• काठमाडौँ, २१ भदौ । फोहोर संकलन गर्न सातामा ३ पटकसम्म आउने टयाक्टर र टिपर दुई सातासम्म नआउँदा घरभित्रै फोहोर कुहिन थालेको छ । राजधानीका सडकदेखि भान्सामै फोहोर थुप्रिएर दुर्गन्ध पनि फैलन थालेको छ ।

    दुई सातासम्म गाडी नआउँदा फोहोर कुहिएर कीरा पर्न थालेको पुरानो बानेश्वरकी शर्मिला थापामगरले गुनासो गरिन् । ‘फाल्ने ठाउँ छैन, मासिक शुल्क तिरेको गाडी फोहोर लिन आउँदैन,’ उनले भनिन्, ‘घरभित्रै फोहोर कुहिन थालिसक्यो ।’

    घरभित्रै फोहोर कुहिएर दुर्गन्धित हुन थालेपछि सर्वसाधारणले सडक, चोक, नदी किनार र सार्वजनिक स्थलमा मिल्काउन थालेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाको फोहोर संकलन गर्ने टान्सफर स्टेसन टेकु र बालकुमारीमा पनि डंगुर चुलिएको छ ।

    राजधानीको फोहोर गत असारदेखि नै नियमित संकलन हुन सकेको छैन । नुवाकोट सिसडोलको ल्यान्डफिल साइट चुलिएर काठमाडौं, ललितपुर र भक्तपुरको फोहोर नगरपालिकाहरुले उठाउन छाडेका छन् । फोहोर उठाउने जिम्मा लिएका निजी संस्थाले पनि काम छाडिदिँदा राजधानीका सडकमा फोहोरको चुली देखिन थालेका हुन् । वर्षाका कारण फोहोर बोकेको गाडी ल्यान्डफिल साइट जान सकेका थिएनन् ।

    काठमाडौं महानगरको वातावरण विभागले भने वर्षाका कारण फोहोर उठाउन ढिलाइ भएकाले राजधानीमा थुप्रो लागेको जनाएको छ । ‘झरीका कारण फोहोर उठाउन सकेनौं, वर्षा रोकिए एक सातामै सबै उठाइसक्छौं,’ विभागका प्रमुख हरि कुँवरले भने । घरभित्रै फोहोर कुहिने अवस्था आउँदासम्म व्यवस्थापनको वैकल्पिक उपाय भने तयार पारिएको छैन ।

    बुधबारबाट ३२ वटै वडामा फोहोर उठन थालेको र सिसडोलमा फोहोरका टिपर जान थालेको कुँवरले बताए । दैनिक २/३ टिप सिसडोल पुर्‍याउने टिपरले ३ दिनमा एक टिप मात्रै ढुवानी गर्दा फोहोर उपत्यकामै थुप्रेको महानगरका फोहोरमैला व्यवस्थापन इन्चार्ज सरकारदीप श्रेष्ठले बताए ।

    सिसडोल ल्यान्डफिल साइटमा सन् २०१७ पछि फोहोर नफाल्न फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्रको विज्ञ टोलीले सुझाव दिएको थियो । तर, काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ नगरपालिकाले अझै त्यहीँ फाल्दै आएका छन् ।

    महानगरकै प्राविधिक टोलीले अहिलेको ठाउँमा ३ महिनाभन्दा बढी फोहोर फाल्न नसकिने जनाएको छ । तैपनि, विकल्पको खोजी हुन सकेको छैन । सरकारले निजी क्षेत्रलाई जिम्मा दिएको फोहोरमैला व्यवस्थापनाको परियोजना लगानी बोर्डमा पुगेर कागजी अलमलमा सीमित छ ।

    राजधानीको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न काठमाडौं महानगरपालिकाले गठन गरेको कार्यदलले समेत काम गर्न सकेको छैन । कार्यदलका संयोजक महानगरपालिकाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको प्रदेश ४ मा सरुवा भएको छ ।

    उनको सरुवापछि कार्यदल नेतृत्वविहीन भएर विकल्पको खोजी गर्न नसकेको हो । विभागका प्रमुख कुँवरले भने मरहठ्ठाको ठाउँमा अर्को कर्मचारी सरुवा भएर आएपछि काम अघि बढ्ने बताए । कान्तिपुर दैनिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…