• काठमाडौँ, भदौ २८ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायका लागि उनका आमा बुबा काठमाडौँमा आएका छन् ।

    कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणबारे दुई महिना पुग्न लागिसक्दा पनि प्रहरीले हत्यारा सार्वजनिक गर्न नसकेपछि उनको न्यायका लागि आमाबाबु नै काठमाडौँ आएका हुन् ।

    आफ्नी छोरीको न्यायका लागि आफैँ काठमाडौँ धाएका पन्तका आमाबाबुले रिपोर्टस क्लबमा बिहिबार पत्रकार सम्मेलन गरेर प्रमाण नष्ट गर्न भूमिका खेलेको प्रहरी अधिकारीहरुलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।

    निर्मलाका बुवा यज्ञराज पन्तले निर्मला हराएकै दिन विभिन्न प्रहरी चौकीमा खबर गरेतापनि प्रहरी नआइदिएको र सालघारी अस्थायी बिटका प्रहरी घटनास्थलमा जान तयार भएपनि एसपी डिल्लीराज विष्टले रोकिदिएको बताए । निर्मलाको बलात्कार र हत्या घटनामा प्रहरीले प्रमाण नष्ट गर्न गरेका गतिविधिहरुको दृष्टान्त पेश गर्दै अहिलेसम्म उनीहरु खुला हिँडिरहेकोप्रति उनले आश्चर्य जनाए ।

    पत्रकार सम्मेलनमा भक्कानिँदै उनले भने, ‘सरकारले न्याय दिन नसक्ने भए हामीहरुलाई गोली ठोकेर मार्नुस् ।’

    निर्मलाकी साथी रोशनीसँग घटनाका बारेमा बुझ्न खोज्दा प्रहरीले निर्मलाकी आमा र गाउँलेहरुलाई उल्टै हप्काएको बताउँदै बम दिदीबहिनीको घरमा प्रहरीले समेत आफूहरुलाई भित्र पस्न नदिएको दाबी गरे ।

    यस्तै, निर्मलाकी आमा दुर्गादेवीले महिला राष्ट्रपति भएको देशमा महिलाहरु नै प्रताडित हुँदा समेत राज्य किन मौन बसेको भन्दै पिडा पोखीन् । राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘निर्मला आफ्नै छोरी भएकी भए के गर्नुहुन्थ्यो’ भन्ने प्रश्न पनि गरिन्।

    पत्रकार सम्मेलनमा आएका मानवअधिकारकर्मी महिलाहरुले प्रधानमन्त्रीको अभिव्यक्तिले कञ्चनपुरबासीलाई दुःखी बनाएको उल्लेख गरे ।

    मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छे मात्र राखेर घटनाको प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाइन् । उनले पीडित परिवारलाई समेत ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गरिन् । अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाइन् ।

    मानवअधिकारकर्मी माया नेगी, अधिवक्ता पुष्पराज पौडेलले सरकारले घटनाको अनुसन्धान गर्न तीन/तीन वटा समिति बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताए । निर्मला साउन १० गते हराएको र ११ गते मृत भेटिएपछि उक्त घटनाबाहिर आएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…