कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी सुरुदेखि नै सामाजिक प्रतिष्ठा र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको पछि लागेको छ । प्रहरीले भनेजस्तै भोलि दिलीपसिंह विष्ट नै दोषी ठहरिन सक्छन्, तर यसअघि पनि प्रहरीले यस्तै दुईजनालाई नियन्त्रणमा लिएको थियो ।
घटनाको तेस्रो दिन अर्थात् १३ साउनमा डिएसपी अंगुर जिसीको नेतृत्वमा काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पुगेको थियोे । त्यसअघि नै ११ साउनमा कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ परेका थिए ।
डिएसपी जिसीका अनुसार दीपक गम्भीर प्रकृतिका यौनरोगी थिए भने जीवनको मानसिक सन्तुलन असामान्य थियो । जीवनले त निर्मलाको हत्या आफूले नै गरेको दाबी गरेका थिए । उनले प्रहरीलाई बयान दिएका थिए, ‘मैले खुकुरीले हानेर निर्मलाको हत्या गरेको हुँ ।’ जब कि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको हत्या घाँटी निमोठेर भएको थियो । तर, यस्तो फितलो अनुुसन्धानका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा संसद्मा बोले, ‘बलात्कार र हत्यामा संलग्न दुईजनालाई पक्राउ गरिएको छ । पीडितलाई न्याय दिलाउन सरकारले कुनै कसर बाँकी राख्नेछैन ।’ तर, गृहमन्त्रीले संसद्मा बोल्दा–नबोल्दै जीवन र दीपक हिरासतबाट छुटिसकेका थिए ।
घटनाका २५ दिनपछि ४ भदौमा प्रहरीले भीमदत्त नगरपालिका–१९ का ४२ वर्षे दिलीपसिंह विष्टलाई आरोपीका रूपमा सार्वजनिक ग-यो । तर, यी विष्ट पनि मानसिक अवस्था असामान्य भएका परे । आफ्नै भिनाजु हत्याको अभियोगमा उनी ०६५ मा जेल परेका थिए र गत वर्ष गणतन्त्र दिवसका तत्कालीन प्रजिअको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएर जेलबाट छुटेका थिए ।
प्रहरीले विष्ट नै दोषी भएको दाबी गरिरहेको छ भने स्थानीयले अस्वीकार गर्दै आन्दोलन चर्काए ।
दिलीपका पिता आइतबार निर्मलाको परिवारलाई भेट्न पुगे । ‘उनले रुँदै मेरो छोराको कुनै गल्ती छैन भने । हामीलाई पनि घटनामा ऊ संलग्न छ भन्नेमा विश्वास छैन,’ निर्मलाका पिता यज्ञराज पन्तले भने । ८२ वर्षे कमलसिंह विष्टका अनुसार ८ कक्षामा पढ्दा नै दिलीप गाँजा–चरेसको लतमा परेका थिए । छिमेकी कर्ण विष्ट त यसपटक मात्र होइन, अघिल्लोपटक भिनाजुको हत्यामा पनि दिलीप परिबन्दमा परेको हुन सक्ने अनुमान गर्छन् ।
पिता कमलसिंह र छिमेकी कर्णका अनुसार दिलीप लागुऔषधको सिकार भएका थिए । ‘तर, हाम्रै घरमा आएका वेला चिया, खाना दिँदा पनि महिलाको हातबाट सीधै लिँदैनथ्यो । भुइँमा राखिदिनु भन्थ्यो,’ उनले भने । पिता कमलसिंह थप्छन्, ‘मेन्टल हो मान्छु, तर मैले हिरासतमा भेट्दा यो हत्यामा मेरो कुनै हात छैन भनेको थियो । घरमै पनि महिलासँग चिया, खाना सीधै हात छोएर लिँदैनथ्यो ।’
