• पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ ।

    प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन ।

     

    गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो । घरमा झादम्पती मात्रै बस्दै आएका थिए ।

    श्रीमती पहिलो तलामा सुत्थिन् भने उनी भुइँ तलामा । घर बन्द भएकाले कसरी हत्यारा घरभित्र छिरे भन्नेमै प्रहरी अल्झिएको छ । जसले ‘हाइप्रोफाइल मर्डर’ अनुसन्धानमा प्रहरीले केही तथ्य भेटाउन सकेको छैन ।

    दुई सातासम्म प्रहरी अनुसन्धान झाको घरमा काम गर्ने तीन कामदारमाथि नै घुमेको छ । झाको घरमा काभ्रे स्थायी घर भएका ४८ वर्षिय कान्छाराम तामाङ घरेलु कामदारका रुपमा कार्यरत थिए ।

    बेलुका सुरक्षागार्डको काम पनि उनले नै गर्दथे । गेट नजिकैको टहरोमा सुत्दथे । प्रहरीको सबैभन्दा ठूलो आशंका उनैमाथि छ । त्यस्तै सो घरमा हरेक दिन बिहान मालीका रुपमा काम गर्ने ५३ वर्षिय आइतेसिंह तामाङ र गोरखाका ५६ वर्षिय जयबहादुर गुरुङलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

    उनीहरुमाथि झुटो बोलेको पत्ता लाग्ने ‘पोलिग्राफ टेस्ट’ समेत भइसकेको छ । तर, हत्यामा संलग्नताको कुनै तथ्य भेटेको छैन । कान्छारामको पोलिग्राफ टेस्टमा कैफियत भेटिएको स्रोत बताउँछ ।

    सो घटनाको धेरै कोणबाट अनुसन्धान भइरहेको र थप केही कुरा बुझ्नुपर्ने देखिएकाले कामदारलाई थुनामै राखिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह बताउँछन्  ।

    स्रोतका अनुसार घटनास्थलमा भेटिएको ‘फिंगरप्रिन्ट’ लगायतको रिपोर्ट नआएसम्म उनीहरुलाई थुनामै राख्ने प्रहरी तयारी छ ।

    अनुसन्धानमा आबद्ध प्रहरीको भनाईमा घटनामा घर बाहिरका सदस्यको संलग्नता ज्यादै न्यून देखिन्छ । जसकारण प्रहरीले कामदार बाहेक अन्य व्यक्तिमाथि अनुसन्धानमा चासो दिएको छैन । प्रहरीको तालिमप्राप्त कुकुरले पनि घटनामा घरभित्रकै व्यक्तिको संकेत गरेको थियो ।

    घटनास्थलको प्रकृतीका आधारमा यो निकै योजनाबद्ध र रहस्यमय हत्या भएको प्रहरी अधिकारीहरु बताउँछन् । किनकी घटना बन्द घरभित्र भएको छ ।

    अहिलेसम्मको अनुसन्धानमा हत्या गर्ने व्यक्तिहरु पहिलो तलामा रहेको झ्यालको जाली काटेर भित्र छिरेको आँकलन गरिएको छ । तर, त्यसको विश्वस्त आधार छैन ।

    झ्यालको जाली थोरै मात्र काटिएको छ, जहाँबाट मान्छे भित्र छिर्न सम्भव छैन । त्यसबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुनसक्ने अर्काे आँकलन गरिएको छ । तर, जाली पहिले नै काटिएको जस्तो खिया लागेको छ र झ्यालको धुलो हेर्दा त्यहाँबाट कोही प्रबेश गरेको जस्तो देखिन्छ । घरका अन्य सबै झ्याल ढोका बन्द थिए ।

    जून झ्यालको जाली काटिएको छ, त्यही कोठामा झाकी श्रीमती सुत्ने भएकाले उनले थाहा नपाउनु घटनाको अर्काे रहस्य छ । उमेर र रोगका कारण उनकी श्रीमती कमजोर भएकाले पनि उनले भनेका कतिपय कुरामा प्रहरीले विश्वास गरेको छैन । कसैले प्रहरी अनुसन्धानलाई तोडमोड गराउन पनि झ्यालको जारी काटिएको आँकलन समेत गरिएको छ ।

    पहिलो तलाको झ्यालबाट छिर्न पनि कम्तीमा २५ फिट लामो भर्‍याङ प्रयोग गर्नुपर्छ । तर, भर्‍याङ प्रयोग गरिएको कुनै संकेत भेटिन्न । आपँको रुखबाट घरको छतमा जान सक्ने अवस्था छ । तर, छतबाट घरभित्र छिर्ने ढोकामा डबल लक थियो ।

    हत्या गर्ने व्यक्तिले झाकै घरको किचनमा रहेको चक्कु प्रयोग गरेका छन् । किचनमा चक्कु राख्ने छुट्टै ड्रयर छ । किचनमा सो ड्रयरमात्र खोलिएकाले पनि घरको बारेमा जानकार नै व्यक्तिले हत्या गरेको हुनसक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । अर्काेतर्फ छोरा–बुहारी विदेश गएको दोस्रो दिनमा हत्या हुनुले पनि परिचित व्यक्तिको संलग्नताको आधार बलियो छ ।

    अर्काेतर्फ झाको कसैसँग दुश्मनी रहेको पनि पत्ता लागेको छैन । बुढानिलकन्ठको जग्गा बेच्ने क्रममा भने उनको केही सामान्य विवाद भएको थियो । त्यसलाई आधार बनाएर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    हत्या गर्ने व्यक्तिले घरबाट केही लगेका पनि छैनन् । हालसम्म प्रहरीले अनुसन्धानको बाटो नै पत्ता लगाउन सकेको छैन । दुई साता बित्दा पनि ‘हाइप्रोफाइल मर्डर’ पत्ता नलाग्दा प्रहरी अनुसन्धानमाथि दबाब बढ्दै गएको छ । मृतक झाकी छोरीले प्रहरीमा जाहेरी दिइसकेकी छिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…