• काठमाडौं, ११ असोज । नेपाली कांग्रेसको प्रस्तावित नयाँ विधानमा पार्टी सभापति र केन्द्रिय कार्यसमितिलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ ।

    सोमवारबाट देशभर छलफलका लागि लगिएको विधान संशोधनको प्रारम्भिक मस्यौदामा पार्टी सभापति र केन्द्रिय कार्यसमिति शक्तिशाली बनाउने प्रस्ताव गरिएको हो ।

    विधान संशोधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा शनिवारसम्म सात प्रदेशका १२ स्थानमा छलफल चल्नेछ । पार्टीका अन्तर्घातीलाई कारबाही गर्न र पार्टीमा अनुशासन कायम गर्न सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको हो ।

    नेपाली कांग्रेसको विधान २०१७ (२०६६ छैटौं संशोधन)को २४ दफामा केन्द्रीय सभापतिको काम कर्तव्य र अधिकारमा १२ उपदफाहरु थपेर सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको हो ।

    संशोधनका लागि तयार पारिएको प्रारम्भिक मस्यौदाको प्रस्तावमा सभापतिका काम कर्तव्य र अधिकार हुबहु रहेपनि वैकल्पिक प्रस्तावमा भने सभापतिको अधिकार बढाइएको छ । वैकल्पिक प्रस्तावमा १३ उपदफा र एक शीर्षक थप गरिएको छ ।

    १३ औं उपदफामा पार्टीका सदस्यलाई निलम्बन गर्नसक्ने अधिकार थपिएको छ । भनिएको छ, पार्टीको विभिन्न तहका क्रियाशील सदस्य पार्टीको नीति कार्यक्रम एवं विधान विपरित कार्यगरेको महसुस भइ प्रमाणसमेत भएमा तत्काल सभापतिले त्यस्ता व्यक्तिलाई निलम्बन गरी सो को सम्पूर्ण तथ्य सत्य छानबिनका लागि अनुशासन समितिमा प्रस्ताव पठाउनेछन् ।

    उक्त प्रस्तावमा अनुशासन समितिले छलफल गरी विधान विपरित कसुर ठहर भएमा सो ठहरसहित केन्द्रीय कार्यसमितिमा अन्तिम कारबाहीका लागि सिफारिस गर्नेछ । उक्त क्रियाशील व्यक्ति दोषी भए निश्कासन हुने छ ।’ यसैगरी केन्द्रीय सभापति प्रतिनिधिसभाको सदस्य भएको अवस्थामा स्वतः संसदीय दलको नेता हुने प्रस्तावसमेत वैकल्पिक प्रस्तावमा राखिएको छ ।

    प्रस्तावित विधानमा सभापतिलाई महाधिवेशन, महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिको अध्यक्षता गर्ने र आवश्यकता परे निर्णायक मत दिने, विधान बमोजिम केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने, पदाधिकारीहरूको कार्यविभाजन गर्ने, कार्यविभाजन  हेरफेर गर्ने तथा पार्टीका पदाधिकारी एवं सदस्यहरूमध्येबाट प्रवक्ता तोक्ने वा मनोनयन समेत गर्ने व्यवस्था थरिएको छ ।

    त्यस्तै पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने तथा पार्टीलाई सबल र सक्षम सङ्गठनका रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने, पार्टीका तर्फबाट राष्ट्रिय र अन्तर्रािष्ट्रय क्षेत्रमा आवश्यक प्रतिनिधित्व गर्ने वा गराउन लगाउने, पार्टीका अगाडि तत्काल परिआएका कार्यहरू गर्ने र त्यसको जानकारी केन्द्रीय कार्यसमितिलाई दिने, पार्टीका केन्द्रीय निकायहरूद्वारा भएका निर्णयहरूको कार्यान्वयन भए नभएको रेखदेख गर्ने र गर्न लगाउने लगायतका व्यवस्था गरिएको छ ।

    कांग्रेसको विधानमा आवश्यक संशोधन र परिमार्जनका सम्बन्धमा नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले प्रस्तुत गरेको वैकल्पिक प्रस्तावमा पार्टीको विभिन्न तहका कृयाशील सदस्य पार्टीको नीति कार्यक्रम एवं विधान विपरित कार्य गरेको महशुस भई प्रमाण समेत भएमा तत्काल सभापतिले त्यस्ता व्यक्तिलाई निलम्वन गरि सो को सम्पूर्ण तत्य सत्य छानविनका लागि अनुशासन समितिमा प्रस्ताव पठाउनेछ ।

    उक्त प्रस्तावमा अनुशासन समितिले छलफलगरि विधान विपरित कसुर ठहर भएमा सो ठहर सहित केन्द्रीय कार्यसमितिमा अन्तिम कारवाहीको लागि सिफारिस गर्नेछ । उक्त कृयाशील व्यक्ति दोषी भए निश्कासन हुने छ भन्ने व्यवस्था गरिएको छ ।

    त्यस्तै संसदीय दलको नेताको बैकल्पिक प्रस्ताव केन्द्रीय सभापति प्रतिनिधि सभाको सदस्य भएको अवस्थामा स्वत : संसदीय दलको नेता हुने व्यवस्था पनि थपिएको छ ।  त्यस्तै प्रस्तावित नयाँ विधानमा केन्द्रिय कार्यसमितिको अधिकार पनि थप्ने प्रस्ताव गरिएको छ ।

    केन्द्रीय समितिमा हाल पदाधिकारीसहित ८५ जनाको कार्यसमिति रहेकोमा १०३ देखि १३३ सम्मको केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ ।

    जसमा उपसभापति ३ जना र सहमहामन्त्री ३ जना राख्ने प्रस्ताव गरिएको छ । पहिलो वैकल्पिक प्रस्तावमा तीनैजना उपसभापति र तीनैजना सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रस्ताव गरिएको छ भने दोस्रो विकल्पमा २ जना उपसभापति र २ जना सहमहामन्त्री निर्वाचित हुने र अरु सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ ।

    केन्द्रीय सदस्यहरु बढ्ने भनिए पनि सभापतिले मनोनित गर्ने संख्यामा भने कुनै परिमार्जन पेश गरिएको छैन् ।  प्रारम्भिक मस्यौदामा पुरानै व्यवस्थाअनुसार महिला १, दलित १, जनजाति १, मधेशी १, मुस्लिम १ र थप १६ जना केन्द्रीय सदस्यमा मनोनित हुने उल्लेख छ । केन्द्रीय समितिको आकार बढाएमा मनोनित केन्द्रीय सदस्यको संख्यासमेत बढ्ने सम्भावना देखिन्छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…