हरेक समय गाँजा, चरेस र रक्सीको नसामा हुन्थे दिलीप । बाटोमा मोटर, मोटरसाइकल र साइकल देखे परैदेखि छेउ लागेर उभिन्थे । पिता कमलसिंहका अनुसार दिलीपलाई पक्राउ गर्नु अघिल्लो दिन ३ भदौमा नासपाती किन्ने बहानामा प्रहरीका दुईजना सुराकी घरमा आएका थिए । जग्गा खोज्दै हिँडेको पनि भन्दै थिए । अनि घरपछाडि सुकाउन राखिएको दिलीपको सर्टको केही भाग च्यातेर लगेका थिए । दिलीपलाई पक्राउ गरेपछि ४ भदौमा प्रहरी फेरि घटनास्थल पुग्यो । त्यहाँ दिलीपको सर्टको कपडाको टुक्रा र कन्डम फेला परेको थियो । ‘यसबीच धेरै पानी प-यो, खोलामा बाढी आयो ।
तर, सर्टको टुक्रा र कन्डममा कुनै हिलोमैलो थिएन,’ निर्मलाका पिता यज्ञराज भन्छन् । सिआइबीका डिएसपी जिसी भने दिलीपको यौन आसक्ति उत्कर्षमा रहेको कुरा बयानका क्रममा पाएको बताउँछन् । ‘अलि असामान्य देखिन्छन्, तर उनको बयान असामान्य छैन । र जतिपटक सोध्दा पनि नबिराई उही कुरा दोहो-याउँछन् । फरेन्सिक र डिएनए स्याम्पल परीक्षणको अन्तिम नतिजा आएपछि धेरै कुरा स्पष्ट होला । तर, अहिलेसम्मको घटनाक्रम हेर्दा उनी घटनाको केन्द्रमा छन् । बाहिर उनीबारे जे टिप्पणी भए पनि कम उमेरकासँग यौनसम्पर्क गर्न आफूलाई रुचि भएको उनले बयानमा बताएका छन्,’ उनले भने । दिलीप अविवाहित हुन् ।
सरकारले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बेग्लै उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ । स्थानीयको आशंकाको केन्द्रमा रहेका रोशनी र बबितालाई पनि प्रहरीले हिरासतमा लिएको छ । बम दिदीबहिनीका पिता दीपेन्द्रबहादुर बम जनविकास माविका शिक्षक र आमा दुहुँ गाउँपालिका–३ को सचिवका रूपमा दार्चुलामै बस्दै आएका छन् । दुवैले आफ्ना छोरीहरूलाई जबर्जस्ती फसाउन खोजेको बताइरहेका छन् । ‘भोलि हाम्रा छोरीमाथि अर्को दुर्घटना भयो भने को जिम्मेवार हुन्छ ? भिडको दबाबमा हाम्रा निर्दोष छोरीहरूलाई गिरफ्तार गरिएको छ,’ उनीहरूको गुनासो छ ।
छोरी खोज्न जाँदा घरभित्रै पस्न नदिएका कारण पनि पन्त परिवारको आशंका बबितामाथि बढी छ । ‘पहिलेका एसपी डिल्लीराज विष्टले कहिले बाहिरै सामूहिक बलात्कार गरेर त्यहाँ लगेर फालिएको हो भने त कहिले त्यहीँ एकजनाले बलात्कार गरेको हो भने,’ निर्मलाका पिता यज्ञराज भन्छन्, ‘अनि मलाई दिलीप नै मुख्य अपराधी हो, किटानी जाहेरी देऊ भनेर दबाब पनि दिए । प्रहरीको भूमिका जहिल्यै शंकास्पद रह्यो ।’ बबिताकै घरमा घटना भएर निर्मलालाई पछि बाहिर लगेर फ्याँकिएको पन्त परिवारको आशंका छ ।
