उर्लाबारी, ७ भदौ ।उर्लाबारी नगरपालिकाको सहयोगमा बिहीबार यु युथ्स अफ उर्लाबारीले लागू औषधविरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समाजमा लागू औषध प्रयोगकर्ताको संख्यामा कमि ल्याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित सो कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना, जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीका अध्यक्ष सागर राई र इन्द्र ओलीले सहजीकरण गर्नुभएको थियो ।
यु युथ्स अफ उर्लाबारीका अध्यक्ष रमन शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक ओली र सहयोगदाता ममता राना मगरलाई सम्मान गरिएको थियो । उनीहरुलाई उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सम्मान पत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा मोरङ मोडल कलेज तथा स्कुल, सप्तकोशी इङ्गलिस बोर्डिङ स्कुल, राधिका मावि, सुनपकुवा मावि, सुनगाभा इङ्गलिस बोर्डिङ स्कुल र नेपाल दर्शन कलेजका विद्यार्थीहरुको सहभागिता रहेको यु युथ्स अफ उर्लाबारीका उपाध्यक्ष प्रेमराज शर्माले जानकारी दिनुभयो ।