• काठमाडौं, १० असोज । चुनाव लड्ने, जित्ने, यसै वर्ष संसद्मा प्रवेश गरेर प्रधानमन्त्री बन्ने वामदेव गौतमको सपना चकनाचुर भएको छ ।

    नेकपा सचिवालयको बैठक बसेर आफ्ना लागि कुनै सांसदको क्षेत्र खाली गर्ने निर्णय गरिदेला भन्दाभन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली दुई साताको लागि संयुक्त राज्य अमेरिका र कोस्टारिकाको भ्रमणमा निस्किएपछि वामदेवलाई सांसद बनाउने प्रयास तत्कालका लागि तुहिएको छ ।

    डोल्पाका भीमबहादुर बुढादेखि प्यूठानकी दुर्गा पौडेल र दैलेखका रवीन्द्रराज शर्मादेखि रुकुमकी कमला रोकासम्मले वामदेवका लागि ठाउँ खाली गरिदिएर आफूलाई रित्तो र केपी ओलीलाई खिन्न बनाउन चाहेनन् ।

    बाँके तीन नम्बर प्रदेशका सांसद नन्दलाल रोकायालाई मनाउन गरेको प्रयास पनि सफल हुन सकेन । यसरी ‘सिट खाली’ गराउन भएका सबै प्रयास असफल भएको छ ।

    र, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि झन्डै दुई साताको विदेश भ्रमणमा गएकोले वामदेव गौतमका लागि ठाउँ खाली गराउनेसम्बन्धी प्रस्ताव नै अलपत्र परेको छ ।

    वास्तवमा नेकपा सचिवालयका सदस्यहरूमध्ये प्रचण्डबाहेक कसैले पनि वामदेव गौतमलाई प्रतिनिधिसभामा प्रवेश गराउने रुचि लिएको ठानिँदैन ।

    वरिष्ठ नेता माधवकुमार नेपालले त प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठलाई पनि प्रतिनिधिसभा सदस्य बनाउनुपर्ने धारणा प्रकट गरेर वामदेवमाथि केन्द्रित रहनु नपर्ने सङ्केत दिइसकेका छन् ।

    छिमेकी (सैंबु, भैंसेपाटी, ललितपुर) समेत भएकोले महासचिव विष्णु पौडेलले वामदेवका विषयमा केही चासो त राखेका छन्, तर मुख्य नेताहरू नतातेसम्म पौडेल मात्रको प्रयासले कुनै परिणाम हात लाग्ने ठानिएको छैन ।

    प्रचण्ड र वामदेव गौतमबीच विकसित घनिष्टताले प्रधानमन्त्री केपी ओलीलाई मात्र झस्काएको छैन, माधवकुमार नेपाललगायत अन्य नेताहरूलाई समेत सचेत तुल्याएको छ । त्यसैले यतिबेला सचिवालयको बहुमत वामदेवको चाहनाको पक्षमा देखिँदैन ।

    अहिलेसम्म वामदेव गौतम केपी ओलीको समेत सहयोगमा ‘संसद् पस्ने’ योजनामा रहेकोले केपीविरुद्ध उनले प्रकट रूपमा कुनै गतिविधि गरेका छैनन् ।

    जुन दिन गौतमले आफ्ना सपना चकनाचुर भएको महसुस गर्नेछन्, त्यसपछि उनी केपी ओली र सरकारका विरुद्ध धमाकेदार किसिमबाट उत्रने अनुमान वामदेवका निकटवर्तीहरूले गरेका छन्, घटना र विचारमा उल्लेख छ ।

    नेताहरूले चासोको विषय खासै नबनाएको, वामदेव स्वयम्ले आफ्नो लागि ठाउँ खाली गरिदिने कुनै सांसद फेला नपारेको र फेला परेकाले पनि धोखा दिएकोले वामदेव गौतम यस वर्षभित्र सांसद बन्ने योजना करिब तुहिएको छ । तथापि प्रयास भने जारी रहने बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…