• कथा

    ‘तैँले यही घेरोभित्र हिँड्नू’ विशिष्ट वस्त्र लगाएका मानवले भनेपछि तलवितल गरिरहेकी मैले आफनो बाटो भेटेँ भन्ने भएको थियो । आजसम्म म साँच्चै नै गलत बाटोमा थिएँ या जुनसुकै बाटोमा हिँड्दै थिएँ हूँला त्यसबेलासम्म । मेरा पाइताला मेरा यात्राका मालिक थिए भन्ने सोचेकी हुँ । सधैँ अनिर्णित बाटो हिँड्दा हिँड्दा मलाई वाक्क भएको थियो । मनमा शान्ति थिएन । मानव मण्डलीको एकता , सन्त भजनको अनुराग, अगरबत्तीको राग, माइकको आवाज, घन्टी र ध्वजाहरु मभित्र पसेर हल्लाउँथे । हुन त म पहिला पनि भक्त नै थिएँछु । सायद जन्मदै हो कि ! मभित्र कुन ईश्वर थियो ? मैलाई थाहा नभएपछि मेरो अबोधपनाले मलाई लघार्यो , हुनसक्छ । ईश्वर लुगाबाट साबुनले पखालेको धुलोझैँ अलिकति रहँदै धेरै सिनित्तै गयो ।  खोइ कतिखेर सुरु गर्यो मेरो एउटा ईश्वरले अन्त्य हुन र कतिखेर सुरु गर्यो अर्को ईश्वरले गर्भीत हुन !! फेरि गर्भ छालामा टाँसिएजस्तो भएछ । गर्भस्थलमा गर्भ नबसेर छालामा टाँसिएपछि सधैँ यसलाई छोप्नुपर्ने, ढाक्नुपर्ने भयो ।
    -------------------------------------------------------
    कसो कसो म निकै सन्त भएँ । कडा नियम र कानुन पनि मलाई थाहा भयो । हुन त मलाई पूरापूरी डामिएनछ पनि तर छालामा डामहरुजस्तो केही भएकै थियो । कठोर तपस्या मेरो नयाँ यात्राको मूल विशेषता थियो । लागेको थियो मेरो अब सप्पै समय ध्यान र ज्ञानमा डुबेर बित्ने छ । मनभित्र अर्कै के हो कुन्नि  थियो अड्केकोजस्तो भएर बसेको । तर विस्तारै ध्यानतिर मन जान थाल्यो । तरुनी साधु, अपरिपक्क अवस्था । ‘सोच् , नजा ’ बुबाआमाले धेरैबेरसम्म सम्झाउनुभएको थियो  । सम्झेँ , बाँच्नु त आफैँले हो । फेरि किन अलमलिनु ? ‘हेर , नजाऊ त्यता, साह्रै साँघुरो हुन्छ त्यहाँ, तिमी उड्ने चरीलाइर्, उडान भर्न पर्छ , तामसिक निर्णय नगर , मलाई सबै थाहा छ , म गएरै आएको हुँ ।’ यसरी केही विद्वानहरुले निकै सम्झाउनु भएको थियो । खोई  किन हो कुन्नि मलाई कसैको कुरा भन्दा पनि मेरै विचारमा पनि यो सात्विक यात्रा हो र यसको निर्णय मेरा लागि परम ईश्वरीय प्राप्ति जस्तो थियो, त्यतिखेर त्यस्तै लाग्यो । मेरो दृढताले नै मलाई आजको मजस्तो हुन सिकायो भन्ने लाग्छ ।
    मान्छे प्राकृतिक पटक्क होइन । यो हुन सक्दैन । म के हुन्थेँ कसैलाई थाहा छैन । म जे हुँदै गएँ , त्यसैलाई ठीक र बेठीक भन्नेहरुको उपस्थिति भने पाइयो । के हुनुपर्छ भन्ने पनि कसैलाई थाहा रहेनछ । मलाई बनाउनेले बनाएर पछुतो गरेको पनि पाइएन, बनाएर खुशी भएको पनि पाइएन । समाज भनेको बनाउन अभ्यास मात्रै गर्ने चिज रहेछ ।
