• काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता, कानूनको शासन, मानवअधिकार र लोकतन्त्रका सबै मूल्यमान्यताप्रति नेपाल सदैव प्रतिबद्ध रहिआएको बताउनुभएको छ ।

    नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका लागि राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित स्वागत समारोहमा उहाँले नेपाल असंलग्न आन्दोलनको संस्थापक र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सहयोग सङ्गठनको अवधारणाप्रति प्रतिबद्ध रहिआएको उल्लेख गर्नुभयो ।

    राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामी यस क्षेत्रका राष्ट्रहरुसँग मिलेर आर्थिक विकास लगायतका साझा चासोबाट लाभान्वित हुन चाहन्छौँ । विश्वका सबै मुलुकसँग पञ्चशीलका आधारमा शान्तिपूर्ण सुमधुर सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छौँ ।”

    विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल रहेको यस धर्ती नेपालका जनता शान्ति, सद्भाव र भ्रातृत्वको पक्षमा सदैव उभिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसङ्घको बडापत्र र त्यसको नीतिप्रति हाम्रो पूर्ण सम्मान रहिआएको बताउनुभयो ।

    नेपालको संविधान लोकतन्त्रका आधारभूत मान्यताहरु वाक तथा प्रकाशन स्वतन्त्रता, मौलिक हक, जनतमा निहित सार्वभौमसत्ता, मानवअधिकार र सामाजिक न्यायका लागि नेपाली जनताको आकाङ्क्ष र अथक सङ्घर्षको प्रतिफलका रुपमा रहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । उहाँले देशको सामाजिक, आर्थिक विकासलाई केन्द्रविन्दुमा राखी अघि बढ्न तीनै तहका जनप्रतिनिधिसहित सबै तह र तप्काका नागरिकलाई आह्वानसमेत गर्नुृभएको छ ।

    यसअघि राष्ट्रपति भवनमा आज साँझ नेपालको विविध सांस्कृतिक वेशभूषा र रहनसहन झल्कने शास्त्रीय गान, गणेश बन्दना, घाटु नाच, सेब्रु नाच, छलिया नाच, सामा चकेवा नाच, लोक धुन (सारंगी वादन), झ्याउरे नाच, तामाङ सेलो नाच, सतार नाच र सिङ्गारु नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपालसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

    उक्त विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेना उपस्थिति हुनुहुन्थ्यो ।

    उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगी, व्यापारी, समाजसेवी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि सो अवसरमा उपस्थिति थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…