तर, घरअगाडिकै छिमेकी देवकी भट्टका अनुसार उनी १० साउनको साँझ ७ बजेतिर बबिताको घरमा पुगेकी थिइन् । अम्बा खान गएकी उनकी नाबालक छोरी रोशनीसँग टिभी हेर्दै नाच्दै बसेकी थिइन् । उनी पुगेको केहीबेरमा बबिता पनि आइपुगिन् । निर्मलाको शवको छेउ केही अम्बा पनि फेला परेको थियो, जुन बबिताको घरको थियो । पछि बम परिवारले अम्बाको बोटै काटिदियो । यसकारण पनि उनीहरूप्रति पीडित परिवार र स्थानीयको आशंका छ । तर, बबिताका पिता दीपेन्द्रबहादुर बम भन्छन्, ‘बाटो हिँड्ने जोकोहीले पनि ढुंगा हान्ने र अम्बा टिप्न पर्खाल नाघेर भित्र पस्ने गरेकाले काटिदिएको हो ।’
सरुवा भएर आएका नयाँ प्रजिअ तारानाथ अधिकारी र एसपी कुवेर कडायतले आइतबारबाट मात्रै काम थालेका छन् । त्यसैले घटनाबारे पूर्ण विवरण जुटाउन लागिपरेका छन् । आइतबार त नेताहरूको सत्कार र उनीहरूसँगको छलफलमै बित्यो उनीहरूको । एसपी कडायत भन्छन्, ‘धेरै बुझ्नै बाँकी छ । हामी जिरोबाट फेरि अनुसन्धान सुरु गर्छौँ । घटनास्थलको मुचुल्का लिन्छौँ । पुरानो अनुसन्धान र बयान सन्दर्भ सामग्रीका रूपमा मात्र रहनेछन् ।’
बलात्कारपछि हत्या गरिएको एक महिनापछि आइतबार निर्मला पन्तको घरमा भिआइपीहरूको घुइँचो लाग्यो । प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर नेकपा स्थायी समिति सदस्य तथा कैलालीका सांसद लेखराज भट्ट, कञ्चनपुरका सांसदद्वय दीपकप्रकाश भट्ट र नरबहादुर धामी, प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह निर्मलाको घर पुगे । निर्मलाका माता–पितासँग उनीहरूको सामूहिक भनाइ थियो, ‘हामी प्रधानमन्त्रीको सन्देश बोकेर आएका हौँ । निर्मलाले न्याय पाउनुपर्छ र अपराधी जतिसुकै शक्तिशाली भए पनि कानुनी कठघरामा आउनेछन् ।
सत्तारुढ नेताहरू फर्किएलगत्तै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताद्वय दिलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायरले निर्मलाको परिवारलाई भेटे । लगत्तै नयाँ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, एसपी कुवेर कडायत, डिएसपी कृष्णराज ओझा, सशस्त्रका एसपी, सेनाका कर्णेलसमेत निर्मलाको घरमा पुगी परिवारजनसँग छलफल गरे ।
एक किशोरको अन्त्येष्टि, एक अचेत, अर्का गम्भीर
मजदुरी गरेको पैसा माग्न जाँदा गोली खाएर ढले सन्नी
निर्मला पन्तको बलात्कार र हत्यापछि न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सन्नी खुनाको राष्ट्रिय सम्मानका साथ आइतबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । सन्नी खुना र उमेश खुना ठूलोबुबा सानोबुबाका छोरा हुन् । उनीहरू सँगै काम गर्ने, खाने, सुत्ने र घुम्ने गर्दथे । उनीहरू दुवै दाजुभाइलाई सुजित बंगाली ठेकेदारले मार्बल लगाउने काम लगाएका थिए ।
झन्डै डेढ महिनाअघि कञ्चनपुरका विभिन्न स्थानमा मार्बल लगाउने काम गरेबापत सन्नीले पाँच र उमेशले तीन हजार रुपैयाँ लिनुपर्ने थियो । शुक्रबारको गोलीकाण्ड सम्झँदै सन्नीका दाजु उमेश भन्छन् –हामी दाजुभाइ मात्र होइन साथीजस्ता थियौँ । सँगै मजदुरी गथ्र्यौँ । करिब डेढ महिनाअघि सुजित बंगाली ठेकेदारमार्फत हामीले जिल्लाका विभिन्न ठाउँमा मार्बल ओछ्याउने काम गरेका थियौँ । सन्नीको पाँच हजार र मेरो तीन हजार लिन बाँकी थियो । १० गते रक्षाबन्धन थियो ।