     मेरो अनकण्टार सानो गाउँको लागि मेरो लगानी  नारीको सन्तत्वको प्रथम उद्घोषझैँ भइरहेको थियो । मेरो धारणा, मेरो प्रस्तुति, मेरो लगनशीलताले मेरा गुरुले नयाँ अवतार लिने नयाँ सन्तको उदय हुने सपना देख्न थालेको पनि साँचो नै थियो ।
    मेरा यात्राका प्रथम चरणमा निकै ठुलठुला किताबहरु , आहारविहारका प्रवचन, आचरण विचरणको प्रवचनले म प्रशिक्षित हुँदै गएँ  । ‘घेरो’ मेरो यात्राको मूल पथ । ठूलो गोलो घेरोबाट मैले आफना यात्रालाई गोलो घुमाइरहनुपर्ने भयो । सजिलो तर कठिन यात्रा । सजिलो कतै नगइने , सहजरुपमा वरिपरि घुमिरहन पर्ने । कठिन , एकैरितले एकै प्रकारले  , उही रुपमा हिँडिरहनुपर्ने । साह्रै उत्साहपूर्वक म आफूले हिँडेको बाटोमा थिएँ । मैले नै सबैभन्दा राम्रो गरिरहेछु भन्ने गौरव पनि थियो । मैले धेरै युवाहरुलाई यस अनुशासनको बारेमा प्रशिक्षण पनि दिएकी थिएँ ।  आज त प्रवचनमा गुरुले मेरो योगदानको चर्चा गर्नुहोला भन्ने सोचेर मैले धेरै उषा र सन्ध्या बिताएँ । मेरो विशेषता हो धीरता ।मेरो कामको फल प्राप्त गर्ने आशा थियो ।  मैले काम गर फलको आशा नगर भन्ने गीतावाणीलाई सम्झे पनि फलको आशा राखेरै धीरतालाई धीर बनाइरहेँ ।
    ---------------------------------------------------------------------
    मलाई नियम मन पथ्र्यो । म नित्य नियममा रहन्थेँ ।  मेरो दैनिक कार्यका लागि फूल गोड्नुपर्ने कार्य छुट्याइएको थियो । मेरो परिश्रमले फूलहरु मुस्कुराउन थाले । म फूलमा ईश्वर देख्न थालेँ । फूलका पात र बोटहरु मसँग बात मार्न थाले । मैले त्यहाँको माटोलाई हृदयसँग जोडेर हेर्न थालेँ । अब मेरो मन्दिर कम र बगैँचा धेरै नजिक हुन थाल्यो । तर  दैनिक तालिका भने कडा थिए । आफैँलाई मन परेका नियमहरु भत्काएर नयाँ नियम बनाउन मन लाग्दै गयो । तर अहिलेलाई त्यो सम्भावनाको खालीपन थियो । एकदमै परहेजमा रहनुपर्ने । दायाँबायाँ केही स्वाद, वासना, रङजस्ता विषयमा चासो राख्न मनाही थियो । फूल रोपेर फूलको प्रशंसा गर्न नहुने, फूल सुँघेर फूल मन पर्यो भन्न नहुने । छरछिमेकको जस्तो त झनै गर्न नहुने । हेर्दा हेर्दै बगैँचाको वरिपरि ठूलाठूला रुद्राक्षका रुखहरु लगाइए । आउने जानेले पनि रुद्राक्षका रुख हेरुन् र तिनकै कुरा गरुन् , भित्रसम्म तिनको नजरदोष नजाओस् भन्ने थियो ।
     छरछिमेकलाई पन्छाउन पटक्क हुँदैन । लाग्छ कहिलेकहिँ यी छिमेकी नभएका भए हामी रित्ता हुन्थ्यौँ । यिनीहरुले सन्तत्व मानिदिएका भए मेरो सत्वले सन्तत्वको परिभाषा नै बदल्ने थियो । सजिलो गरी वर्जित गर्नलाई पृष्ठमा दृष्टान्त चाहिँदो  रहेछ ।  । उनीहरुका तामसिक भोजनका बासना हरहरी नआउने भए मेरो आस्थाको मन्दिरमा खानेकुराको स्वादमा वर्जित गर्ने कुनै   सामथ्र्य हुने थिएन । उनीहरुका पाइतालामा रौनक नभए मेरो आस्थाको बगैँचामा वर्जित गर्ने पदचापका नियम बन्ने थिएनन् ।
