• काठमाडौं, २५ भदौ । केही समयदेखि राजनीतिक विषयमा कुनै टिप्पणी नगरि मौन बसेका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले उनको तेस्रो पटक प्रधानमन्त्री बन्ने सम्भावना सदाका लागि समाप्त पारेको छ ।

    भारत भ्रमणमा निस्कनु केही दिनअघि आफ्नै निवासमा आफू निकट पत्रकारहरुलाई बोलाएर सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउन मन्त्रिपरिषद् पुनर्गठनका लागि आफूले प्रधानमन्त्रीसँग कुरा गरेको बताएका थिए ।

    प्रचण्डले भारतमा सरकारको नेतृत्व गर्न दुई दुई वर्षको आलापालोलगायत ओलीसँग भएको गोप्य सहमतिका सन्दर्भमा गरेको कुराकानी, प्रधानमन्त्री बनाउन गरेको आग्रहको सूचनापछि प्रधानमन्त्री केपी ओली निकै आक्रोशित भएका छन् ।

    प्रचण्ड भारत भ्रमणमा रहेकै बेला उनलाई जवाफसमेत दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुले राम्रो काम गरेकाले मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएर प्रचण्डको अभियव्यक्तिमा तातोपानी खन्याएका हुन् ।

    यता, दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई भारत भ्रमण गराएर सरकरामा दुई वटा शक्ति केन्द्र बनाउन खोजेको आक्रोशमा निर्धारित सैन्य अभ्यास नै रद्द गर्न निर्देशन दिएका छन् ।

    विमस्टेक सम्मेलन अगावै निर्धारित विमस्टेक राष्ट्रका सैनिकहरुको आतंकवाद र प्रकोप व्यवस्थापनसम्बन्धी सैन्य अभ्यास अन्तिम अवस्थामा रद्द गर्न निर्देशन दिएका हुन् । यी विकसित घटजनाका कारण चार दिने भारत भ्रमणबाट स्वदेश फर्कदै गर्दा प्रचण्डको अनुहार निकै मलिन थियो ।

    भदौ २१ गते बिहीबार दिल्ली प्रस्थान गरेका उनी २४ गते आइतबार अपरान्ह स्वदेश फर्केका हुन् । २१ गते बिदाइका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका मिडियाकर्मी तथा कार्यकर्ताले प्रचण्डको अनुहार निकै तेजिलो देखेका थिए तर २४ गते स्वागतका लागि विमानस्थल पुगेका मिडियाकर्मी  तथा कार्यकर्ताहरुले उनको अनुहार निचोरिएको कागती जस्तो देखेको बताएका छन् ।

    निचोरिएको कागतीको जस्तो अनुहार लगाएर प्रचण्ड स्वदेश फर्कनुको कारणबारे धेरैले धेरैथरी अनुमान गरेका छन् । उनका निकटस्थहरुले दिल्लीको गर्मी तथा स्वास्थ्यमा पनि केही खराबी आएका कारण प्रचण्ड शिथिल भएको दाबी गरेका छन् । तर, यथार्थता अर्कै रहेको समाचार स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार भारतले प्रचण्डलाई भ्रमणका लागि बोलाएको प्रधानमन्त्री ओली चीन जानुभन्दा केही दिन अगाडि हो । त्यतिबेला प्रचण्डको भ्रमण औपचारिक हुने र यस क्रममा केही आन्तरिक सम्झदारीसमेत हुने आश्वासन दिल्लीले दिएको थियो ।

    दिल्लीको सोही आश्वासनपछि प्रचण्डले चितवनमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोलेकासमेत थिए–केही दिनभित्रै म भारत भ्रमणमा जानेछु, त्यसक्रममा चितवन उपत्यकाको विकासका लागि केही न केही सहमति हुने सम्भावना छ ।

    उक्त कार्यक्रममा प्रचण्डले नारायणी लिफ्ट सिँचाइ आयोजनालाई वर्षभरि नै सञ्चालन गर्ने विषयमा भारतको सहमति ल्याउने बचन दिएका थिए । २०४० सालमा निर्मित उक्त आयोजना वर्षा सिजनका तीन महिना मात्रै संचालनमा आउने गरेको छ ।

