• बिराटनगर, असोज १० । उत्तरी मोरङको केराबारी गाँउपालिकाको सिंहदेवीमा अवस्थित जेफाले बिस्तारै नयाँ पर्यटकीय गन्तव्यका को रुपमा बिकास हुँदै गएको छ । मोरङमै इलाम बिर्साउने चियाबगान, धनकुटाको भेडेटार बिर्साउने भ्यू टावर र मौसम भएकाले जेफालेमा आन्तरिक पर्यटकहरु प्रशस्त मात्रामा भित्रिन थालेका छन् ।

    समुन्द्री सतहबाट १ हजार नौ सय ७० मिटर उचाईमा रहेको जेफाले डाँडा मोरङ र धनकुटाको सीमामा अवस्थित छ । पर्यटकीय विकासलाई थप व्यवस्थित र सुविधाजनक बनाउन पछिल्लो समय ६ वटा घरमा होमस्टेको सुरुवात र जेफाले डाँडामा निर्माण गरिएको भ्यू टावरले पर्यटकहरुमा थप आकर्षण थपेको सामुदायिक होमस्टेका सचिव भीम ठकुरीले बताए ।

    जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । भ्यू टावरमा पुग्न १ हजार ८५ सिँढी चढेको थकान र आलस्यता डाँडामा बसेर बादल भित्र लुकामारी खेल्दै चिसो हावामा स्वास लिनुको आनन्दले छण भरमै बिर्साइदिन्छ ।

    आकर्षणहरु
    जेफाले डाँडाँबाट पूर्वका १६ वटै जिल्ला साथै सुर्योदय,सुर्यास्त, विश्वकै अग्लो शिखर सगरमाथादेखि, गौरीशंकर, मकालु लगायत बिभिन्न हिमश्रृङ्खला देखिनुका साथै तराईका सुन्दर फाँटहरुको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ पुग्नका लागि दुई वटा मुख्य मार्गहरु रहेका छन । एउटा धनकुटाको भेडेटार, डाँडाबजार, राजारानी हुँदै जेफाले पुग्न सकिन्छ भने पूर्व पश्चिम राजमार्गमा पर्ने मोरङको खोर्साने देखि लगभग ३७ कि.मि. उत्तर पूर्व केही डाँडा काट्दै जोखिमपूर्ण यात्रा गरेपछि ४ घन्टामा सिंहदेवीको जेफाले पुग्न सकिन्छ ।

    कुल ७२ लाखको लागतमा निर्माण गरिएको ४५ फिट अग्लो चार तले भ्यू टावर १ हजार ९ सय ७० मिटर उचाईमा रहेको छ । तत्कालीन जिविस मोरङको ३६ लाख ५० हजार, धनकुटा जिविसको ५ लाख, पर्यटन कार्यालय काकरभिट्टाबाट २१ लाख र जनश्रमदानबाट भ्यू टावर निर्माण गरिएको हो ।

    तराईको चर्को गर्मीमा समेत सदाबहार चिसो भइरहने जेफालेको मौसमले आन्तरिक पर्यटकलाई लोभ्याएको छ । मौसम अनुकुलता अनुसार महिनाको १५ देखि २५ वटा टोलीसम्म जेफाले आउने गरेको ठकुरीले बताए । मोरङ भएर पनि भौगोलिक विकटताका कारण यात्रामा कठिनाई भएपनि सडकको स्तरोन्नति, सञ्चार र सुरक्षाको राम्रो व्यवस्था गर्नसके जेफाले पूर्वको प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।

    सुनसरी, मोरङ र धनकुटा क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।
    जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्वले गर्दा एक पटक त्यहा पुगेका व्यक्तिहरु फेरी फेरी पनि त्यहा पुगिरहने गरेका छन् ।

    प्रदेश सरकारको ध्यान पुग्न नसकेको गुनासो
    जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउनसक्ने व्यवस्था रहेको छ । जेफालेमा यतिका धेरै सम्भावनाहरु हुँदा हुँदै पनि विकासमा चासो नदिएको सचिव ठकुरीले गुनासो गरे ।

