कानेपोखरी ५ भदौ । मोरङको कानेपोखरी–३ का देवेन्द्र लुइटेलले आफ्नो गाउँका अल्पसङ्ख्यक मुस्लिम दाजुभाइ, दिदीबहिनीहरूलाई सामूहिक रुपमा बकर ईद मनाउन ६३ हजार १३५ रुपियाँ सहयोग गर्नु भएको छ ।
मुस्लिम समूदायका अति विपन्न परिवारका लागि उहाँले यो सहयोग गर्नु भएको हो । रङ्गेली–८ का ऐनुल चुरौटेलाई ३३ हजार ७ सय र कानेपोखरी–३ का साजिद मियालाई ३० हजार १३५ रुपियाँ बकर ईद मनाउन खर्च दिएको सामाजिक अभियन्ता देवेन्द्र लुइटेलले बताउनु भयो । वकर ईदमा सक्नेले एउटा चौपाय घर मै हलाल गरेर तीन भाग लगाई खाने चलन छ । एक भाग आफैं,एक भाग छिमेकीलाई पकाएर खुवाउने चलन छ भने अर्को भाग काँचै प्रसादको रुपमा बाढ्ने चलन छ । तर, अत्यन्तै कमजोर आर्थिक अवस्थाका मुस्लिमहरू सामूहिक रुपमा चौपाय हलाल गर्ने गर्छन् ।
ऐनुल चुरौटेले भन्नुभयो–‘हामी ३३ घर भएर सामूहिक रुपमा बकर ईद मनाउँछौं । चौपाय हलाल गर्नु पर्ने संस्कृति जीवित राख्नु पर्ने भएकोले सामूहिक रुपमा पर्व मनाएका हौं ।
यस्तै कानेपोखरी ३ मा समेत ३२ घर अल्पसङ्ख्यक मुस्लिम धर्मावलम्वी रहेका छन् । उनीहरू पनि सामूहिक रुपमा चौपाय हलाल गरी बकर ईद मनाउने भएका छन् । कानेपोखरी ३ का साजिद मियाले भन्नुभयो–‘सक्नेहरू पहिलो दिन बुधबार नै चौपायको हलाल गर्छन् । तीन दिन मनाइने बकर ईदको अन्तिम दिन सामूहिक रुपमा हलाल गर्ने चलन छ । साथी भाइको सहयोगमा प्राप्त चौपायको भने अन्तिम दिन हलाल गरेर प्रसादका रुपमा बाढ्छौं । साजिदले भन्नुभयो ।