• काठमाडौं , ६ असोज । नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।

    असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गर्नुहुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीमा सुझाव सङ्कलनको कार्यक्रम राखिएको समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो ।

    सुझाव सङ्कलनमा जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुनेछन् । आएका सुझाव सङ्कलन गरी तिहारअघि नै मस्यौदालाई अन्तिम रूप दिइनेछ ।

    विधान संशोधनको मस्यौदा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने महासमिति सदस्यको बैठकमा पेश गरिने जनाइएको छ । संयोजक खड्काले समितिअन्तर्गत गठन भएका तीनवटै उपसमितिले प्रारम्भिक प्रतिवेदन पेश गरेको सुनाउनुभयो ।

    उपसमितिका मस्यौदालाई एकीकृत गर्न सदस्य दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना र रमेश लेखक सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो । प्रारम्भिक मस्यौदा सर्वसम्मत रूपमा तयार भएको समितिले जनाएको छ । मस्यौदामा छलफलमा रहेका सबै विकल्प उल्लेख गरिएको जनाइएको छ । सातै प्रदेशमा हुने कार्यक्रममा मस्यौदामाथि दफावार सुझाव लिइनेछ ।

    “संविधानको स्वरुपअनुसार पार्टीको विधान मिलाउने, अर्को निर्वाचनमा दललाई एक नं को बनाउन विधानमा आवश्यक व्यवस्था गरिनेछ, तिहारअघि नै मस्यौदालाई अन्तिम रूप दिइनेछ”, उहाँले भन्नुभयो ।

    संविधानमा आरक्षणको व्यवस्था गरिएका आठवटै समूहलाई पार्टी विधानमा ठाउँ दिइने काङ्ग्रेसको प्रतिबद्धता छ । १२ गते सबै प्रदेशमा अन्तिम छलफल भएलगत्तै १४ गतेसम्म राजधानी फर्किएर मस्यौदालाई अन्तिम रूप दिन काम थालिने समिति सदस्य रमेश लेखकले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…