त्यसको तयारीका लागि हामी ८ गते ठेकेदारसँग बाँकी पैसा माग्न गएका थियौँ । बिहान पानी परेकाले दिउँसो खाना खाएर दाजुभाइ घरबाट निस्कियौँ । ठेकेदार नभेटिएपछि बजार घुम्दै थियौँ । माथि चम्मनचोकदेखि आन्दोलनकारी ट्राफिक चोकतिर गए । हामी पनि त्यतै लाग्यौँ । मैले साइकल र मोबाइल सन्नीको हातमा दिएको थिएँ ।
सन्नी र म सँगै आन्दोलन हेर्दै थियौँ । ट्राफिक चोकमा ढुंगामुढा भइरहेको थियो । पछि सन्नी भिडमा हरायो । एकैछिनमा ट्राफिक कार्यालयको छतबाट प्रहरीले गोली चलायो । म भागेर पुनः ठेकेदार बस्ने ठाउँमा पुगेँ । सन्नी पनि भाग्यो होला भन्ने सोचेँ । एकैछिनमा गोली लागेर एकजनाको मृत्यु भएको सुनेँ । मैले सन्नीलाई फोन गरेँ, तर उठेन । एकैछिनमा फोन अफ भयो । त्यहीबीचमा मैले एकजना दाजुको मोबाइलमा भाइको फोटो देखेँ । त्यसमा उनको त गोली लागेर मृत्यु भयो भन्ने लेखिएको थियो । म रुँदै घरतिर लागेँ ।
इन्जिनियरिङ तयारी गरिरहेका भण्डाराको अझै होस खुलेन
आन्दोलनका क्रममा बिहीबार गोली लागेर गम्भीर घाइते भएका २० वर्षीय अर्जुन भण्डाराको अझै होस खुलेको छैन । घुँडामुनि गोली लागेका उनको स्वास्थ्य अत्यधिक रक्तस्रावका कारण अझै गम्भीर छ । काठमाडौंको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उपचाररत भण्डारालाई १७ पिन्ट रगत दिइसकिएको छ । चिकित्सकले थप रगत आवश्यक पर्न सक्ने भन्दै जोहो गर्न भनेका छन् ।
१२ कक्षाको परीक्षा सकेर इन्जिनियरिङको तयारी गरिरहेका भण्डारा आन्दोलन हेर्न पुगेका थिए । भाइको उपचारमा प्रहरी प्रशासनले कुनै चासो नदिँदा काठमाडौं ल्याउन ढिला भएको दाइ योगेन्द्र भण्डाराले बताए । ‘अवस्था गम्भीर छ, काठमाडौं जाँदै छ भन्ने प्रहरीलाई थाहा थियो, तर विमानस्थलबाट अस्पतालसम्म लैजान एम्बुलेन्सलाई खबरसमेत गरिदिएन । काठमाडौं ओर्लेर पनि एम्बुलेन्स नपाउँदा डेढ घन्टासम्म विमानस्थलमै कुर्नुप-यो,’ उनले दुखेसो पोखे । चिकित्सकले अस्पताल ल्याउन ढिला भएको र अत्यधिक रक्तस्रावका कारण गोली लागेको ठाउँको मांसपेशी मरिसकेको जनाएको उनले बताए ।
त्यस्तै भीमदत्त नगरपालिका–१ भाँसीका १६ वर्षीय उमेश देउवाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । देउवाका काका वीरेन्द्र देउवाले उमेशको खुट्टा, कोखामा गोली लागेको बताए । उनको खुट्टाको शल्यक्रिया गरिएको छ भने कोखामा लागेको गोली निकाल्न पनि शल्यक्रिया गर्नुपर्ने देखिएको छ । गोली लागेर घाइते भएका सरेन्द्र चटौत, चेतन भट्ट, दामोदर खाती, कवीन्द्र सिंहको अवस्था गम्भीर भएकाले थप उपचारका लागि रेफर गरिएको थियो । उनीहरू विभिन्न अस्पतालमा छन् ।