२०५२ साल जेठ १ गते काभ्रे जिल्लामा जन्मिएका पत्रकार श्यामहरि शिवभक्ति बेला बखत चर्चा र विवादमा आइरहने एक पात्र हुन् । १८ वर्ष देखि रेडियोमा बोल्न सुरु गरेर सञ्चारकर्ममा होमिएका उनी नेता देखि कलाकारसम्मको हुबहु आवाज निकाल्न पनि सक्दछन् । क्यारिकेचर उनको अर्को विशेषता हो । जस कारण पनि उनी रेडियोमा रहदा लोकप्रिय रहे । हास्य कार्यक्रम चलाउदा थुप्रै लेडिज श्रोता उनका फ्यान बन्न पुगे । काठमाडौंका विभिन्न रेडियोमा काम गरेपछि उनले अनलाइन मिडिया सुरु गरे । विगत डेढ वर्षदेखि उनले फिल्मीकुरा टिभी सञ्चालन गर्दै आइरहेका छन् । त्यसो त अनलाइन पत्रिका फिल्मीकुरा डटकमका उनी सम्पादक समेत हुन् । सगरमाथा टेलिभिजनबाट साप्तािहक रुपमा प्रसारणमा आउने फिल्मी कार्यक्रम ‘मूभि एक्सप्रेस’ मा उनले स्क्रिप्ट लेख्ने र भ्वाइस ओभर गर्ने काम पनि गर्छन् । प्रस्तुत छ पत्रकार शिवभक्तिसँग गरिएको कुराकानी-
तपाई कहाँ जन्मीनुुभयो ?
काभ्रे जिल्ला नमोबुद्ध नगरपालिकामा मेरो जन्म भएको हो ।
कस्तो परिवारमा ?
मध्यम परिवार । खासगरि भन्नु पर्दा किसान परिवारमा म जन्मे हुर्केको हुँ ।
बाल्यकाल कसरी बित्यो ?
घास काट्दै, हलो जोत्दै अझ भन्नु पर्दा गाईबस्तु चराउँदै । अनि त्यो भन्दा बढी अध्ययनलाई जोड दिदै । बाल्यकालमा म निकै चलाख चतुरो थिए । विद्यालयको अतिरिक्त क्रियाकलापमा भाग लिन्थे । साथै म विद्यालयमा पहिलो दोस्रो भइराख्थे । साँस्कृतिक कार्यक्रम पर्दा मलाई नै सम्झिने गर्थे गाउका अन्य व्यक्ति समेत । मादल राम्रो बजाउने अर्को कलाका कारण मलाई धेरैले निकै माया गर्थे ।
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
एसएलसी पश्चात मैले नाटक लेखन सुरु गरे । तर त्यो कुनै व्यवसायिक ढङ्गबाट सुरु गरिएको थिएन । ‘मेलमिलाप’ शीर्षकको उक्त नाटक दशैको अवसर पारी गाउँ मै एक भव्य सांस्कृतिक कार्यक्रमको बीच मञ्चन गरिएको थियो । प्रत्येक वर्षको वडा दशैमा मेरै संयोजकत्वमा नाटक देखाउने परम्परा नै बन्यो । नाटकको लेखन, निर्देशन र प्रमुख कलाकारको भूमिका वहन गरेपछि धेरैले मलाई हौसला दिए । कलाकार बन्नुपर्छ भने । म चाहि सञ्चार माध्यममा लागेर कलाकार बन्ने सोचमा थिए । काभ्रे कै सामुदायिक रेडियोमा एक बाल कार्यक्रम आउने गथ्र्यो । जून कार्यक्रममा मैले चुट्किला, कविता लगायतका सिर्जना पठाउने गर्थे । उक्त सिर्जना उत्कृष्ट ठहरिएर रेडियोले मलाई अन्तर्वार्ताको लागि बोलायो । पहिलो चोटी रेडियोमा अन्तर्वार्ता दिए । तर ज्यादा डर थियो । अकमकिएरै प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिए । जून अन्तर्वार्ता रेडियोमा प्रसारण भयो । गाँउका धेरैले मेरो अन्तर्वार्ता रेडियोमा सुने । त्यस पश्चात मलाई नियमित रेडियोमा बोले हुन्छनी भन्दै उक्साए । मलाई पनि भित्र भित्रै उर्जा मिल्यो । यसरी प्लस टु पश्चात मैले रेडियो यात्रा सुरु गरे । काठमाडौंको कोटेश्वरमा रहेको नवज्योति एफएममा मैले न्यूज सेक्सनबाट सञ्चार यात्रा अगाडि बढाएको हुँ । यो २०७० सालको कुरा हो ।
सञ्चारकर्मी बाहेक अरु केही बन्ने सपना थियो की ?