    ---------------------------------------------
    जून पुज्छु म तर जून मन पर्यो भन्न सक्दिन, नदीमा नुहाउँछु तर नदीमा अघाउँजी खेल्न सक्दिन, वनविहार गर्छु तर वन घन्काउन सक्दिन । मलाई राम्रै सम्झना छ , सन्त वस्त्रका भित्र मौलाएको जूनलाई हेर्न खोज्दा मेरा नाममा सभा (हामी यतिखेर सभालाई मिटिङ भन्छौ) नै  हुन थाले । आफैँले रोपेको फूल मनपर्छ ः बगैँचा घुम्न नहुने, नदी मनपर्छ ः यसको उद्वेग मनसँग गाउन नहुने , चरा मनपर्छ खुराक दिन हुन्छ  ः छुन हुँदैन, चराको उडान भर्न हुन्न । जून, शीत , रात, प्रेमका गीत गाउन नहुने । मैले आफैँलाई धेरै पटक चिमोटेर हेरेँ , मसँग संवेदनाहरु म्रिरहेका थिए सायद , साह्रै मन्द भएजस्ता लागे । मैले रोपेका सुन्दर फूल टिपेर मन्दिरमा चढाउने , सन्तत्वको विकास गर्ने दैवी सिद्धान्तका बीचमा देवपूजालाई जन्माउने , आँखाले अर्को आकाश नदेख्ने ईश्वरीय आस्थाले मलाई पनि प्रतिदिन मन्द मन्द मार्दै लग्यो कि ? एकदिन मैले वेदीमा बसेका दिप्तमान गुरुलाई सोधेँ — ‘गुरु ! संवेदनाहरु मरिरहेका छन् कि मभित्र ?’ गुरुले साह्रै उत्तेजना भरेर भन्नुभयो—‘मर्न देऊ, ती सब मरुन् र नयाँ बनाउन सक्छ्यौ देवी ! ’ गुरुवचनले मलाई सतायो ।  मैले आफूलाई पृथक देख्ने आधार नै मरेपछि म कसरी परिभाषा खोज्न सक्छु भन्ने पीडाले मलाई सताउन थाल्यो । आफूले साह्रै प्रिय गरेर पालेको आस्थालाई भत्काउनु पर्दा पापको नदीमा नुहाउनु पर्ने भविष्यको आभास मलाई भएको पनि हो ।
    सन्ध्याकालीन मौसममा हामी मन्त्र जपिरहँदा हामीबाट म अलग्गै छुजस्तो लाग्न थाल्यो । केही दिन अघि घेरोको केन्द्रतिर प्रवचनमा अचानक एकजना साधू देखिए । मधुर वचनमा दिएको प्रवचनले शान्ति मिल्दै गएको थियो । संसारमा मानवमुक्तिका लागि आएका धेरै विषयलाई उनले खोतले । फ्रायडको ‘यौनजीवनको विनिमयबाट पनि मानिस मुक्त हुन सकेन, कार्लमाक्र्सको वर्गीय संघर्षबाट पनि मानिस मुक्त हुन सकेन । येशुको धर्मले पनि मानिसलाई सन्तुष्ट बनाएन । शिव विष्णुहरुबाट पनि मानिस पूर्ण सन्तुष्ट भएका छैनन् । बुद्धले पनि यो खाँचोलाई निर्वाह गर्न सकेनन् । ओशोले पनि उत्तिकै मुक्तिको खोजी गरिरहेका छन् । साइबाबाको ध्यान पनि उत्तिकै उल्लेख्य छ । तर पनि  मानिस सधैँ मुक्ति खातिर तड्पिरहेको छ । तपाईँ हामीले यसको खोजी गर्नु छ’ गुरुले यति भन्दै सबैलाई आफूलाई लागेको विचार व्यक्त गर्न हात उठाउन लाउनु भयो । सबैले आफ्ना आफ्ना तर्क दिए ।
