उर्लाबारी । वैदेशिक रोजगारमा युएईमा रहनुभएका रतुवामाई १० का दुई युवाले विपन्न परिवारका जेहेन्दार विद्यार्थीको पठन पाठनमा लाग्ने खर्चको लागि सहयोग पुर्याउने हुनुभएको छ ।
गत बर्ष झै स्थानीय महेन्द्र माध्यमिक विद्यालय रतुवामाईमा कक्षा ११ र १२ मा अध्ययनरत अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्थानीय घनश्याम न्यौपाने र केशब बाँनियाले पठन पाठनमा लाग्ने रकम स्वरुप छात्रबृत्ति प्रदान गर्न लाग्नुभएको हो । यसरी छात्रबृत्ति पाउने विद्यार्थीहरुमा कक्षा ११ बाट लक्ष्मी राई,सृजना कार्की र विपिन श्रेष्ठ रहनुभएको छ । कक्षा १२ बाट रेशा भण्डारी,टीकाराम भण्डारी र सृजना मंग्रान्ती रहनुभएको छ । उहाँहरु साइन्स तथा बाणिज्य संकायका विद्यार्थी हुनुहुन्छ ।
छात्रबृत्ति पाउने विद्यार्थी विपन्न परिवारका मात्र नभएर पढाईमा समेत अब्बल रहेको विद्यालयका प्रधानाध्यापक चिरन्जिवि निरौलाले बताउनुभयो ।
आर्थिक अभावकै कारण पढाईबाट बन्चित हुनु नपरोस भनेर आफुहरुले कमाएको रकमको केहि हिस्सा विद्यार्थी भाईबहिनीहरुलाई सहयोग गर्न लागेको घनश्याम र केशबले बताउनुभयो ।
पढाईमा एकदमै राम्रा तर घरको अवस्था नाजुक भएर समस्यामा परेका विद्यार्थीलाई गतवर्ष देखी सहयोग गरिरहेका छौ, महेन्द्र माविका पूर्व विद्यार्थी समेत रहनुभका घनश्यामले भन्नुभयो ‘ आर्थिक अभावकै कारण विद्यार्थीको पढ्न रहर नसकियोस हामीले जस्तै समस्या भोग्नु नपरोस भनेर सहयोग गरेका हौ ।
यसअघि न्यौपाने र समिन बरालले संयुक्त रुपमा छात्रबृत्ति उपलब्ध गराउनुभएकाो थियो ।
आफुहरुले भाईबहिनीको पढाईमा सहयोग गर्दा भविष्य बन्छ भने किन सहयोग नगर्ने भनेर सहयोग गरेको केशबले बताउनुभयो । उहाँ भन्नुहुन्छ‘ अलि अलि खेती किसानी गर्ने मान्छेलाई त भनेको बेला पैसा जुटाउन हम्मे पर्छ । झन ज्याला मजदुरी गरेर छोराछोरी पढाउनेलाई झन कति समस्या होला । हाम्रो खास सहयोग नै पढ्न रहर भएका तर विपन्न परिवारकालाई हो ।
घनश्यामले आफुहरुले सकुन्जले सहयोग गरिरहने बताउनुभयो । विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमका विच छात्रबृत्ति उपलब्ध गराईदैछ ।