सञ्चारकर्मी बाहेक त कलाकार नै हो । हास्यकलाकार हुने ठूलो सपना संगालेको थिए । बाल्यकालमा टेलिभिजनमा ‘हरिबहादुर मदनबहादुर’ हेर्दा यस्तै कलाकार बनेर देखाउछु भन्ने सोच्थे । अनि विद्यालय र गाउमा सबैलाई क्यारिकेचर गरेर सुनाउँदै हिड्थे ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
आज म जहाँ छु त्यहाँ मेरै संघर्ष र कर्मको कारण छु । जून क्षेत्रमा म छु मेरो परिवार मात्र हैन छिमेकी समेत आबद्ध छैनन् । सुरुवाती समयमा ट्यालेन्टलाई कतिले कदर गरेनन् । तर पनि मैले कति हरेस खाइन । निरन्तरको प्रयासले गर्दा आज यो स्थानमा छु । अझ हिजोको दिनमा ज्यादा हन्डर र ठक्कर खाएको भए यो भन्दा माथि पुग्थे कि जस्तो लाग्छ ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
निकै संघर्ष तर म त्यसलाई दुःख चाहि भन्दिन । त्यो एउटा प्रोसेस थियो । जुन प्रक्रियालाई मैले सधै मिहेनत पूर्वक नै लिए । सधै सिक्न नै खोजे । नजानेको कुरा प्रति मैले सधै चासो दिएर सिक्नुपर्छ भन्ने सोच बनाए । सकारात्मक सोच कै कारण ५ वर्षको सञ्चार यात्रामा मैले निकै स्थापित र विशिष्ट कलाकारको निर्धक्क भएर अन्तर्वार्ता गर्न सकेको छु । रेडियोको थोरै अनुभव सेयर गर्नुपर्दा राजेश हमाल, नीर शाह, रमेश बुढाथोकी, विपना थापा, करिष्मा मानन्धरले मलाई अन्तर्वार्ताको अन्त्यमा प्रस्तुतिकरण र प्रश्न गर्ने तरिका राम्रो लाग्यो भनेर निकै तारिफ गर्नु भएको पल सम्झन्छु । रेडियोमा लागेको तीन वर्ष मै मैले करिष्मा मानन्धरलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वर निकालेर अन्तर्वार्ता गरेको थिए । जतिबेला करिष्मा भर्खरै पार्टी प्रवेश गर्नुभएको थियो । ‘ब्रेकफेल’ नामको कमेडी कार्यक्रममा मैले रेडियोको लागि लिएको उक्त अन्तर्वार्तामा करिष्माले यति इन्जोए लिनु भयो कि कार्यक्रम सकिएपछि उहाँले खुलेर प्रशंशा नै गर्नुभयो । नीर शाहको चाहि घरमै गएर अन्तर्वार्ता गरेको थिए । पछि छुट्टिने बेला उहाँको क्यारिकेचर गरेर सुनाए । त्यसपछि नीर दाईले कर्म गर्न नछोड्नु भविष्य उज्वल छ भन्दै धाप मार्नुभयो । मेरो खुसीको सिमै थिएन त्यतिबेला । यस्ता धेरै घटना छन् जसले मलाई सदैव प्रेरणा र उर्जा प्रदान गरेको छ ।
आफ्नै नजरमा श्यामहरी के हो र को हो ?