    -------------------------------------------------------------------
     मैले पनि भनेँ —‘ देव, जीवनको  मुक्तिको मुख्य आधार मन विनिमय रहेछ । ’ मेरो भनाइ वर्जित भयो । मन विनिमय मेरो आस्थाको वर्जित विषय हो । मनले विषयसुखलाई पनि संवोधन गर्नसक्छ भन्ने उनीहरुको तर्क केन्द्रमा आयो । मनलाई नियन्त्रण गरेर ईश्वरमा लीन भएपछि मात्रै मुक्ति मिल्छ भन्ने मेरो आस्थामा मैले मनलाई मुख्य स्रोत मानेपछि म सन्त मण्डलीमा निकै आलोचित हुन पुगेँ । तर जुन कुराको सुखका लागि भए पनि मन केन्द्रमा आउँछ । यसैलाई नियन्त्रण गरेपछि यो जत्तिको नसियत अर्को हुन सक्दैन भन्ने मेरो राय थियो ।
    म निकै निराश पनि थिएँ । मुक्ति ! मुक्ति !! सारा मानवमात्रको खोजी यही थियो । मैले मान्छेबाट मुक्ति खोजेको ? कि मैले समाजबाट ? कि मैले मानवचोलाबाट ? कि मैले बाँच्ने सिलसिलाबाट ? कि गरिबीबाट । कोही न कोही यी विषयबाट मुक्त छन् तर सुखी किन छैनन् ?  मनका यी अस्वाभाविक विचारहरुलाई विनिमय गर्ने मान्छे मैले पाएको पनि थिइँन । यी नयाँ साधूले मेरो मर्का बुझिदेलान् भन्ने लाग्यो । दह्रो विश्वास भयो किन हो उनीसँग । उषाकालीन स्नानदेखि सन्ध्याकालीन आरतीसम्म पनि मैले उनलाई एकान्तमा मेरा व्यथा बिसाउने अवसर खोजीरहेँ । मेरा मनभरि भएर आउन थाले उनी । मेरो बगैँचा गोड्ने समयमा उनी बगैँचामा टहलिन आउँथे । उनका वरिपरि अरु साधूहरु उनका मधुरवचन सुन्न आउँथे । मैले मौका पाइरहेकी थिइँन ।
    -------------------------------------------------------------
    धेरैदिनदेखि मेरा मनमा यस विषयमा उनीसँग तर्कवितर्क गर्न मन थियो । तर सबैका माझमा मेरा तर्क अशोभनीय हुन्थे कि भन्ने लागेको थियो । एकदिन सन्ध्यामा उनी मेरो छेऊमा उभिन आइपुगे , म थरररर कामेँ , उनले भने —‘साह्रै करुणाले पुष्प स्यारिरहनुभएको छ देवी , तर अनुहारमा कान्ती छैन , केको शोक छ ?’ मेरो छेऊमा आइदिए म कति विन्ति बिसाउँदी हुँ भनी सोचिरहने म मौका पाउँदा अवाक् भएँ , प्रणाम् गरेर झुकिरहेँ । ‘मन अशान्त भए ध्यान गर्नुहोस् देवी, मनका पीडा बाहिर निकाल्नुहोस् , मुक्ति पाउनुहोस् ’ भने र अलिक पर टहलेर बिसाउन बनाएको बिसाउनीमा बसे । मलाई मुक्ति मिलेझैँ भयो । उनी मैतिर नजर केन्द्रित गर्दै गोजी पात्रो झिकेर केही गुनगुनाउँदै थिए । मैले आँट बटुलेँ र यो मौकालाई चुकाउन नदिने सोचेर उनीतिर पाइला बढाएँ ।
    सन्ध्याले छपक्क छोप्तै थियो र फूलहरुमा  जून छरिएको थियो । म उनका सामु पुगेँ र भनेँछु  — ‘देव, आरतीको बेला भयो , सबै भेला भइसके । ’ उनी सकस मान्दै उठेजस्तो उठे र गए । मलाई आफैँलाई साह्रै सरम भयो , पछुतो पनि । मैले आज भन्नै पर्ने केही भनिन । साह्रै असल मौका चुकाएँ । मेरो मन साह्रै गह्रुँगो भयो । रातभरि उनै कुरा र दृश्यहरु आँखाभित्र बाहिर गरिरहे ।