    पर्यटन विकासको प्रशस्त सम्भावना हुदा समेत विकासमा सरकारी चासो नभएको स्थानीय बताउछन् । प्रदेश सरकार बनेको यतिका समय भयो ठकुरीले भने सरकारको दीर्घकालीन योजनामा प्रदेशका पर्यटकीय संभावना बोकेका क्षेत्रको पहिचान गरी तिनको विकास गर्ने भन्ने सुनेको छु , तर आजसम्म त जेफालेमा प्रदेश सरकारले टेकेको छैन , सरकारको सहयोग बिना हामी कति अघि बढन सकौला र उनले भने ? सडकको स्तरउन्नती, सञ्चार र सुरक्षाको दरिलो व्यवस्था नहुनु यहाँको मुख्य समस्या हो ,यसलाई सरकारले गम्भिरताका साथ लिन जरुरी छ ।

    एकीकृत विकासको योजना अझै बन्न सकेन
    पछिल्लो २ वर्षको अन्तरालमा जे जस्तो समस्या देखिएपनि ती चुनौतीलाई चिर्दे जेफाले पुग्नेको सख्या बढदै गएको छ । तर सम्भावना भएरपनि त्यसको समूचित उपयोग र त्यसक्षेत्रबाट लिन सकिने प्रतिफल भने अहिलेसम्म लिन नसकिएको स्थानीय नरबहादुर थापा मगरले बताए ।

    ‘प्रकृतिले हामीलाई निस्वार्थ यस्तो स्वर्ग दिएको छ, १ घण्टाको फरकमा टन्टलापुर घामललाई बिर्साउँदै कठ्याङग्रिने चिसोको महसुस यहाँ गर्न पाइन्छ भन्ने त हाम्रो मोरङकै धेरैलाई थाहा छैन, निराश हुँदै उनले भने अब सबै मिलेर यसको समुचित प्रचारप्रसार र विकास गर्न जरुरी छ ।’

    सडक पूर्वाधार र संचारको समस्या समाधान गर्न यतिबेला केराबारी गाँउपालिकाले भने कम्मर कसेको छ । केराबारीदेखि जेफाले सम्मको ३९ किलोमिटर सडक मध्य ११ किलोमिटरमा तत्कालीन मोरङ जिविस र केराबारी गाँउपालिकाले ग्राभेलिङ गरीसकेको छ । बाँकी रहेको २८ किलोमिटरको सडकको लागि ८८ करोडको ठेकका लागि सकेको र अबको १ महिनापछाडि केराबारीतर्फ र जेफाले दुवै तर्फबाट सडक निमार्णको काम सुरु हुने गाँउपालिकाका अध्यक्ष रोहित कार्कीले बताए ।

    गाँउपालिकाले आफनो क्षेत्र भित्र रहेका पहिचानमा आएका पर्यटकीय क्षेत्र मध्ये जेफालेलाई प्रमुख प्राथमितामा राखेको कार्कीले बताए । उनले भने जेफालेको विकास र प्रवर्द्धनका लागि एकीकृत योजना त बनेको छैन तर सडकका साथै टावरसँगै भगवान शिवको पूर्णकदको ठूलो मूर्ति र वायु उर्जा निकाल्ने योजनालाई गाँउपालिकाको अघि बढाईसकेको छ ।

    कार्कीका अनुसार जेफाले डाँडाबाट वायुउर्जा निकाल्नका लागि आर्थिक वर्ष २०७५/७६ मा त्यसको सम्भाव्यता अध्ययनका लागि १० लाख बजेट छुट्याइएको छ । जसको काम सुरु भईसकेको छ ।

    कार्कीले उर्जामन्त्री वर्षमान पुन पनि वायुउर्जाको योजनामा उत्साहित भएको र सहयोगको प्रतिवद्धता जनाएको बताए । जेफाले डाँडामा बाहै्रमास हावाको वेग एकै नासको रहने गर्दछ । मकालुखबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…