मेरै नजरमा श्यामहरि एक असल नागरिक हो । झुटलाई झुट र सत्यलाई सत्य हो भन्न पछि नपर्ने । मिहेनत र परिश्रमलाई सधै आत्मसाथ गर्ने एक व्यक्ति जो अरुको लहै लहैमा लागेर डिसिजन लिने गर्दैन । कर्म गर्छ फलको आशा गर्दैन । सकारात्मक सोच लिएर रचानात्मक कार्य गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हो श्यामहरि ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
कर्मशील, मिहेनती र परिश्रमी हो भनेरे चिनिदिए पुग्छ । मेरो नामको अघि ट्याग जोडिनु अघि म एक मानव हुँ । पत्रकार, कलाकार वा खेलाडी सिप र कलाका कारण हुने कुरा हुन् । सबैभन्दा पहिला त हामी मानविय गुण भएका सर्वश्रेष्ठ प्राणि हौ । असल व्यक्ति हो भनेर चिनारी होस् भन्ने लाग्छ ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
म कुनै पनि अन्तर्वार्ता या रेडियो कार्यक्रम चलानु पूर्व विषय, अतिथि र अन्य पक्षको बारेमा रिसर्च गर्ने गर्छु । यो मेरो सबल पक्ष हो । सेलिब्रेटीको राम्रो मात्र होइन नराम्रो पक्ष समेत उत्तिकै रुपमा मैले अध्ययन गर्ने गरेको छु । म स्पष्ट वक्ता हुँ । कुरा चपाएर गर्दिन । अनि मेरा प्रस्तुतिमा सेन्स अफ ह्युमर ज्यादा मिसाउने मैले गरिरहेको हुन्छु । यसो गर्दा अडियन्सलाई बोरिङ हुने अवस्था रहदैन । अनि म कहिले दुखी भएर निराश हुँदिन । यो सबल पक्ष हो । सायद सन्तुष्टि नलिएर सधै दुखी निराश भएको भए म झन असफल हुन्थे होला ।
चर्चा र विवादमा आईरहनुहुन्छ नि ?
यो मेरो कर्मका कारण हो । पत्रकार भएपछि गाली या ताली पाइन्छ भन्ने नसोची सत्य कुरा बाहिर ल्याउनु मेरो आफ्नो साहस मान्छु । कसैले मलाई राम्रो भन्देला कि भनेर पत्रकारिता गरेको पनि होइन । अनि गाली खाइन्छ कि भन्ने डर बोकेर पनि पत्रकारिता गरेको होइन । तटस्थ बस्ने हो भने न चर्चा हुन्छ न त विवाद नै । प्रश्न गर्न कै लागि म प्रश्न गर्दिन । कतिपय मेरा प्रश्न कन्ट्रोभर्सिमा पर्ने गरेका छन् । तर म पर्याप्त प्रमाण भएपछि मात्र खरो प्रश्न गर्दै उत्रने गरेको छु । जहाँ सम्म विवादको कुरा छ यो चाहि अडियन्सले कुनै पक्षलाई एकोहोरो रुपमा मात्र नियाले कि भन्ने लाग्छ । चर्चित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुमार कट्टेल ‘जिक्री’ आफ्नै दाजुभाई हुन् भन्ने कति दर्शकलाई थाहा थिएन । मैले पहिलो चोटी सँगै राखेर पारिवारिक कुरा गरेको थिए । उक्त अन्तर्वार्ता फिल्मीकुरा टिभीमा १३ लाख पटक हेरिएको छ । यो अन्तर्वार्ता पछि धेरैले मलाई दिल देखि खुलेर प्रशंसा गर्नु भएको थियो । धुर्मुसले दिएको आफ्ना थुप्रै अन्तर्वार्तामा यो नै हाइएस्ट भ्युज हो । उहाँपनि निकै खुसी हुनु भएको थियो उक्त अन्तर्वार्ता पछि मिलेको प्रतिक्रियाबाट । चर्चा र विवाद भएन भने कर्मको मूल्याङ्कन नै नभएको जस्तो ठहरिन्छ । त्यसैले यो बेलाबखत चाहिन्छ कि कसो ?