    उनी मेरो मनको वरिपरी हुन थाले । सन्ध्यामा कहिलेकहिँ उनी मैले बजाउँदै गरेको डमरु समाउन आउँथे । कहिले चढाउन लागेको पुष्पलाई आधाभाग लाउन भन्थे ।  दुर्गा, शिव, कृष्ण, विष्णु प्रत्येकलाई एकसय आठपटक सम्झना गरेर भनेँ –‘प्रभु, मुक्ति दिनुहोस् । उनको ध्यान मबाट हरण गर्नुहोस् । यो साह्रै नकाम हो । यो साह्रै अनर्थ भइरहेछ । ’ तर  कुनै बन्धनले पनि उनको आगमनलाई नरोकेपछि मेरो ध्यान साह्रै गलित भयो ।  एकदिन मैले उनलाई आरतीको बेला साँझमा फूल टिप्न झुक्दा  “म त साह्रै दरिद्र भएँ देव , म के गरुँ ?” भनेँ । उनी मुसुक्क हाँसे र ‘बगैँचामा आउँला’ भने ।
    बगैँचाका बोटविरुवाहरुले निकै स्याहार पाउन थाले । पानी र मल पाउन थाले । मेरा ओठमा भजनको रागहरु आलापिन थाले । रुद्राक्षको बोटबाट चियाउने घाममा पनि बेग्लै अनुराग भेटिन थाल्यो । अग्रिम उषादेखि नै बगैँचामा मेरो कर्म क्रियाशिल रहन थाल्यो । उनी हातमा रुद्राक्षका एकसय आठ दानाको माला गन्दै बगैँचामा टहल्न आइरहन्थे । एकदिन उनले मन्दिरलाई चाहिने पुष्प टिपिमाग्दै भने —‘ देवी, भन्नुहोस् , तपाईँको दारिद्र्य हुनाको भाव के हो ?’ मैले मौकालाई नचुकाइ भनेँ—‘मनको विनिमय’ ।
    ‘फूलसँग गुनगुनाउनुहोस्’ उनले भने
    ‘फूलबाट सुन्न सकिँदैन । ’ मैले जवाफ गरेँ
    ‘चरासँग संवाद गर्नुहोस्’ । उनले सम्झाए
    ‘जवाफ फर्र्किँदैन ।’ मैले भनेँ
    ‘हेर्नुहोस् देवी ! मन साह्रै चन्चल हुन्छ , यसलाई नियन्त्रण गरेर नदी, विरुवा, आकाश, वादल, पानी, फूल, माटो , घामसँग संवाद गर्नुहोस् , विस्तारै आफैँसँग सवाल जवाफ गर्नुहोस् , बिस्तारै सन्तत्व प्राप्त गर्न सक्नुहुन्छ । ’ उनले अझ नजिक आएर सम्झाए ।
    ‘मानवीय संवेदना जत्तिको नजिक मैलै केही पाइन देव, मन मानिसको प्रिय कुरा हो । स्वच्छन्दता, नियमसहितको स्वतन्त्रता, वाद प्रतिवाद , विचार, बुद्धि , भाव सबै सबैमा संवादको आवश्यक्ता छ । बुद्धिका ठेलीहरु राख्न पृथ्वीलाई भार परिरहेको छ , संग्रहालयहरु पनि कायल छन् । हामी बुद्धिले धन र धनले दुश्मन कमाइरहेका छौँ । हामी बुद्धिले ज्ञान, ज्ञानले मान र मानले अहम कमाइरहेका छौँ ।मनले अहम बोक्तैन ।  मनको विनिमय गरौँ , यसको कुनै भार कसैलाई छैन , मनको विनिमय नै मुक्तिको आधार हो ।’ मेरा कुरा सुनेर उनी एकछिन चुप भए । वरपर टहलिए । म फूल स्याहार्ने नित्य कर्ममै थिएँ । फेरि मनेर उभिएर भने उनले —‘मन त शरीरसँग जोडिएको हुन्छ , फेरि यो वर्जित कर्ममा पनि जुट्न सक्छ ?’
