उर्लाबारी, ३ असोज/मोरङको उर्लाबारीमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपालको संबिधानले सबैलाई समेटन् नसेकेको गुनासो गरेका छन् । संविधानले सबै नेपाली जनताको हकअधिकार र चाहनालाई सम्बोधन गर्न जरुरी रहेको वक्ताहरुले बताएका छन् ।
संविधान दिवसको अवसरमा उर्लाबारी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।
राष्ट्रिय जनजागरण पार्टीका नगर उपाध्यक्ष पुर्ण सुनवारले वर्तमान संविधानले जनताबीच मुठभेडको स्थिति सिर्जना गरेको दाबी गर्नुभयो । संघीय समाजवादी फोरम नेपालका उर्लाबारी नगर अध्यक्ष रामकुमार राईले समयको माग अनुसार संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
नयाँ शक्ति नेपालका जिल्ला सहसंयोजक मनोहरी दाहालले महिला हिँसाविरुद्ध कडा कानुन बनाउन माग गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष पदम धिमालले आदिवासी जनजातिका हकहितलाई संविधानले नसमेटेको आरोप लगाउनुभयो । नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको सो कार्यक्रममा राप्रपाका नगर अध्यक्ष देवी दाहाल, राधिका माविका प्रधानाध्यापक कुमार पोखरेल, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी–७ का वडाध्यक्ष बिरबल थापालगायतले बोल्नुभएको थियो ।