अचेल न्युज भन्दा नि युट्युवरहरु भ्यूजको पछि लागेको पाईन्छ नि ?
यो चाहि तपाईले एकदमै सहि भन्नु भयो । जहाँ सम्म युट्युवरहरु भ्यूजको लागि मात्र दौडने हो भने क्रिएटिभी गुम्दै जाने कुरामा कुनै दुईमत छैन । युट्युव पनि मिडिया हो भन्ने विश्वास दिलाउन सक्नु अहिलेको ठूलो चुनौती बनेर देखिएको छ । तर केही यस्ता युट्युवहरु साथीहरु छन् जसले मिडियाको सामान्य ज्ञान समेत नराखी युट्युवमा जस्तो पाए त्यस्तो कन्टेन्ट राखिदिएर यो पेशा र व्यवसायमा हुनेहरुलाई अप्ठेरो परिस्थिती खडा गरिदिइ रहेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सायद अब छिट्टै युट्युवको पनि अन्य मिडियाको जस्तै नीति तथा कार्यक्रम सार्वजनिक गर्ला कि भन्ने लागेको छ । हालका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि हिजोको दिनमा दृष्टि साप्ताहिकको सम्पादक देखि रेडियो नेपालको घटना र विचार चलाएर आएको एक कुशल सञ्चारकर्मी हुनुहुन्छ । युट्युव कै कारण कतिपयको चरित्र हत्या भएको छ । अनाहकमा भ्रम सिर्जना गरेर समाजलाई नै गाह्रो पर्ने काम समेत कपितय युट्युवबाट भएको छ । आशा गरौ पैसा कै लागि तथ्यहिन सामाग्री युट्युवमा हाल्दै भ्रम फैलानेहरु बिस्तारै फिल्टर हुनेछन् ।
अनि कमजोर पक्ष चाहि नी ?
छिट्टै विश्वास गरिहाल्छु त्यो चाहि कमजोर पक्षमा राख्न चाहान्छु । मेरो विश्वासीपनाको फाइदा धेरैले लिएका छन् । अनि म छिट्टै रिसाइहाल्छु त्यो पनि कमजोरी नै हो ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
उसको व्यवहार, उसले बोल्ने शैली । उसको कार्यक्षेत्र आदि इत्यादि नियालेपछि म उसलाई हेर्ने आफ्नो धारणा बनाउछु ।
तपाईको आफ्नो स्वभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
मेरो संस्कार । मेरो परिवार । मेरो अध्ययन क्षेत्र आदि पक्षका कारण मेरो स्वभाव यस्तो भएको जस्तो लाग्छ । अनि त्यो भन्दा प्रमुख कारण त वातावरण नै हो । जस्तो वातावरणमा हुर्कियौ त्यसको प्रभाव अनन्त काल सम्मपनि रहन्छ ।
तपाईलाई कति खेर रिस उठ्छ ?
