका लागि वाणिज्य संघसँग समन्वय गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
उर्लाबारी–५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले उद्योग वाणिज्य संघका पदाधिकारीले जनप्रतिधिलाई अपहेलना गरेको आरोप लगाउनुभयो । उहाँले वाणिज्य संघले व्यापारिक हितका काम गर्न नसकेको ठोकुवा गर्नुभयो । उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ले आफूलाई ढाँट्न र छल्न नआउने स्पष्ट पार्नुभयो । भट्टराईले आफ्नो कार्यकालमा व्यापारीहरुको हकहितमा महत्वपूर्ण कार्य गरेको दाबी समेत गर्नुभयो ।
मोरङ सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रितम खड्गीले वाणिज्य संघ र खुद्रा व्यापार संघ बीच नङ र मासुको सम्बन्ध रहेकाले आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
संघका अध्यक्ष ओमप्रसाद लिम्बुको अध्यक्षतामा भएको सो सभामा उद्योग वाणिज्य संघका पूर्व महासचिव विनोद न्यौपानेले पनि बोल्नुभएको थियो । सभामा खुद्रा व्यापार संघका उपाध्यक्ष नेत्र आपागाईले स्वागत मन्तब्य राख्नुभएको थियो ।