    ‘शरिरसँगको विनिमय मनको विनिमयभन्दा धेरै पछिको कुरा हो देव ! मनको गम्भीर विनिमयले मानवसमाजका धेरै विकृतिहरुको समापन हुन्छ । सुर असुर सबै कर्मलाई मनले निर्देशित गर्छ । संवाद गर्यौँ भने यी सबै विषयमा विजय प्राप्त गर्न सकिन्छ देव ! संसारका सबै असुर कर्महरु पनि संवादबाट मनको नजिक आउन सक्छ देव ! तपार्इँ के भन्नुहुन्छ ? ’
    ‘म सोच्तछु यसमा ’
    ‘रुनु र हाँस्नुको पनि मनसँग सम्बन्ध छ , हाँसे रोए मन साह्रै हलुका हुन्छ । मनभित्र पाकेका भावहरु पोख्न समानार्थी मन भयो भने देव , हामी हाम्रा सारा असहज कामहरुमा विजय पाउनसक्छौँ । जोश, जाँगर, हिम्मत, आँट, प्रेम, स्नेह सबै मनले दिने चिज हुन् । ’
    ‘तपाईँको मनको असन्तुष्टि के हो देवी ?’
    ‘खासगरी ‘घेरो’ मेरो संवादको विषय हो देव ! यो चक्रपथबाट बाहिर हेर्न नपाउँदा त्यहाँको मान्छेका मनसँग संवाद गर्न सकिन्न । अलिकति पनि मात्रा बिग्रियो भने त्यो वर्जित क्षेत्रमा पर्छ । वस्त्रका रङ , भजनका शास्त्रिय भाव, भोजनपद्धतिलाई पनि विचाराधीन राख्नुपर्छ । कठोर साधनाले मुक्ति प्राप्त त हुन्छ तर कठोर अभिव्यक्ति, कठोर प्रस्तुति, अरुको नसुन्ने पद्धति कठिन सुत्र भए । आफूलाई पाउन त अरुलाई सुन्नुपर्छ, अरुलाई देख्नुपर्छ, अरुलाई भेट्नुपर्छ । अरुको छेउमा उभिएपछि मात्रै आफूलाई भेट्न सकिनेरहेछ देव । घेरैघेरो कति हिँड्नु ? साह्रै कठिन तेर्सो हिँड्दा शिखर पुगिएन देव ! ’
    केही बटुकहरु सन्ध्याआरतीलाई गुरुलाई बोलाउन आए । उनी उता लागे । यति संवादले पनि मलाई मुक्ति प्राप्त गर्ने मार्ग प्रशस्त गरेको लाग्यो ।  मैले पनि आरतीलाई चाहिने फूल टिपेर मन्दिरतिर लागेँ ।
    --------------------------------------------------------
    मन्दिरमा निकै ठूलो सभाको व्यवस्था भइसकेको रहेछ । बगैँचाको कामले यताको मैले केही चाल पाइन । आज आरती भएन । वेदीको बीचबाट उठेर वडापण्डितले सभालाई शान्त रहने संकेत गर्नुभयो । म पनि सभाको पल्लो एउटा कुनामा गएर भक्तजनको साथमा बसेँ । कोही मलाई हेरिरहेछन् जस्तो लाग्थ्यो । वडापण्डितले सभालाई सम्बोधन गर्नुभयो —‘भक्तजनहरु ! अनर्थ भइरहेछ , यसैको बहसका लागि सबैलाई बोलाइयो । केही समयदेखि बगैँचामा देवीजी मण्डलीको नियमविपरित देखिनुहुन्छ । पूर्खादेखि चल्दै आएको यो सनातन नियममा बाधा बन्ने कुनै कुरा पनि अनर्थ हुन्छ । बगैँचे देवी उठ्नुहोस् , तपाईँको असन्तुष्टिको कारण के हो ?’ मैले देवलाई पुलुक्क हेरेँ, उनी अँध्यारो अनुहारमा थिए जस्तो लाग्यो ।