काम नबन्दा । काठमाण्डौंको जाममा पर्दा । अनि कतिपयले पैसाको मामलामा डेट दिएको बखत पनि भोलि भोलि भनेर टार्दा लास्ट रिस उठ्छ । टाइम दिएर पनि समयमै सेलिब्रेटी नआइपुग्दा पनि रिस उठ्छ । हाम्रो धेरै महत्वपूर्ण समय जाम, अरुको पखाई लगायतले बित्ने गरेको छ । म मेरो जीवनको समय अलिकति पनि गलत काम र कुरामा खर्चिन चाहान्न ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
भावुक त कमै भएको छु । भुइचालोको बखत चाहि निकै भावुक भएको थिए । मरिन्छ भने सबै एकैपटक मर्न पाए हुन्थ्यो नत्र सबै जना बाचे हुने जस्तो लागेर आउथ्यो । अनि, म भावुक रत्नपार्कमा कहिले काही जादै गर्दा कसैको खुट्टा नभको कसैको हात नभको कसैको आखै छैन यस्तो देख्दा कस्तो कस्तो महसुस हुन्थ्यो । किन कसैको जीवन चाहि महलमा बित्ने कसैको चाहि एक पेट खान कै लागि यति संघर्ष होला जस्तो लाग्थ्यो । त्यो दृश्यले पनि मलाई निकै भावुक बनाएको छ धेरै पटक ।
तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
यो प्रश्नको चाहि ठ्याक्कै उत्तर आएन । तर तपाईले सोधेको भाव मैले जति बुझे त्यति नै उत्तर दिने प्रयास गर्छु ।
मलाई अत्याधिक खुसी मिलेको क्षण अनि निकै मन दुखेको क्षणको अवस्थाले उत्तेजित अवस्थाको निर्धारण गर्ने गर्छ ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
संयमित छु । धेरै कुरामा सोच विचार गरेर मात्र अगाडि बढ्ने गरेको छु । झै–झगडा निकै कम गर्छु । गर्दिन भन्दा पनि हुन्छ । गलत कार्य गर्नु अघि पचास पटक सोच्छु । कन्ट्रोल गर्छु ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
जब मैले थालनी गरेको कुनै कार्यले मुर्तरुप पाउछ त्यो बखत म निकै खुसी हुने गरेको छु । धेरै जना शुभचिन्तकले फेसबुकमा तपाईको स्वर राम्रो लाग्छ । अन्तर्वार्ता नछुटाई हेर्ने गरेका छौ । यो व्यक्तिको चाहि अन्तर्वार्ता गर्नु है मलाई कस्तो हेर्न मन लागेको छ भनेर भन्दा मलाई खुसी मिल्छ ।
तपाईका दुःखहरु के हुन् ?
मेरा त्यस्ता दुःखहरु केही छैनन् । म आफ्नो कामलाई कहिले पनि दुःखको रुपमा चित्रण गर्न चाहान्न । दुःख भन्ने कुरा त हाम्रो सोच मात्र हो । जति पनि सफल व्यक्तिहरुको जीवनको पाना पल्टाउने हो भने कोही पनि संघर्ष नगरी निरन्तरको प्रयास नगरी सफल भएका होइनन् ।
अनि तपाईको सुख चाहि नी ?
म सन्तुष्टि लिने गर्छु । आफ्नो कार्यक्षेत्रमा सन्तुष्ट छु । यो नै सुखको पक्ष हो ।
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
त्यस्तो दुखत क्षण त केही छैन ।
अनि खुसीको क्षण चाहि नी ?
न्यू मिडियामा आएपछि अझ धेरैले चासो पूर्वक मलाई लिए । छिट्टै प्रतिक्रिया पनि पाइने । काम गर्न जोश पनि आउने । पैसा पनि राम्रो कमाई हुने । यो मेरो लागि अर्को खुसीको क्षण थियो ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
सञ्चार क्षेत्रलाई रोज्दै गर्दा मलाई धेरैले पैसा हुँदैन । तलब टाइममा दिदैनन् भन्ने सुनिन्छ भनेर कुरा गरेका थिए । अनि मलाई मैले कतै गलत पेशा त समातिन भन्ने लागेको थियो । त्यो मोड आफैमा अप्ठ्यारोको रुपमा लिन चाहान्छु । किनकि त्यतिबेला आयश्रोतको अरु माध्यम हुँदैन कि भनेर मलाई कता कता मनमा चस्को पसेको थियो ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
समुन्द्रमा पौडिने प्रयास नगरी गहिराई नाप्न सकिन्न भन्ने सिद्धान्तलाई मैले अङ्गीकार गरे । आत्मविश्वास लिए । साहस जुटाए ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
त्यस्तो प्रथम स्थान मै राख्ने खालको त छैन । जे निर्णय लिएको छु त्यसले आफ्नो कार्यक्षेत्र र समाजलाई प्लस नै पुर्याएको छ ।
अनि गलत चाहि नी ?
