• रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल वी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका हुन् । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटकपटक गरी १३ वर्ष जेल परेका छन् । प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल प्रजातन्त्रप्रतिको निष्ठाका कारण राजनीतिमा सफल भएको मानिन्छ । ऋषि धमलाले कांग्रेसका वरिष्ठ नेता पौडेलसँग अन्तरवार्ता लिएका छन् । टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छनका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    -रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

    तपाईहरुले प्रधानमन्त्रीलाई काम गर्न अवरोध गर्नुभएको हो ?
    सत्ता उहाँहरुको हातमा छ । अब के हामी उहाँहरुको चरणमा समर्पित हुनुपर्ने हो ? हामीले प्रधानमन्त्रीलाई काम गर्न रोकेकै छैनौँ । तर उहाँले काम गर्न नसकेपछि भन्नु त पर्यो नि ।

    सरकारले काम त गरिरहेकै छ नि ?
    महिला हिंसादेखि अनेक किसिमका घटना भइरहेका छन् । वाइड बडि विमान खरिद काण्ड भइरहेको छ । यस्ता काण्ड त रोक्नुपर्यो नि । हामीले विरोधका लागि विरोध गर्दैनौँ । तर विरोधीको धर्म त निभाउनुपर्यो नि । सरकारले जे गर्छ त्यसलाई ताली बजाएर देश स्वर्ग हुने भए म ताली बजाइदिन्छु ।

    यो सरकारको ६ महिनालाई कसरी हेर्नुभएको छ ?
    सरकारले केही पनि काम गरेको छैन भन्ने पनि होइन । तर हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात भनेजस्तो सुरुवातदेखि नै जुन किसिमले अगाडि बढ्नुपथ्र्यो, त्यो भएको छैन । समृद्धिको जगमा इट्टा राख्ने काम नै भएको छैन ।

    संघीयताका कारण सरकारलाई काम गर्न अप्ठ्यारो भएको तर्क गरिएको छ । तपाईलाई के लाग्छ ?
    मलाई त्यस्तो लाग्दैन । संघीयतालाई दोष दिएर हुँदैन । जनतालाई सत्ताको पहुँचमा ल्याउने हो । जनताको सहयोगबाट नै देश विकास गर्ने हो । सबै स्थानीय तहलाई उचित तरिकाले बजेटको बाँडफाँट गर्नुपर्छ । प्राकृतिक स्रोत साधन, वित्तिय परिचालनका लागि विज्ञहरुको सहयोग लिनुपर्छ । आवश्यकताअनुसार कर्मचारी र पूर्वाधार दिनुपर्छ । यसमा लागि त केन्द्र सरकारमा क्षमता देखिनुपर्छ ।

    सरकारले प्रदेश सरकार र स्थानीय निकायलाई वेवास्ता गरेको हो र ?
    प्रदेश सरकारलाई राम्रोसँग काम गर्ने वातावरण बनाउनका लागि बजेट दिनुपर्यो । स्थानीय निकायलाई पनि आवश्यकताअनुसार सहयोग गर्नुपर्छ । संघीयतालाई किन घाँडो भन्ने ? केन्द्रको सरकारले न कर्मचारी समयमा दिन्छ, न बजेट दिन्छ, न प्राविधिक सहयोग दिन्छ । साधन स्रोतको अभाव छ । यो त सबै केन्द्र सरकारले गर्नुपर्ने काम हो नि ।

    कर नीतिले जनतालाई समस्या पार्यो नि ?
    राज्यले उचित व्यवस्था गर्नुपर्यो । अनुचित कर रोक्नका लागि केन्द्रले स्थानीय निकायलाई बलियो बनाउने उपाय खोज्नुपर्छ । राज्यले बजेट दिनुपर्यो । जनतासँग कुन कुन शीर्षकमा कर लिने भन्ने विषयमा त केन्द्र सरकारले सिकाउनुपर्छ । जनताको ढाड भाँच्ने गरी कर लिएर हुँदैन । त्यसमा पनि किसानसँग त कर लिनै हुँदैन । कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा करको आतंक सृजना गरेर हुँदैन । कृषि क्रान्तिका लागि त कृषकलाई माथि उकास्ने नीति ल्याउनुपर्छ ।

    नेपालको राजनीति नै फोहोर भयो भन्छन्, तपाईहरुलाई यस विषयमा चिन्ता लाग्दैन ?
    राजनीतिलाई सम्मानित क्षेत्र बनाउँ । जनतामा वितृष्णा जाग्ने गरी कसैले पनि राजनीति गर्नुहुँदैन । प्रधानमन्त्रीले त जनताको सेवा गर्ने हो । नेताहरुले सम्मानयोग्य काम नगरेकाले जनता निराश छन् । सबै आफ्नो आँचरणमा रहनुपर्छ । जनताले पत्याउने नेता बन्नुपर्यो । व्यवहारिक रुपमा पनि लोकतान्त्रिक बन्नु जरुरी छ ।

    नेपाली कांग्रेस अब कसरी अगाडि बढ्नुपर्छ ?
    पहिलो कुरा त पार्टीमा आन्तरिक एकता हुनुपर्छ । पार्टी संचालन गर्दा निष्पक्षता र पारदर्शितालाई भुल्नुहुँदैन । सबै नेता कार्यकर्ताको चित्त बुझाउन सक्नुपर्छ । पार्टी संचालनको सिष्टम बसाल्नुपर्छ । लोकतान्त्रिक ढंगले पार्टी संचाल्नुपर्छ ।

    तपाईले भनेजस्तो तरिकाले किन कांग्रेस चल्न सकेन ?
    मैले भनेजसरी सभापतिले नचलाएका कारणले हो । मैले बारम्बार भनेको छु । तर उहाँले मान्नुभएन वा मान्न दिइएन, वा गर्न भ्याउनुभएन कि सक्नुभएन, त्यो उहाँलाई नै थाहा होला ।

    १४ औँ महाधिवेशनमा तपाई सभापतिको उम्मेदवार बन्ने सम्भावना कति छ ?
    सभापतिको उम्मेदवार त जो पनि हुन सक्छ । मैले पार्टीलाई प्राथमिकतामा राखेको छु । म के गर्छु भन्ने भन्दा पनि पार्टीलाई कस्तो बनाउने भन्ने मेरो चिन्ता हो । १३ औँ महाधिवेशनमो निकटतम प्रतिस्पर्धी हुँ । त्यो आफ्नो ठाउँमा छ । अहिले त म पार्टी सुधारको लागि केन्द्रित छु ।

    तर तपाई पनि सभापतिको बलियो दाबेदार त हो नि ?
    यसको मूल्याङ्क म आफैँले गर्ने होइन । पार्टीका साथीहरुले गर्ने हो । म देश दौडाहामा जाँदैछु । साथीहरुसँग भेटघाट गरेर कुराहरु सुन्छु । उनीहरुबाट प्राप्त सुझाबका आधारमा अगाडि बढ्छु ।

    पछिल्लो समय तपाईकै गुटभित्र विवाद देखिन थालेको चर्चा छ नि ?
    मेरो कसैसँग पनि सम्बन्ध नराम्रो छैन । शशांक, शेखर, रामशरण, सिटौला, प्रकाशमान लगायत सबैसँग मन मिलेको छ । कांग्रेसलाई बलियो पार्टी बनाउने कुरामा हामी एकमत छौँ । हामी मिल्नुको विकल्प पनि छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…