• चितवन । समयमा उपचार गर्न सके धेरैजसो क्यान्सर रोग निको हुन्छ । विकसित मुलुकमा क्यान्सर हुनुपूर्व नै सावधानी अपनाउने र भइसकेमा तत्काल उपचार गर्ने भएकाले निको हुने दर बढी छ । नेपालमा रोगले गलिसकेपछि मात्र अस्पताल पुग्ने कारण उपचारमा कठीनाइ हुने गरेको छ ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका निवर्तमान अध्यक्ष क्यान्सर रोग विशेषज्ञ डा प्रकाशराज न्यौपाने नेपालमा एक वर्षमा २० हजार हाराहारीको क्यान्सरकै कारण मृत्यु हुने बताउनुहुन्छ । जसमध्ये ११ हजार महिला र नौ हजार पुरुष हुने गरेका छन् । ३३ हजार हाराहारी नयाँ बिरामी थपिने गर्दछन् । न्यौपानेका अनुसार पहिलो चरणमा अस्पताल आइपुगेमा ९५ देखि १०० प्रतिशत बचाउन सकिन्छ । दोस्रो चरणका लागि ८०, तेस्रोका लागि ५० र चौथोका लागि पाँचदेखि १० प्रतिशत मात्र बचाउन सकिन्छ ।

    विकसित मुलुकहरुमा पहिलो र दोस्रो चरणका बिरामी अस्पताल पुग्ने गर्दछन् । नेपालमा धेरै तेस्रो र चौथो चरणका बिरामी अस्पताल आउने गरेको न्यौपाने बताउनुहुन्छ । जनचेतनाको अभावमा बिरामी समयमा अस्पताल आउन नसक्दा धेरैको अकालमा ज्यान जाने गरेको उहाँको ठम्याइ छ ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य समयसमयमा स्वास्थ्य परीक्षण गरेमा रोगबाट बच्न सकिने बताउनुहुन्छ । २० वर्ष कटेका महिलाले पाठेघर र स्तनको परीक्षण गर्नुपर्छ । ५० वर्ष कटेपछि महिला–पुरुषले आन्द्रा र पुरुषले प्रोस्टेडको परीक्षण गर्नुपर्छ । सुर्ती–चुरोट सेवन गर्नेले मुखको क्यान्सरको परीक्षण गर्नुपर्छ । रोग लाग्नुभन्दा लाग्न नदिनु बुद्धिमत्ता भएकाले शरीर, समाज, परिवार र धनसम्पत्ति सक्ने यस्ता रोग लाग्न दिनबाटै रोक्नुपर्ने आचार्य बताउनुहुन्छ ।

    अस्पतालका उपकार्यकारी निर्देशक डा निर्मल लामिछानेका अनुसार खकारमा रगत देखापर्नु वा लामो समयसम्म खोकी लागिरहनु, महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाको पुनः रक्तस्राव हुनु वा सहवासपछि रक्तस्राव हुनु क्यान्सरका लक्षण हुन सक्छन् । स्तनमा गाँठैगाँठा, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु, खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु, लामो समयसम्म घाउ निको नहुनु, शरीरमा गिर्खा गाँठैगाठाहरु देखिएमा परीक्षण गर्नुपर्छ ।

    क्यान्सर रोग विशेषज्ञ लामिछाने लामो समयसम्म गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु, कोठी र मुसाहरुको रङ्ग बदलिनु वा पहिले भएका आकार बढ्दै गएर अन्यत्र फैलनु, नाक, मुख र शरीरका छिद्रहरुबाट रगत आउनु, छोटो समयमा नै शरीरको तौल धेरै घट्नु, रक्तअल्पत्ता देखिनु, ज्वरो आइरहेमा नजीकको स्वास्थ्य संस्थामा परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । धेरै दिनसम्म टाउको दुखिरहेमा, बान्ता भएमा, रिङ्गटा लागेमा, आँखा धमिलो भएमा र कम्पन आएमा पनि क्यान्सर हुन सक्ने भएकाले तत्काल परीक्षण गर्नुपर्ने हुन्छ ।

    अस्पतालका शैक्षिक कार्यक्रम संयोजकसमेत रहनुभएका क्यान्सर रोग विशेषज्ञ डा शिवजी पौडेल चुरोट, बिँडी, खैती, सुर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन गर्नु हुँदैन । बासी, सडेगलेका र ढुसी परेका खानाहरु नखाने, पोलेर डढेको मासु, अखाद्य रङ्ग प्रयोग गरेका खानेकुरा, चिल्लो बोसोयुक्त खानेकुरा र धेरै नुन खान नहुने पौडेलको सुझाव छ । धुलो, धुवाँ तथा वातावरणीय प्रदूषणबाट जोगिन, गुप्ताङ्क सधैँ सफा राख्न, मौसम अनुसारका हरियो सागपात र फलफूल खान, महिलाले गर्भाशय स्राव परीक्षण र स्तन परीक्षण गराएमा क्यान्सर रोगबाट बच्न सकिन्छ । नियमित शारीरिक व्यायाम र मोटोपन घटाएमा सबै खाले रोग कम लाग्ने गर्दछ ।

    चिकित्सकका अनुसार फोक्सोमा क्यान्सर भएका ८० प्रतिशतको कारण धुम्रपान रहेको छ । नेपालमा हाल धुम्रपान गर्ने पुरुषको ३६ र महिलाको प्रतिशत १८ रहेको छ । प्रतिशत घट्दै गए पनि युवा पुस्तामा धुम्रपान गर्नेहरुको सङ्ख्या बढ्दै गएको अस्पतालका कार्यकारी निर्देशक आचार्य बताउनुहुन्छ ।

    अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीका अनुसार गत वर्ष अस्पतालले ३६ जिल्लाका एक हजार ५०० स्कूलका शिक्षकलाई क्यान्सर रोकथाम र सुर्तीजन्य पदार्थ नियन्त्रणका बारेमा तालीम दिएको थियो । विभागले सोही वर्ष ५४ जिल्लाका स्वास्थ्यकर्मी र प्राविधिकलाई पनि रोग नियन्त्रणको पूर्व तयारीका बारेमा जानकारी गराएको थियो । रोकथाम नियन्त्रणका लागि काम भइरहेको भए पनि स्रोतसाधनको अभावमा हुनुपर्ने जति हुन नसकेको शिवाकोटीको भनाइ छ ।

    सन् २०१७ मा नेपालमा नौ हजार ५०० जना नयाँ क्यान्सर रोगी उपचारका लागि अस्पताल गएका थिए । जसमध्ये क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्न आउनेको सङ्ख्या चार हजार ९७५ रहेको थियो । वार्षिक रुपमा देखिने अन्य नयाँ रोगी कतिपय विदेश उपचारका लागि जाने गरेका छन् भने बाँकीले उपचार पाउन सकेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा २८ हजारदेखि ३३ हजारसम्म नयाँ रोगी हरेक वर्ष थपिने अनुमान गरेको छ ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन १० असोजलाई नेपालमा क्यान्सर सतर्कता दिवस मनाउने गरिन्छ । बुधबार असोज १० गते ‘क्यान्सरबारे जानकारी राखाँै, सतर्क हौँ, क्यान्सरलाई परास्त गरौँ’ भन्ने मूल नाराका साथ १४औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस मनाइँदै छ ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…