मलाई धेरै पहिले युट्युव खोल्ने सल्लाह मिडिया कै साथीहरुले दिएका थिए । तर मैले रेडियो र टेलिभिजन नै ठूलो हो भन्दै युट्युवमा त्यति वास्ता गरिन । युट्युव त खोले तर ढिला खोले । त्यो सल्लाह ग्रहण गरेर मैले युट्युव नखोल्नु चाहि मेरो गल्ती थियो । नत्र अहिले सम्म मैले दुई लाख मात्र होइन धेरै लाख सदस्य बनाइ सकेको हुन्थे ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
यति धेरै कला भएर पनि मैले सहि ठाउँमा प्रयोग गर्न पाएको छैन । मेरो चाहाना स्टेज कार्यक्रम होस्ट गरेर देश देखि विदेश पुग्ने हो । तर खै रेडियोको कार्यक्रम भन्यो टिभीको कार्यक्रम भन्यो युट्युवको अन्तर्वार्ता भन्यो कुन फिल्मको प्रेस मिट भन्यो यति मै दिन गइरहेको छ । विभिन्न महोत्सवमा पुगेर प्रत्यक्ष दर्शकसँग अन्तरक्रिया गर्दै आफ्नो कला देखाउछु भन्यो मिलिरहेकै छैन ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
एकजना साथीले अनाहकमा आत्महत्या गर्नु भयो । त्यो पल म निकै रोएको थिए ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
ठ्याक्कै स्मरण छैन । धेरै भयो नरोएको ।
तपाईलाई कस्तो मान्छे मन पर्छ ?
हासिरहने । ठिक्क बोल्ने । सम्मान गर्ने । कामको कदर गर्ने । बोली चालीमा मधुरता भएको मान्छे खुब मनपर्छ हो मलाई त ।
अनि कस्तो मन पर्दैन ?
घमण्डीपना ज्यादा भएको मान्छे पटक्कै मन पर्दैन । अनि आफै जान्ने सुन्ने पल्टिने मान्छे त झन् मनै पर्दैन । कोही कोहीमा चाहि म जस्तो कोही छैन भन्ने अहम हुँदो रहेछ । त्यस्ता व्यक्ति लास्टमा एक्लो हुन्छन् ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
म घृणा कसैलाई गर्दिन । किनकि घृणा हैन मायाले संसार उज्यालो हुन्छ ।
फुर्सदको समय कसरी बिताउनु हुन्छ ?
घुम्न रुचाउँछु । फुर्सदको समय एक्स्ट्रा बुकहरु पढ्छु । अनि इन्टरनेटमा नयाँ नयाँ कुरा खोजी गर्छु ।
सञ्चार क्षेत्र बाहेक तपाईको रुचीको क्षेत्र ?
राजनीतिक क्षेत्र प्रति चासो छ । तर कुनै दलमा आबद्ध चाहि छैन ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
पत्रकारिता क्षेत्रमा लामो समय देखि लाग्नु भएका बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको विषयमा अशोक सिलवालले लेखेको पुस्तक ‘कलम’ मलाई निकै मनपर्यो । पत्रकारिताको इतिहास के थियो र कस्तो अवस्थामा उहाँले पत्रकारिता सुरु गरेर सफलता प्राप्त गर्नुभयो भन्ने कुरा उक्त पुस्तकमा पढ्न पाइन्छ । जहाँ चुनौती त्यहाँ आशाका किरण पनि साथै छन् भन्ने कुरा उक्त पुस्तक पढेपछि बुझ्न सकिन्छ ।
अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
अहिले सफल व्यक्तिको बायोग्राफी अध्ययन गरिहेको छु । उनीहरुको बाल्यकाल त मेरो भन्दा दश गुणा दुखत रहेको कुराले मैले त कतिपनि संघर्ष गरेको रहेनछ भन्ने लागेको छ ।
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
हरिवंश आचार्यले लेख्नु भएको ‘चिना हराएको मान्छे’ । साच्चिकै उहाँको जन्म एउटा विशेष परिस्थितीमा हुन पुग्यो । जन्मपछिको जीवन झन दर्दनाक अनि कष्टकर । तर कलाले भरिएको उहाँले मदनकृष्ण श्रेष्ठको साथ पाएपछि छलाङ मार्नुभएको छ ।
कस्ता फिल्म हेर्नुुहून्छ ?