    गण्डक सम्झौताका कारण हिँउदको सुख्खायाममा नारायणी लिफ्ट सिँचाइ आयोजना संचालन गर्न भारतले दिँदैन । भारत भ्रमणका क्रममा यो गाँठो फुकाउन आफू सक्षम हुनेमा प्रचण्ड विश्वस्त थिए ।

    समाचार स्रोतका अनुसार भारतले केही न केही आश्वासन दिएकै कारण नेकपामा अध्यक्ष प्रचण्डले यो कुरा सार्वजनिक गरेका हुन् ।

    प्रधानमन्त्री ओलीको चीन भ्रमणको केही दिनपछि भारतबाट प्रचण्डलाई भ्रमणको निमन्त्रण त आयो तर त्यो निमन्त्रणा भारत सरकारको तर्फबाट थिएन । भारत सरकारको तर्फबाट नभएर भारत विश्व सम्बन्ध परिषद् नाम गरेको एउटा संस्थामार्फत निमन्त्रणा आएकाले प्रचण्डको मनमा चिसो पसेको थियो ।

    भ्रमण औपचारिक नहुनुका कारण खोज्नुभन्दा मौन बस्नु नै उनले उत्तम ठानेका थिए । यस विषयमा उनले भारतीय दूतावासको सम्पर्क सुत्रसँग थप कुराकानी गरे । सम्पर्क सूत्रले आश्वस्त पार्दै भन्यो–केही प्राविधिक कारण भ्रमणलाई औपचारिक बनाउन नसकिएको हो ।

    त्रिभुवन विमानस्थलबाट बिदा हुँदासम्म प्रचण्डलाई लागेको थियो–पूर्वप्रधानमन्त्री मात्रै होइन, भावी प्रधानमन्त्रीको हैयितले बोलाएका कारण भ्रमण औपचारिक जस्तै हुनेछ । उनी जब दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रे, तब मात्रै थाहा पाए–स्थितिमा परिवर्तन आइसकेछ ।

    प्रचण्डलाई रिसिभ गर्न भारतले कोही पनि सरकारी प्रतिनिधि विमानस्थल पठाएन, समान्य व्यक्तिझैं उनी विमानस्थलबाट बाहिर निस्के । सोही दिन बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोवालले प्रचण्डलाई भेटेर आफ्नो बाध्यता अवगत गराए ।

    समाचार स्रोतका अनुसार मोदीको छिमेकी मुलुकसँग सम्बन्ध बिगारेको आरोप विपक्षीहरुले लगाउँदै यसलाई चुनावी मुद्दा बनाएका कारण पनि नेपालमा आगामी जेठभन्दा अघि कुनै परिवर्तन सम्भव छैन । भोलिपल्ट शुक्रबार उनी गृहमन्त्री राजनाथ सिंहलाई भेट्न गए ।

    राजनाथको भनाइ पनि दोवानको भन्दा केही फरक थिएन । तर, राजनाथसँग भने प्रचण्डले अलि आक्रोशको भाषा बोले । उनले भने–मलाई तेस्रो पटक प्रधानमन्त्रीका रुपमा देख्न खोज्ने तपाईहरुको इच्छालाई स्वागत गर्छु, यस विषयमा प्रधानमन्त्री ओली र मबीच सहमति भइसकेको छ ।

    तिमीहरुले सहयोग नगरे पनि म प्रधानमन्त्री बनेरै छाड्छु भन्ने आशयको प्रचण्डको यो अभिव्यक्ति तुरुन्तै राजनाथमार्फत मोदी कहाँ पुग्यो र त्यो सूचना प्रधानमन्त्री ओली कहाँ पुग्यो ।

    मिडियामा समेत सार्वजनिक भयो । ओलीको कार्यकाल अब एक वर्ष पाँच महिना बाँकी रहेको कुरा प्रचण्डले भारतीय गृहमन्त्रीसँग भन्नु र यो कुरा मिडियामा आउनुलाई कुनै पनि कोणबाट राम्रो मानिएको छैन, तरुणमा उल्लेख छ ।

    प्रधानमन्त्री ओली स्वयंले आपत्ति प्रकट गरेका छन् । प्रचण्डलाई भेटेरै यस विषयमा क्षमा माग्न लगाउनु पर्ने सल्लाह प्रधानमन्त्री ओलीलाई निकटस्थहरुले दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…