     ‘मेरा असन्तोषहरु धेरै छन् गुरुदेव !’ मैले कर जोरी भनेँ ।
    ‘भन्नुहोस् तपाईँको पहिलो असन्तोष के हो ?’ अनुहारमा निकै कठोर भाव ल्याएर वडापण्डितले भन्नुभयो ।
    ‘समवयमा संवाद गुरुदेव ! , सुन्नुमात्रै पर्ने , भन्न नपाइने , आदेश मान्नुपर्ने , प्रतिक्रिया गर्न नहुने , यसमा सरलीकरण गर्नुपर्ने हो कि , विन्ति बिसाएँ गुरुदेव! ’ मैले दुई कर जोडी शिर झुकाई आफना कुरा बिसाएँ ।
    ‘भन्दै जानुहोस् ’
    ---------------------------------------------------------------
    ‘नदीमा नुहाउन हुने  नदीसँग खेल्न नहुने, चराको उडान भर्न नहुने, कोइलीसँग गाउन नहुने, फूलसँग रुनहाँस्न नहुने , कृुनै समवयसँग मन विनिमय गर्न नहुने , यो अनर्थ हुन गयो ।’ मैले जवाफ गरेँ ।
    ‘तपाईं आश्रम छोड्नसक्नुहुन्छ । नारी भइकन पनि साह्रै अशोभनीय कर्मका लागि तपाईं यहाँ रहन सक्नुहुन्न देवी । ’
    ‘गुरुदेव ,नारीले मात्रै शोभा बिगार्दैनन् कि ! , म यो आश्रम छोडेर जाने सोचेको छैन, बरु यस आश्रमलाई समयसापेक्ष बदलौँ कि ! ’
    ‘पापिष्ट , तपाईंले साह्रै छिन्द्रान्वेषी कुरा गर्नुभयो । तपाईंलाई यहाँ रहन वर्जित छ । ’
    ‘गुरुदेव, मैले यहाँबाट गएपछि वनमा रमाइरहेका सुगासँग पिँजडाबाट मुक्त सुगाले मिसिन नसकेजस्तै हुन्छ । मेरो वहाँ पनि केही स्थान हुने छैन । ती रमाइला खुसीहरु यतै स्वागत गरौँ भन्छु । यी सूष्क युवा ओठहरुमा ती लालुपातेका रङ हालिदिने हो भने विज्ञान पनि गम्किन सक्छ । हामी मुक्तिका निम्ति अहोरात्र तपस्या गर्नेहरु फेरि यसरी दमित किन हुन्छौँ गुरुदेव !  तर यो सभाले मलाई वर्जित गर्छ भने  म यो सभा र तपाईं वडागुरुसँग सविनय रुपमा देवको हात माग्छु । ’
    ‘हे पापकी कुण्ड, अबुद्धे , षठ् , उनी पुरुष हुन् , पुरुष सबैलोकमा शुद्ध हुन्छन् । त्यस्ता शुद्ध र पवित्रलाई नरक कुण्डमा जाकेर यस लोकको अबुझ ऋषि हुन म चाहन्न ।’ उनी सभातिर फर्केर बोल्न थाले —‘हे लोकहितकारी भक्तजनहरु ! यो अनर्थबाट हामी कसरी बच्ने ? विमर्श गर्नुहोस् । ’