मलाई कमेडी फिल्म मनपर्छ । चलचित्र पत्रकार भएको कारण प्रत्येक फिल्म हेर्ने निम्तो आउँछ । तर सबै फिल्म हेर्नलाई समय पनि मिल्दैन । जे होस् दर्शक समक्ष प्रतिक्षित रुपमा हेरिएको फिल्म चाहि म छुटाउन्न ।
तपाईलाई मनपर्ने फिल्म ?
पछिल्लो समय हेरेको फिल्म ‘अमेरिका बोइज’ चाहि निकै मन परेको थियो ।
दोहोराएर हेर्नुभएको फिल्म ?
त्यस्तो दोहोराएरै हेर्ने फिल्म त अहिले सम्म बन्या छैनन् ।
तपाईलाई म पर्ने हिरो हिरोइन ?
पर्सनालिटीको हिसाबले राजेश हमाल मलाई मनपर्छ । उहाँको वाककला र विश्लेषण गर्ने खुबीको म प्रशंसक हुँ । हिरोइन चाहि पर्टीकुलर यहि मनपर्छ भन्ने छैन । सबैको काम राम्रै लाग्छ ।
तपाईलाई रुवाएको फिल्म ?
मैले हलमा पहिलो चोटी हेरेको फिल्म ‘आमाको काख’ थियो । विजय केरुङको लेखन तथा निर्देशन रहेको उक्त फिल्ममा राजेश हमाल, निखिल उप्रेती, तृप्ति नाडकर, निरुता सिंह लगायतले अभिनय गर्नु भएको थियो । फिल्मको अन्त्यमा आमालाई जिउँदै चितामा राखेर भिलेनले जलाउन खोज्दा चाहि भावनामा डुवेर आसु नै खसेको थियो मेरो ।
मनपर्ने गायक–गायिका ?
राजेश पायल राई निकै मनपर्छ । फेरि मलाई उहाँले माया पनि अति नै गर्नुहुन्छ । गायिकामा चाहि मिलन अमात्यको स्वरमा छुट्टै मिठास पाउछु ।
मनपर्ने ठाउँ ?
पोखरा । तर मनपर्ने ठाउँ अझ धेरै घुम्न बाँकी नै छ ।
मनपर्ने खाना ?
थकाली खाना मनपर्छ ।
मनपर्ने पोसाक ?
म कोटको सौखिन मान्छे हुँ । कोट पाइन्ट र टलक्क टल्कने जुत्ता मनपर्छ ।
तपाईलाई मनपर्ने नेपालको नेता ?
त्यस्तो मनपर्ने नेता त हुनुहुन्न तर संघर्षबाट गाउको दुरदराजको एक व्यक्ति देशको नेतृत्व तह सम्म पुग्न सक्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बायोग्राफीबाट चाहि म निकै प्रभावित छु । उहाँको विचार र सिद्धान्त भन्दापनि कास्कीको ढिकुर पोखरी देखि चितवन हुँदै पेशागत रुपमा एक शिक्षकबाट त्यो लेभलको नेता बनेको देख्दा चाहि उहाँको दृढता, प्यासन, लगाव चाहि मलाई निकै मनपर्छ ।
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
नेल्सन मण्डेला ।
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
अब नयाँ भन्ने कि पुरानो भन्ने रविन्द्र मिश्रको सोच र विचार चाहि मलाई मनपर्छ ।
तपाईको आदर्श को हो, किन ?
मेरो त्यस्तो आदर्श व्यक्ति कोही छैन । धेरैको जीवन हेरेर मैले नयाँ कुरा सिक्न पाएको छु ।
नेपालको मन पर्ने साहित्यकार ?
स्व. लक्ष्मीप्रसाद देवकोटा
आफैं प्रति तपाईलाई केही गुनासो छ की ?
समयक्रम अनुसार अझै म चल्न सकिनकी जस्तो लाग्छ कहिले काही ।
अनि यो समाजप्रति चाहि नी ?
