अर्जुन जम्नेली राई
काठमाडौं । किरात राई यायोक्खाको केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राईले किरातीहरुको आदिम पुर्खा तयामा, खियामा र रैछाकुलेहरुले आवाद गरेको भूमिको नाम किरात प्रदेश हुनुपर्ने बताएका छन् ।
यायोक्खा केन्द्रीय कार्यालय परिसरमा किराती आदिम पुर्खा रैछाकुलेको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् । ‘१ नम्बर प्रदेश रैखाकुलेले पहिलो पाइला टेकेको भूमि हो ।’ राईको भनाइ थियो ‘तयामा, खियामाले कपास खेतिबाट कपडा बनेर लाउने सभ्यता सिकाएको भूमि हो ।’
किरात राई समुदायले तयामा, खियामा दिदी बहिनी र भाई रैछाकुलेलाई आफ्नो आदिम पुर्खा मान्छान । किराती एउटा जाति वा समुदाय होइन । यद्यपि त्यो भूमिमा किरातीहरुले खोरिया फाडेर मानव बस्ति बनाउन लायक बनाएको स्थाल भएको राईको दावि थियो । उक्त भूमि(प्रदेश)को नाम किरात नभए निक्कै ठूलो सडक आन्दोलन हुने कार्यवाहक अध्यक्षको चेतावनी थियो ।
तयामा, खियामा र रैछाकुलेको प्रतिमा खोटाङको तुवाचुङमा यस अघि राखिएको थियो । यायोक्खा परिसरमा भने रैछाकुलेको मात्र प्रतिमा राखिएको हो । कार्यबाहक अध्यक्ष राईले मूर्तिको बारे देश विदेशमा चर्चा शुरुहुने बताए । करिव २५ सय बर्षअघि लुम्बिनिमा जन्मेको बुद्धको विश्वभर हजारौ हजार प्रतिमा राखिए जस्तौ १० हजार बर्षभन्दा पुरानो तयामा, खियामा रैछाकुलेको प्रतिमा राखिनुपर्ने राईको भनाइ थियो ।
यायोक्खा महासचिव जिवन हाताचो राईको समेत उपस्थिति रहेको कार्यक्रममा मूर्ति निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर राई, मूर्तिकार रोजन राई, सहयोगी वीरबहादुर राई, यायोक्खा पूर्व अध्यक्ष सुमाया राई लगायतले मन्तव्य राखेका थिए । निर्माण समितिका सदस्य सचिव जनक राईले सञ्चालन गरेको कार्यक्रम भदौ ९ गते भएको थियो ।