इटहरीः पूर्वकी चर्चित सञ्चारकर्मी चन्दा खड्काको नयाँ तीज गीत युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।
राजकु्मार बगरको शब्द र लय सङ्कलनमा तयार पारिएको तीजका गीत समेटिएको एल्बम ‘संगी’ पूर्वकी सञ्चारकर्मी तथा गायिका चन्दा खड्काले बजारमा ल्याएकी हुन् ।
खड्काका अनुसार सो एल्बममा २ वटा तीजका गीत समावेश गरिएको छ । उनका अनुसार ‘घिनघिन मादल घन्काउँदै’ बोलको गीत काठमाडौंको त्रिवेणी स्टुडियोमा र ‘चुुरा हातैमा’ बोलको गीत इटहरीको पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
कमल सौरागले घिनघिन मादल घन्काउँदैको एरेन्ज गरेका छन् । उनले ‘संगी’ एल्बमका गीतको म्युजिक भिडियो पनि बनाएकी छिन् । सो भिडियोको निर्देशन तथा छायाङ्कन भुपेन्द्र तुम्वाहाम्फेले गरेका छन् भने सम्पादन निशान घिमिरेले गरेका छन् ।
गीतमा नृत्य निर्देशक आयस्वर लिम्बू रहेका छन् । सो भिडियोमा नागी डान्स सेन्टरका कलाकार र गायिका खड्का स्वयम्को अभिनय रहेको छ ।
खड्काले यस अघि माइतीघर, माइतीघर भाग २ र तीजको लहर नामक तीज एल्बम बजारमा ल्याएकी थिइन् । त्यस्तै, अघिल्लो साल ‘परदेशीको यादमा’ नामक लोक एल्बम उनले बजारमा ल्याएकी थिइन् ।