नकारात्मक कुरा नै चाडो बिक्ने यो समाजमा केही राम्रो काम गर्न खोज्यो भने किन यसले राम्रो गर्दैछ भनेर खोजिनीति गरिन्छ । राम्रो कामलाई नराम्रो हो भन्दै ढ्वाङ फुकिन्छ । मलाई यस्ता कुराले चाहि समाजप्रति बैराग लाग्छ । तर के गर्नु यो समाज नै यस्तै छ । आशा गरौ परिवर्तन एकदिन अवश्य होलानी ।
जीवन के रहेछ ?
मेरो लागि जीवन एक रोमाञ्चक यात्रा हो । अनुभवको खानी हो । हासो र रोदनको समागम हो ।
बाँकी योजना र सपना कस्ता छन् ?
राम्रो काम गर्ने । नामलाई अझ विश्वव्यापी रुपमा परिचत गराउने । अनि सुन्दर एउटा घर बसाउने ।
सञ्चार क्षेत्रमा लागेर के पाउनुभयो ?
सेलिब्रेटीको जीवन जुन पर्दामा हेर्दा हाइ प्रोफाइलको लाग्न सक्छ तर उहाँहरुको वास्तविक जीवनको कथा अर्कै हुन्छ । मैले यो कुरा सञ्चार क्षेत्रमा लागेर बुझ्ने मौका पाए । उपलब्धि मात्र खोज्ने हैन सहि तवरले जीवन जिउन पनि जान्नुपर्दछ भन्ने कुरा सिके । समय अनुसार परिचालित हुनुपर्छ भन्ने सिके । त्यो भन्दा पनि ठूलो कुरा अनेकौ पात्रसँग भेटेर व्यवहारिक ज्ञान सिके ।
अनि के गुमाउनु भयो ?
१८ वर्ष देखि रेडियोमा लागे । मैले मेरो उर्बर जवानी गुमाए ।
पत्रकारितामा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
बनेको छ । यदि पत्रकार सिर्जनशिल छ क्षमतावान छ भने पत्रकारले लाखौ कमाउन सक्छ । दैनिक पत्रिकामा आबद्ध सम्पादकले खाने तलब लाख माथिको छ । न्यूनतम तलब १९, ५०० खानेको चाहि काठमाडौंमा जीवन गुजारा गर्न अहिले गाह्रै छ । किनकि यो महङ्गी थेग्न यति तलबले ठूलै संघर्ष गर्नुपर्छ ।
यस क्षेत्रमा आउने नयाँलाई के सुझाव दिनुहुन्छ ?
पहिला यो क्षेत्र किन रोज्दैछु भन्ने कुराको उत्तर बोकेर आउनु भयो भने सजिलो । नत्र पत्रकारितालाई सजिलो पेशाको रुपमा लिएर तपाई अन्त हार खाएर यो क्षेत्र रोज्दै हुनुहुन्छ भने न निल्नु न ओकल्नुको अवस्था नआउला भन्न सकिन्न । यो क्षेत्रमा आएर केही फरक गर्न सक्नु भयो भने तपाई छिट्टै चिनिन सक्नुहुन्छ । चलाख चतुरोसँगै लेखन शैली र बोल्ने शैलीको गुण तपाईमा हुनु आवश्यक छ । यो कला छैन भने चाहि पब्लिक रिलेसन डेभलव गर्न गाह्रो हुन्छ । तपाईको एक बोलीमा अडिएको हुन्छ सम्बन्ध । यति पत्रकारितालाई आड बनाएर अन्य फाइदा लिन सकिन्छ भन्ने सोच छ भने नआउनुस् भन्न चाहान्छु । लास्टमा न यता न उताको भइन्छ । पहिला आफ्नो क्षमता पहिचान गर्नुस् र चुनौतीसँग खेल्न सक्छु भन्ने लाग्छ भने पत्रकारिता क्षेत्र रोज्नुस् । यो क्षेत्र पनि नराम्रो छैन । नामसँगै दाम पनि कमाउन सकिन्छ ।