• हरि कोइराला
    दुर्गापुरी(मोरङ) २० भदौ । मुलुक सङ्घीय संरचनामा गएपछि देशका सबै जसो कार्यालयले नयाँ स्वरुप पाएका छन् । कर्मचारी र भवन मात्र होइन, धेरै जसो सरकारी कार्यालयको नाम र सेवा क्षेत्र समेत फेरिएको छ । तर मोरङ जिल्ला सदरमुकाम बाहिरको एक मात्र राजघाट आयुर्वेद औषधालयलाई भने संघीय संरचनाले न छोएको छ , नदेखेको छ । ३५ वर्ष अघि निर्माण भएको कुचुक्क परेको उही जीर्ण भवन बाटै सञ्चालन भइरहेको छ ।
    उर्लाबारी– वरडङ्गा सडक कालोपत्रे हुनु भन्दा पहिले निर्माण भएको भवन अहिले सडक भन्दा होचो स्थानमा पर्छ । सडक २ फिट अग्लो बनेपछि सडकको पानी औषधालय तर्फ जान थालेको छ । बिभागले न त नियमित रङ्ग रोगन गर्ने वजेट पठाउँछ , न स्थानीय सरकारले नै सहयोग गरेको छ । साविक राजघाट ९ को दुर्गापुरी बजारमा अवस्थित राजघाट आयुर्वेद औषधालय हाल उर्लाबारी नगरपालिकाको वडा नं.८ मा पर्छ । २०४० सालमा स्थापना भएको औषधालय ३५ वर्षयता उही भवन र उही दरवन्दीका भरमा चलिरहेको छ । उसबेला साविक राजघाटको जनसङ्ख्या मुस्किलले १० हजार थियो । सडक, सञ्चार र शिक्षाको अभाव भएका बेला राजघाटबासीको उपचार गर्ने उदेश्यले राजघाट आयुर्वेद औषधालय स्थापना भएको थियो । तर अहिले झण्डै १ लाख जनसंख्या पुगेको उर्लाबारी नगरपालिका क्षेत्रका वासिन्दा औषधालयबाट सेवा लिइरहेका छन् ।


    औषधालयका कविराज इनदल साहले भन्नुभयो–‘विरामीको असाध्यै चाप छ । दैनिक ६०÷७० जना सम्म विरामी आउँछन् । पानी पर्दा कोठामा छाता ओड्नु पर्ने अवस्था छ । भवन जताततै चर्केको छ ।’साहले गत वर्ष छत पुन ढलान गरेपनि पानी चुहिने समस्या कम नभएको बताउनु भयो । साहका अनुसार सानो तिनो पानी पर्दा समस्या हुन्न । लगातार दुई÷तीन दिन पानी प¥यो भने चुहिन्छ ।’ उहाँले औषधालय नै असाध्यै विरामी परेको बताउनु भयो ।
    औषधालयमा २७ प्रकारका आयुर्वेदिक औषधि निशुल्क पाइन्छ । एक जना कविराज,एक जना वैध र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको औषधालयमा दरबन्दीको समस्या छैन । उर्लाबारी–वरडङ्गा सडक खण्डको दुर्गापुरी बजारमा ३ कट्ठा जग्गा भएपनि भवन जीर्ण हुँदा काम गर्न समस्या भएको कबिराज इनदल साहले बताउनु भयो । सबै सरकारी कार्यालयहरू नयाँ बने तर हाम्रो अफिस ३५ वर्ष पुरानो भइसक्दा पनि नयाँ बन्ने छाँट छैन् ,उहाँले विगतको तुलनामा आयुर्वेद प्रति विरामीको आकर्षण बढिरहेको समेत बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…