    सभामा गज्याङगुजुङ हल्ला भएको रङ देखियो । कसैले पनि आवाज उठाएनन् । हल्ला बिस्तारै मन्द होला जस्तो भयो । केही नारीहरु मलाई धारे हात लाएर केही भन्दै थिए जस्तो देखिन्थ्यो । बुझिएन । युवावर्ग पनि मौन थिए । बुढापाकाहरु ‘हा! हा! के हुन लाग्यो !’ भन्दै आकाशतिर हात उठाएर ईश्वरसँग केही पुकार गरिरहेका देखिन्थे । मलाई एक किसिम अनर्थ नै भयो कि भन्ने पनि लागेको हो । तर आमाबाबा, आफन्त सबै माया मारेर यही मार्गमा लागेँ तर यहाँबाट पनि बाहिर जानुपर्दा पो अनर्थ होला भन्ने लागेको हो । हुन त जुन ठाउँमा आकाश नै छेलिन्छ त्यहाँ घाम कसरी लाग्ला ?
    ‘पानी काढ्नुपर्छ । ’
    ‘निकाला गर्नुपर्छ , कामै सकिन्छ । ’
    ‘जगटा छर्नुपर्छ ।’
    ‘किन बस्न दिइरहनु यस्तालाई ?’
    यस्तै आवाजहरु स्पस्ट अस्पस्ट सुनिन थाले । वडागुरु सोचमग्न देखिन्थे । देव दोछायाँमा थिए, राम्ररी देखिँदैन थिए । मेरो मनले ‘देव मेरो उद्देश्य होइन’ भन्ने निक्र्यौल निकाल्यो । जसले मेरो कुरा सुन्छ ऊ मेरै भइहाल्नुपर्दैन । उसले अरुका पनि कति कति सुन्नु छ । हुन सक्छ उसले आफ्नो चिन्तनलाई तह लाइसकेको छैन । पखेटा पलाउँदैमा उड्न नसक्न पनि त सकिन्छ । उडानको उद्देश्य आफैँमा स्वतन्त्र छैन भने त्यसको के काम ? सभा अचानक चकमन्न भयो ।मेरो सोचको क्रम भत्कियो । देव उठेछन् ।
    मधुरो स्वरमा उनी बोले ः ‘श्रद्धालु भक्तजन , साह्रै कठिन मोडमा उभिएर म तपाईंहरुलाई सम्बोधन गर्दछु । मैले लिएको मार्गमा आज म पनि अनौठो मोडमा उभिएको छु । देवीजीका तर्कहरु मौलिक छन् । ढुङ्गासँग खेल्ने मान्छेले मूर्ती कुँद्न सक्छ । फूलसँग रमाउनेले रङ बुझ्न सक्छ । सिर्जनाले सानो विरुवालाई रुद्राक्षको वयस्क बोट बनाइदिन्छ । प्रकृतिलाई सधैँ सबैले सम्मान गर्नुपर्छ ।’
    यति भनेर उनी बसे । सभाका मानिसहरुले प्रश्नवाचक हातले एकार्कालाई केही सम्बोधन गरेझैँ गरे । वडागुरुले सबैलाई अश्रमतिर जान संकेत गर्नुभयो । मैले पनि त्यत्तिकै त्यहीँ बसिरहन उचित ठानिन । बिहानको उज्यालो पर्खन साँझमा म पनि एक्लै आश्रमतिर लागेँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…