रूपेन्द्र शेर्मा
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जनप्रतिनिधि मालिक नभई जनताको सेवक भएको बताउनुभएको छ । उहाँले नागरिकहरुलाई जनप्रतिनिधिहरुको काममा घच्घच्याउन समेत अनुुरोध गर्नुभयो ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लाबारी–७ को तेस्रो साधारणसभालाई बुधबार सम्बोधन गर्दैै फागोले सो कुरा बताउनुभएको हो । आफूले तिरेको करको सदुपयोग भए नभएको हेक्का राख्न समेत फागोले अनुरोध गर्नुभयो ।
देशमा व्याप्त भ्रष्टचार नियन्त्रण गर्न सके ६५ बर्ष उमेरमै सरकारले बृद्ध भत्ता दिन सक्ने उल्लेख गर्दै फागोले अघिल्लो सरकारले गरेको जनहितकारी निर्णयलाई वर्तमान सरकारले कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । जनताले तिरेको करबाट नेता र कर्मचारी मोटाउन नहुने बताउँदै फागोले कर तिरेर जनता ढुक्क सँग नबसि त्यसको सदुपयोग भए नभएको बारेमा हेक्का राख्न सचेत गराउनुभयो । उहाँले ज्येष्ठ नागरिकको अनुभवलाई अनुशरण गर्न सकेमात्र सामाजिक सदभाव कायम रहने र समाज अगाडि बढ्न सक्ने बताउनुभयो ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लाबारी–७ का अध्यक्ष गोपाल थापाको अध्यक्षतामा भएको सो सभामा वडाध्यक्ष बीरबल थापा, ज्येष्ठ नागरिक नगर समन्वय समितिका सचिव ज्ञानप्रसाद निरौला, स्थानीय समाजसेवी जयधर्म आचार्य, सुर्यप्रसाद गुरागाईलगायतले बोल्नुभएको थियो ।