झापा । नेपाल जेसीजले सञ्चालन गरेको राष्ट्रिय तालिम सप्ताह अन्तरगत बुधवार काभ्रेको भकुण्डेबेसी जेसीज र झापाको सुरुङ्गा जेसीजको आतिथ्यतामा सम्पन्न भएको छ ।
क्षेत्र ‘ग’ अन्तरगत भकुण्डेबेसीमा भएको तालिम यो क्षेत्रको अन्तिम हो ।
भकुण्डेबेसी जेसीकी अध्यक्ष रुकमणी सिग्देलको सभापतित्वमा सम्पन्न तालिममा स्थानीय निकायका प्रतिनिधि, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विभिन्न सहकारीका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्षलगायत ६७ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजु केसीले गरेका थिए । तालिममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष पदमविक्रम सिंह, राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मीलगायतको सहभागिता रहेको थियो ।
यसैगरी, क्षेत्र ‘क’ अन्तरगत सुरुङ्गा जेसीजको आतिथ्यतामा तालिम सम्पन्न भएको छ । आतिथ्यता शाखाका अध्यक्ष भीम भट्टराईको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त अनिलबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा संस्थापक अध्यक्ष लिला चिमरिया, क्षेत्रीय सम्मेलनका निर्देशक तथा पूर्व अध्यक्ष कुमार पोखरेल, पूर्व अध्यक्ष शिव कडेँललगायतको सहभागिता रहेको थियो । विभिन्न शाखाका अध्यक्ष, पदाधिकारीहरु सहितको तालिमको सहजीकरण प्रशिक्षक रमेश अर्यालले गरेका थिए ।
तालिम अन्तरगत क्षेत्र ‘क’ को अन्तिम तालिम विहिवार मेचीनगर महिला जेसीजको आतिथ्यतामा हुनेछ ।