उर्लाबारी ६ भदौ । मोरङको उर्लाबारी–६ स्थित एचकेआर इण्डष्ट्रिजद्वारा उत्पादित ओजन ब्राण्डको पिउने पानी बुधबार देखि पुन बजारमा पाइन थालेको छ । ६७ दिन अघि जेठ मसान्तको दिन क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यलयले उद्योग मापदण्ड विपरित सञ्चालन भएको भन्दै उद्योग शिल गरेको थियो ।
क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेपछि ब्यापारका लागि बुधबार देखि पानी बजारमा गएको हो ।ओजन पानी प्रविधियुक्त फिल्टरबाट प्रशोधन गर्न थालिएको उद्योगका सञ्चालक धु्रवचन्द्र पराजुलीले बताउनु भयो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागो ,क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यलय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्याल,वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल र प्रशोधित पानी उद्योग महासङ्घका केन्द्रीय सदस्य पदमबहादुर राउतको उपस्थितिमा उद्योग पुन सञ्चालनमा ल्याइएको हो । खाद्य निरीक्षक अर्यालले नै ६७ दिन अघि उद्योग शिल गर्नु भएको थियो ।
सरकारी मापदण्ड पु¥याएर उद्योग पुन सञ्चालन हुनु नगरवासीका लागि खुशीको कुरा भएको भन्दै नगर प्रमुख फागोले आग्रह पूर्वाग्रहका आधार भन्दा गुण र दोषका आधारमा उद्योगी ब्यापारीलाई कारवाही गर्नु पर्ने बताउनु भयो । उहाँले उद्योगको क्षमता बढाएर अझ बढी रोजगार सिर्जना गर्न उद्योग सञ्चालकलाई आग्रह गर्नुभयो । नगर प्रमुख फागोले आगामी दिनमा सम्बन्धित वडाको वडाध्यक्षलाई जानकारी दिएर मात्र कारवाही र शिलबन्दी गर्न क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यलयलाई अनुरोध गर्नुभयो ।
क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यलय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले उद्योगबाट उत्पादित पानीमा कुनै समस्या नदेखिएको बताउनु भयो । अर्यालले विगतमा पनि पानीमा कोलिफर्म वा कुनै अखाद्य वस्तु नभेटिएको बताउनु भयो । अर्यालले भन्नुभयो–उद्योगको मापदण्ड नपुगेको मात्र हो । पानी पिउन योग्य छ । अब निर्धक पिउँदा हुन्छ ,उहाँले भन्नुभयो ।
उद्योगका सञ्चालक नीलराज लुइटेलले २ महिना उद्योग बन्द हुँदा ८ जना कामदार वेरोजगार भएको बताउनु भयो । उर्लाबारीकोे एकमात्र पानी उद्योग एचकेआर इण्डष्ट्रिजले उद्योगमा थप ७ लाख लगानी गरी उद्योगलाई अत्याधुनिक प्रविधिको बनाएको छ । ट्याङ्की, पाइप , फिल्टर सबै स्टिलका जडान गरिएको छ भने पानी भर्ने कोठालाई सुविधा सम्पन्न र सफा पारिएको छ ।
[caption id="attachment_24206" align="alignright" width="3264"] All-focus[/caption]