• कञ्चनपुर ,४ असोज । निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरू बताउँछन् ।


    भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।

    ‘हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं,’ ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँm जस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन् । भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरू दुवैको कुरा मिल्थ्यो ।

    कतिपय विद्यार्थी निर्मलाको शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । ‘त्यहाँ पुग्नेबित्तिकै झसंग भइन्छ,’ भीमदत्त नगरपालिका–१८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, ‘एक्लै आउन डर लागेर साथीहरू समूहमा मात्रै आउँछौं ।’ निर्मला मिलनसार थिइन् । शिक्षकमाझ पनि उनी अनुशासित र लगनशील विद्यार्थी थिइन् । ‘एक महिनासम्म त सरहरूले पढाउनै सक्नुभएन,’ लक्ष्मीले भनिन्, ‘जतिबेला पनि त्यही झल्को आएर उत्तरपुस्तिकासमेत जाँच गर्न सक्नुभएन ।’

    कक्षा ९ मा ६४ विद्यार्थी छन् । छात्र र छात्राको संख्या आधा–आधा छ । छात्रभन्दा पनि छात्रामा यो घटनाले बढी असर पारेको शिक्षिका तृप्ति विष्ट बताउँछिन् । उनका अनुसार विद्यार्थीमा एक किसिमको त्रास कायमै छ । ‘एकरदुई जना छात्रा त सधैं ढिला हुन्छन्,’ उनले भनिन्, ‘बिहान एक्लै आउन डर लागेर अलि ढिला आउने गरेको कुरा खुल्यो ।’ अहिले विद्यालय ७ बजे लाग्ने गरेको छ ।

    घटना भएको डेढ महिनाभन्दा बढी बितिसक्यो । अझै पनि वास्तविक अपराधी पत्ता नलाग्दा छात्रछात्रा त्रासमा रहेको शिक्षिका विष्टले बताइन् । अनुसन्धानका क्रममा प्रहरीले छात्रछात्रालाई पटकपटक बोलाउँदा उनीहरूमा मनोवैज्ञानिक असर परेको उनको भनाइ छ । ‘हामीलाई पनि विद्यालयबाट ड्रेसमै प्रहरीसँग विद्यार्थी पठाउन निकै समस्या हुन्छ,’ उनले भनिन्, ‘अभिभावकसँग कुरा गरेर मात्रै पठाउने गरेका छौं ।’ एक जनालाई प्रहरीले लगेपछि अरू विद्यार्थी पनि आफ्नो पालो आउने डरले विद्यालय नै नआउने समस्या बढेको छ । कान्तिपुरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…